Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशमा दुई वर्ष बस्ने एनआरएन

Published on 4:34:00 AM //

१० वर्षपछि एनआएन संस्था दर्ता हुने बाटो खुल्यो
काठमाडौं, कार्तिक २ - गैरआवासीय नेपाली संघ एनआरएनले विद्यमान विधानलाई संशोधन गर्दै दुई वर्षभन्दा बढी विदेशमा बस्नेलाई एनआरएनको मान्यता दिने भएको छ ।
राजधानीमा छैटौं राष्ट्रिय महाधिवेशनमा प्रवक्ता हेमराज शर्मा नेतृत्वको विधान संशोधन समितिले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । विधान संशोधन भएसँगै एनआरएन संस्था दर्ता गर्ने बाटो खुलेको छ ।
विद्यमान एनआरएन विधानमा १ सय ८३ दिन विदेशमा बस्नेलाई एनआरएन मानिएको थियो । गैरआवासीय नेपाली ऐन २०६४ मा दुई वर्ष बस्नेलाई एनआरएन मानेका कारण कानुनी अड्चन देखाई एनआरएन दर्ता भएको थिएन ।
सन् २००३ मा स्थापना भएको एनआरएन १० वर्षपछि बल्ल दर्ताका लागि कानुनी प्रक्रिया पूरा गरेको । एनआरएनको जारी महाधिवेशनमा पनि बोल्ने अधिकांशले दर्ता प्रक्रियाका लागि भएको ढिलाइप्रति असन्तोष प्रकट गरेका थिए ।
एनआरएन दर्ताका लागि दुई पटक निवेदन दिए पनि विधान बाझिएका कारण दर्ता भएको थिएन ।
आकार बढ्दै गएपछि एनआरएनले संरचना सुधारका लागि पनि गृहकार्य सुरु गरेको छ । संरचनाका विषयमा भीम उदास नेतृत्वको समितिले तयार गरेको प्रस्ताव महाधिवेशनमा छलफल भएको छ ।
महाधिवेशनमा शनिबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।
गैरआवासीय नेपाली सम्मेलन सुरु
‘गैरआवासीय नेपाली र नेपालः समृद्धिका साझेदार’ भन्ने नाराका साथ छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
राजधानीको होटल सोल्टीमा एनआरएन संस्थापक डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन र अध्यक्ष जीवा लामिछानेले संयुक्तरुपमा उदघाटन गरे ।
अध्यक्ष लामिछानेले सामूहिक लगानीको एजेन्डा लिएर गैरआवासीय नेपालीहरु यहाँ आएको बताए । उनले आफ्नो कार्यकालमा एनआरएनलाई दोहोरो नागरिकता दिलाउने विषयमा सवै दलहरु सकारात्मक रहेको बताए ।
एनआरएन संस्था दर्ता प्रक्रियामा रहेको उल्लेख गर्दै उनले नेपाल सरकारको ऐनका कारण प्राविधिक समस्या आएको बताए ।
संस्थापक अध्यक्ष महतोले एनआरएनलाई व्यक्तिको संस्था बनाउन नहुनेमा जोड दिए । उनले भने, ‘एनआरएनलाई व्यक्तिको संस्था बनाउनु हुँदैन, व्यक्तिव्यक्ति लागेर एनआरएनलाई सामूहिक संस्था बनाउनुपर्छ ।’
पूर्वअध्यक्ष हिराचनले विगतका त्रुटि सच्याउँदै एनआरएन अघि बढ्नुपर्नेमा जोड दिए । उनले पनि संस्था दर्ता प्रक्रियामा भएको ढिलाइप्रति सचेत रहनुपर्ने बताए ।
सम्मेलनमा शनिबार सांगठानिक, आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । आइतबार नयाँ नेतृत्व चयन भएपछि सोमबार र मङ्गलबार गैरआवासीय विश्व सम्मेलन हुने जनाइएको छ ।
राष्ट्रपति रामवरण यादवले सोमबार विश्व सम्मेलनको समुद्घाटन गर्ने तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।
सम्मेलनमा विश्वका ५० मुलुकमा रहेका १ हजार ३ सय गैरआवासीय नेपाली सहभागी छन् । संघले हालसम्म ६५ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
गैरआवासीय नेपालीको लगानीमा लमजुङको सर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सुरु गरिएको छ ।
-ईकान्तिपुरबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग