Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'ह्याट्रिक' गर्न र 'खाता' खोल्न प्रतिस्पर्धा

Published on 4:46:00 AM //

दुर्गा खनाल, लालप्रसाद शर्मा
पर्वत, कार्तिक २८ - ०५६ र ०६४ दुवै पटक चुनाव जितेका कांग्रेसका अर्जुनप्रसाद जोशी यसपालि पनि क्षेत्र नम्बर १ को उम्मेदवार छन् । लगातार जितेर 'ह्याट्रिक' गर्ने  उनको दाउ छ । तर जिल्लाका दुवै क्षेत्रमा पछिल्ला दुइटा ०५६ र ०६४ का चुनावमा रित्तो बनेको एमाले यस पटक फेरि जितको खाता खोल्ने तयारीमा छ ।
०४८  र ०५१ को चुनावमा एमालेले क्रमशः १ र २ क्षेत्रमा जितेको थियो । तर ०५६ यता रित्तो छ । ०६४ मा क्षेत्र नं २ एमाओवादीले आफ्नो पोल्टामा पार्‍यो । तर चारवटा चुनावमा कुनै न कुनै क्षेत्रमा कांग्रेसले भने लगातार जित्दै आएको छ । त्यसैले कांग्रेसको जितको इतिहासलाई भत्काउन एमाओवादी र एमालेले मिहिनेत गरेका छन् । कांग्रेसले आफ्नो साख जोगाउन बल गरिरहेको छ ।
यसपालि प्रमुख तीन पार्टीका केन्द्रीय नेता उम्मेदवार भएकाले यहाँ रोचक प्रतिस्पर्धा छ । दुईमध्ये क्षेत्र एकमा प्रमुख तीन पार्टीका केन्द्रीय नेता एमाओवादीका नेत्र अधिकारी, कांग्रेसका जोशी र एमालेका गणेश तिमिल्सिना प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धी पार्टीका केन्द्रीय नेताहरू नै चुनाव लडेपछि 'ह्याट्रिक' गर्ने दाउमा रहेका कांग्रेसका जोशीलाई चुनौती थपिएको छ । जोशीको निरन्तरको उम्मेदवारीलाई नै मुद्दा बनाएर एमाओवादी र एमाले जितको खाता खोल्ने प्रयासमा छन् । जोशीलाई दुई पटक चुनाव जितेर पनि केही गर्न नसकेको आरोप लाग्ने गरेको छ । लगातार तीनवटा निर्वाचनमा एउटै व्यक्ति उठेकाले पार्टीका अन्य प्रतिस्पर्धीले पनि मन खुम्च्याएका छन् । तर कांग्रेस जिल्ला सभापति लालकाजी गुरुङ एमाओवादी संविधान बनाउन नचाहने र एमालेको ढुलमुले नीतिका कारण कांग्रेसबाहेक अर्को विकल्प नभएको दाबी गर्छन् ।
एमालेका तिमिल्सिनाले पार्टी नीति, बलियो संगठन र कार्यकर्ताको जुझारुपन, जिविस सभापति हुँदा गरेको विकास निर्माण, भावी योजनालगायत कारण आफूले जित्ने बताउँछन् । 'मैले सभापति हुँदा धेरै काम गरेको थिएँ, त्यसैले पनि मलाई सजिलो बनाएको छ,' उनी भन्छन् ।
एमाओवादीले भने कांग्रेस, एमाले जिल्लामा परीक्षित भइसकेकाले आफूलाई बलियो ठानेको छ । 'कांग्रेस एमालेले पटकपटक जिते पनि जिल्लाको खासै विकास गरेनन्,' एमाओवादीका उम्मेदवार अधिकारीले भने, 'सैद्घान्तिक कारण र अन्य दलको समेत मत आउन सक्छ ।'
केन्द्रीय नेताहरूको प्रतिस्पर्धाका कारण जिल्लामा क्षेत्र १ नै चासोको विषय बनेको छ ।
क्ष्ाेत्र २ मा एमाओवादीका राजकाजी गुरुङ, कांग्रेसका नवराज गुरुङ र एमालेका विकास लम्साल प्रतिस्पर्धामा छन् । ०४८ को संसदिय निर्वाचनमा क्षेत्र १ मा एमाले, २ मा कांग्रेस, ०५१ मा १ मा कांग्रेस र २ मा एमाले, ०५६ मा दुवै क्षेत्रमा कांग्रेस र ०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र एकबाट कांग्रेसका जोशी र दुईबाट एमाओवादीका गुणाखर बस्यालले जितेका थिए । तर यस पटक क्षेत्र एकमा ३ वटै पार्टीले परिणाम आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् ।
फुटको असर, अध्यक्ष दाहाल पक्षका मात्र उम्मेदवार भएकाले भट्टराई पक्षकाबाट खासै सहयोग नहुने, राज्य समिति सदस्य विष्णु लामिछानद्वारा पार्टी परित्याग र ०६४ को जस्तो लहर पनि नरहेकाले क्ष्ाेत्र एकमा एमाओवादीलाई हराउने सक्ने अनुमान कांग्रेस र एमालेको छ ।
एमाओवादीले भने जोशी पटकपटक सभासद भएर पनि केही गर्न नसकेको र एमालेका तिमल्सिनाले सभापति हुँदा धेरै विकास गर्न नसकेको भन्ने गरेको छ । एमालेका पूर्वसांसद कृष्णप्रसाद भट्टराई आफ्नो पार्टीमा प्रवेश गरेकाले परिणाम पोल्टामा आउने एमाओवादीको दाबी छ । प्रतिस्पर्धी पार्टीको आन्तरिक कमजोरीलाई आधार बनाउँदै उम्मेदवारहरू जातीय मत आफ्नो पोल्टामा पार्न केन्द्रित छन् । ४५ हजार मतदाता रहेको क्षेत्र एकमा ८ हजार ३ सय मतदाता दलित रहेकाले उनीहरूको मत निणर्ायक हुन सक्छ ।
क्षेत्र दुईमा यसअघि चुनाव जितेको एमाओवादीका लागि चुनौती थपिएका छन् । पार्टी विभाजनपछि थुप्रै नेता कार्यकर्ता वैद्य माओवादीमा लागेका छन् । ०६४ मा विजयी गुणाखर बस्याल यौन र आर्थिक काण्डमा कारबाहीमा परे । त्यसको असर संगठनमा परेको छ । कास्की २ बाट चुनाव जितेका राजकाजी गुरुङ प्रतिस्पर्धा गर्न पुगेका छन् । गृह जिल्ला भए पनि उनीमाथि बाहिरमात्र केन्दि्रत भएको गुनासो स्थानीयको छ ।
कांग्रेसमा पनि योग्य र सक्षम उम्मेदवार हुँदाहुँदै क्षेत्र एकबाट ल्याएकाले कार्यकर्तामा असन्तुष्टि छ । पूर्वपार्टी सभापति कांग्रेस उम्मेदवार गुरुङ क्षेत्र एकका बासिन्दा हुन् । एमाले उम्मेदवार विकास लम्सालविरुद्ध हरिहर पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जिल्लाको क्षेत्र एकमा ४५ हजार एक सय ८९ र क्षेत्र दुईमा ३७ हजार २ सय ६१ मतदाता छन् । -कान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग