Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विभाजित गोर्खा आन्दोलन एक गर्न एनआरएनको पहल

Published on 4:10:00 AM //

ध्रुबराज अर्याल 
लण्डन । विभिन्न चिरामा विभाजित भूतपूर्व गोर्खाको आन्दोलनलाई एकत्रित गर्न गैरआवासी नेपाली संघ बेलायतले पहल सुरु गरेको छ । फरक-फरक समुहबाट गरिएको आन्दोलनबाट भूपू गोर्खाहरुले समानताको लागि गरेको लडाईं निष्कर्षमा पुग्न नसकेको ठहर गर्दै संघले भूपू गोर्खा एकता अभियान थालेको बताएको छ ।भुतपुर्व गोर्खाका नाममा आन्दोलनरत पाँचवटै समूहलाई एकै ठाउँमा भेला गरी उनीहरुबीच सहकार्य गराउने उद्धेश्यले संघले शनीबार फानब्रोमा एक अन्तरक्रिया आयोजना गर्यो । सो अन्तरक्रियामा चारवटा गोर्खा संगठनका प्रतिनिधि उपस्थित भएपनि भूपू गोर्खाहरुको सबैभन्दा पुरानो संगठन गेसो भने सहभागी भएन ।

गोर्खाहरुको वास्तविक हक र अधिकारका पक्षमा सबभन्दा दरिलो रुपमा आफ्नो संगठन नै लागेको बताउने गेसोले अन्य संगठनका आन्दोलनका कार्यक्रमहरु समेत गोर्खाको हितविपरित र अरुबाट निर्देशित रहेको समेत आरोप लगाउँदै आएको छ ।एनआरएनको अन्तरक्रियामा बि्रटिश गोर्खा वेलफेयर सोसाइटी बिजिडब्लुयस, युनाइटेट बि्रटिश गोर्खा एक्स सर्भिसमेन अशोशिएसन युबीजीइए, बि्रटिश गेसो र नेपलीज एक्स सर्भिसमेन एशोसिएसन नेसामा आबद्ध भूतपूर्व गोर्खाहरु सहभागी थिए । उनीहरुबीच आगामी दिनमो सहकार्य गरि आन्दोलन अघि बढाउने सहमति भएको गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष्य अबकाशप्राप्त क्याप्टेन बालकृष्ण गुरुङले बताए ।
अन्तरक्रियामा गोर्खाहरुमाथि विगतमा भएका अन्यायका प्रमाणहरु सबैले संकलन गर्ने र ती सबै प्रमाणहरु एकतृत गरी संसदीय समितिलाई बुझाउने योजना बनाइएको छ ।पछिल्लो क्रममा गोर्खाहरुको आन्दोलनमा उठेका मागहरुबारे अध्ययन गर्न विभिन्न दलसम्बद्ध सांसदहरु सम्मिलित संसदीय समितिलाई जिम्मेवारी दिइएको थियो । संसदीय समितिले सबैतिरबाट प्राप्त प्रमाणहरुको अध्ययन र छानबिन गरेपछि केहि महिना भित्रै प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ । समितिले भूपू गोर्खाहरुको सबैभन्दा महत्वपूर्ण मागका रुपमा रहेको समान पेन्सन मात्र नभइ उनीहरुलाई उपलब्ध गराइएका सेवा सुविधा र ऐतिहासिक रुपमा भएका भनिएका अन्यायका विषय पनि अध्ययन गर्नेछ ।

विगतमा पनि गोर्खाहरुको विषयलाई संसदिय समितिसम्म पुर्याइएको भएपनि त्यसले कुनै निश्कर्ष निकाल्न सकेको थिएन । तर यसपटक सरकार र अरु पक्षबाट पनि यो विषयलाई बढी गम्भीरतापूर्वक लिइएको भन्दै आफ्ना मागको सुनुवाई हुनेमा गोर्खाहरु बढी आशावादी देखिएका छन । अन्तरक्रियामा सहभागी गैरआवासीय नेपाली संघ बेलायतका पदाधीकारीहरुले गोर्खाहरुको आन्दोलनमा संघको तर्फबाट ऐक्यबद्धता दोहोर्याएका थिए । सबै समूह मिलेर अघि बढे मात्रै बेलायती सरकार लगायतका सरोकारवाला निकायमा आवश्यक दबाब सिर्जना हुन सक्ने भन्दै उनीहरुले सबै गोर्खाहरुलाई एकजुट हुन सुझाव पनि दिए ।समान पेन्सन तथा सेवा सुविधा, अठार वर्ष नाघेका गोर्खाका छोराछोरीलाई पनि आवासीय अधिकार, अनिवार्य अवकाशमा पठाइएका र कुनै पेन्सन नपाएका गोर्खाहरुलाई क्षतिपूर्ति लगायतका विभिन्न मागहरु उठाएर विगत लामो समयदेखि गोर्खाहरु आन्दोलनरत छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग