Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जासुसीबारे अनुन्धान गर्न जर्मन अधिकारीहरू अमेरिका जाने

Published on 2:43:00 AM //

र्लिन, (एजेनसी) जर्मनीले आफ्नो नेता एन्जेला मर्केलमाथि अमेरिकाले गरेको जासुसी सम्बन्धमा अनुसन्धान गर्न आफ्नो वरिष्ठ गुप्तचर प्रमुखहरूलाई अमेरिकामा पठाउने निर्णय शनिबार गरेको छ। जर्मनी सरकारका प्रवक्ताले विदेशी तथा आन्तरिक गुप्तचर विभागका प्रमुखहरूले त्यहाँ राष्ट्रपति भवन ह्वाइट हाउस र अमेरिकी राष्ट्रिय सुरक्षा निकाय (एनएसए) सँग वार्ता गर्ने बताएका छन्।

यसअघि नै फ्रान्स र जर्मनीले यसै वर्षको अन्त्यसम्ममा अमेरिकाले जासुसी नगर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने माग राखिसकेका छन्। अमेरिकाको बलियो गठबन्धन मानिने युरोपेली संघले पनि आपसी विश्वासको अभावमा आतंकवाद विरुद्धको विश्वव्यापी लडाइँ प्रभावित हुनसक्ने चेतावनी दिइसकेको छ। मर्केलको टेलिफोन वार्ता सँगसँगै एनएसएले फ्रान्स र जर्मनीका लाखौं जनताको टेलिफोन, इमेल, टेक्स्ट मेसेज र इन्टरनेट ब्राउजिङको पनि जासुसी गर्ने गरेको खुलासा भइसकेको छ।

शुक्रबार स्पेनले पनि म्याड्रिडस्थित अमेरिकी राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिमाथि भइरहेको जासुसीका सार्वजनिक भएको प्रतिवेदनबारे खुलस्त पार्न आग्रह गरेको थियो। यसैबीच इटालीले पनि आफूमाथि पनि अमेरिकाद्वारा जासुसी भइरहेको सम्बन्धमा आक्रोश व्यक्त गरेको छ। तर अमेरिकी विदेश विभागका प्रवक्ता जेन साकीले अमेरिकी सुरक्षासम्बन्धी संवेदनशील र महत्त्वपूर्ण सूचनाहरू चुहावट गर्ने अमेरिकी गुप्तचर विभागकै पूर्वकर्मचारी एडवर्ड स्नोडेनको स्रोतका कारण आफ्ना गठबन्धन राष्ट्रहरूसँग अमेरिकाको केहीबेरका लागि तनाव सिर्जना भएको स्पष्टीकरण दिएकी छिन्।

उनले ती मुलुकसँग छलफल भइरहेको र त्यो जारी रहने तथा यसले वैदेशिक नीतिमा कसरी प्रभावित पार्यो भन्ने थाहा पाउन राष्ट्रपति बाराक ओबामाको आग्रहबमोजिम अमेरिकी गुप्तचर बैठकको पुनरवलोकन हुने बताएकी छिन्। स्नोडेन अहिले राजनीतिक शरण लिएर रसियामा बस्दै आएका छन्। शुक्रबार एनएसएको आफ्नै वेवसाइट घन्टौंसम्म अवरुद्ध भएपछि विभिन्न ह्याकिङ समूहले त्यसको जिम्मेवारी दाबी गरेका थिए। तर पछि आएर नियमित अपडेटकै क्रममा भएको आन्तरिक त्रुटीका कारण सो समस्या देखिएको एनएसएका प्रवक्ता भानी भाइन्सले जनाएकी थिइन्।

मनमोहनलाई हाइसन्चो

भारतको प्रधानमन्त्री कार्यालयले ८१ वर्षीय भारतीय प्रधानमन्त्री मनमोहन सिंहको आफ्नै निजी मोबाइल फोन र इमेल आइडी नभएकाले हाल अमेरिकी जासुसीको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेको तनाव र चिन्तासँग कुनै सरोकार नरहेको जनाएको दि गार्जियन अखबारले शुक्रबार सार्वजनिक गरेको छ। ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश विभागका अधिकारीहरूले टेलिफोन नम्बर उपलब्ध गराएपछि एनएसएले विश्वका ३५ जना शीर्ष नेताको फोनवार्तामाथि जासुसी गरेको बताइएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग