Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका एक सहित सात नेपाली भारतमा अपहरित

Published on 5:12:00 AM //

भारतको मद्रास रेलवे स्टेसनबाट एक साताअघि बेपत्ता पारिएका गुल्मीका एक सहित सातजना नेपाली युवकको अवस्थाका बारेमा अझसम्म कुनै टुंगो लाग्नसकेको छैन । पर्साको निर्मलबस्ती ९ मालीबस्तीका १० सहित ११ युवक रोजगारीका लागि मद्रास पुगेका थिए । उनीहरूमध्ये सातजनालाई चार अपरिचित भारतीयले नियन्त्रणमा लिएर बेपत्ता बनाएको आरोप आफन्तले लगाएका छन्।

मालीगाउँका १० युवकमध्ये २३ वर्षीय राजेश गुरुङ, २० वर्षीय नारायण वाइबा, १८ वर्षीय अरुण मोक्तान, ३० वर्षीय अन्तकुमार स्याङ्बो, ३८ वर्षीय बमबहादुर श्रेष्ठ र नाम खुल्न नसकेका गुल्मी जिल्लाका एक युवकसहित सातजना अपहरणमा परेको आफन्तजनले बताएको शुक्रबारको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

उनीहरूसँगै अपहरणमा परेका अक्कलबहादुर मोक्तान, सोमबहादुर मोक्तान, नेत्रबहादुर सुवेदी र पूर्णबहादुर आचार्य उम्किन सफल भएपछि घटना सार्वजनिक भएको हो। उम्किन सफल युवकले केरला फर्किएपछि मंगलबार परिवारजनलाई अपहरणको घटनाबारे टेलिफोनमार्फत जानकारी गराएका थिए।

‘गाडीमा हालेर अज्ञात स्थलमा पुर्याजएपछि हामीसँग भएको सबै नगद र मोबाइल खोसेर उनीहरूले बन्धक बनाए’, अपहरणकारीको कब्जाबाट फुत्किएको बताउने मालीटोलका अक्कलबहादुर मोक्तानले टेलिफोनमा भने, ‘चारजना पिसाब फेर्ने बहानामा गाडीबाट ओर्लिएर भाग्यौं। अरूलाई उनीहरूले सँगै लगे।’

रोजगारीका लागि मंसिर १० गते ११ युवक भारतको केरलातर्फ हिँडेका थिए। मद्रास रेल स्टेसनमा ओर्लिएर केरला जाने रेल कुर्दै गरेको बेला स्टेसनमै भेटिएका चारजना अपरिचितले रोजगारी दिने प्रलोभन देखाएर उनीहरूलाई लगेका थिए।

‘कमजोर आर्थिक अवस्था भएकाले रोजगारीको खोजीमा ती युवक भारत गएका हुन्’, निर्मलबस्तीका कांग्रेस कार्यकर्ता रामबहादुर श्रेष्ठले भने, ‘अपहरणमा परेको घटनाले परिवारमा रुवाबासी मच्चिएको छ।’ मोक्तानका अनुसार ती अपरिचित भारतीय युवकले दैनिक पाँच घन्टा काम गरेबापत मासिक नौ हजार रुपैयाँ पारिश्रमिक दिने प्रलोभन दिएका थिए।

अपहृत युवकहरूका बारेमा अझसम्म कुनै पत्तो लाग्न नसकेको बमबहादुरका दाजु मोहनले बताए। अपहृतको उद्धारका लागि काठमाडौंस्थित भारतीय राजदूतावासलाई जानकारी गराउन पहल भइरहेको श्रेष्ठले बताए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग