Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकलाई तलब खुवाउन देउसीभैलो

Published on 4:48:00 AM //

पर्वत, कात्तिक २१। पछिल्लो समयमा विद्यालयको आर्थिक विकासका लागि धनधान्याञ्चल महायज्ञ लगाउने चलन अहिले फेसन जस्तै बनेको छ तर पर्वतको एक ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयले भने विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ।
विशेषगरी विद्यालयले शैक्षिक क्रियाकलाप सञ्चालनका लागि पर्याप्त मात्रामा शिक्षक दरबन्दी उपलब्ध नभएपछि निजी स्रोतबाट शिक्षक राखेर तलब खुवाउन भैलो सञ्चालन गरेको हो।
खानीगाउँ गाविस–६ मा सञ्चालित जनता निमाविले काग तिहारको दिनदेखि देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयले दिएको जानकारी अनुसार देउसीभैलोबाट रु दुई लाख ५९ हजार ७०० सङ्कलन भएको छ। विद्यालयमा शिक्षकहरूलाई तलब खुवाउन र विद्यालयको भौतिक विकासमा समेत विकास गर्न देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक टेकनारायण सापकोटाले जानकारी दिनुभयो।
२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म १२० जना बालबालिका अध्ययनरत रहेका छन्। विद्यालयलाई सरकारले छजना शिक्षक दरबन्दीमा पठाए पनि अन्य चारजना शिक्षक निजी स्रोतबाट तलब खुवाएर अध्यापन गराउँदै आएका छन्।
विद्यालयको आन्तरिक स्रोतबाट मात्रै तलब खुवाउन कठिनाइ भएकाले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको प्रअ सापकोटाले जानकारी दिनुभयो। देउसीभैलो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो। -विक्ली नेपालबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग