Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीआईपीको तामझाममा हिरासतकी अभियुक्त

Published on 9:08:00 PM //

भरत पाण्डेय
गुल्मी । साँझ झमक्क पर्न आँटेको बेला जिल्ला प्रहरी कार्यालय गुल्मीको गेटमा २ वटा कार टक्क रोकिए। आँखामा चस्मा, कोरियन स्टाइलको कपाल, हिल सुज र पाइन्टमा एक युवती कारको ढोका खोलेर प्रहरी कार्यालयमा भित्रिइन्। पछिपछि उनको ब्याग समाउने पुरुष, दायाँपट्टि वकिल र अरू २⁄३ जना पुरुष थिए। उनी ओर्लनेबित्तिकै जिल्लाका चर्चित नेताहरू पनि प्रहरी कार्यालयमा प्रवेश गरे। बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयमा सरकारको उच्च व्यक्ति प्रवेश गरेजस्तो तामझाम भयो।
तर यो भीआईपीको स्वागतको तामझाम थिएन। फरकफरक नाम र फरकफरक जन्ममिति राखेर तीनवटा नागरिकता बनाएको आरोपमा पक्राउ परेकी अभियुक्तलाई प्रहरीले हिरासतमा लिँदाको दृश्य थियो।

गुल्मी दिगाम–७ माइत भई दुई ठाउँमा बिहे गरेर छुट्टाछुट्टै नागरिकता बनाएकी नरबहादुर सूर्यवंशीकी छोरी तारा भनिने हरिकला झाँक्री नाम गरेकी एक महिलालाई म्याग्दीबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भित्त्याउँदा कुनै उच्चपदस्थ व्यक्तित्व भित्रँदाको जस्तै तामझाम देखेर सर्वसाधारणसमेत अचम्ममा परे।
गत साउन महिनामा सञ्चारमाध्यमहरूमा एक व्यक्ति, दुईवटा नाम, तीनवटा नागरिकता शीर्षकको समाचार आएपछि सोधखोज हुँदै जाँदा भर्खरै मात्र प्रमाण पुर्याएर ती महिलालाई गुल्मी प्रहरीको पहलमा म्याग्दी प्रहरीले बिहीबार बिहान पक्राउ गरी साँझ गुल्मी ल्याएको हो।
गत साउन महिनामा विभिन्न पत्रपत्रिकामा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले उनको किर्ते कामको विषयमा खोजी शुरू गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले बताउनुभयो।
नागरिकतामा हस्ताक्षर गर्ने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको साउन ४ गतेको पत्रअनुसार आफूलाई पनि भूmटा काजगात पेस गरेर झुक्याएको भन्ने पत्र प्राप्त भएपछि रिपोर्ट तयार गरेको थियो। त्यसपछि प्रहरीले खोजी कार्य शुरू गरेको हो।
‘गत साउन १३ गते जिल्ला प्रसासन कार्यालय गुल्मीले दिएको रिपोर्टको आधारमा हामीले खोजीकार्य शुरू गरेका हौं।’ –जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले भन्नुभयो।
ती महिलाले फरकफरक दुई नाम र जन्ममिति भएका ३ वटा नागरिकता बनाएकी छन्। २०६४ साल जेठ २ गते पल्लीकोट १ का लीलबहादुर झाँक्रीको श्रीमतीको रूपमा ४११०१७⁄६५७११ नम्बरको नागरिकता बनाएकी उनले त्यसपछि २०६५ साल कात्तिक ७ गते अविवाहिताको रूपमा गीतादेवी सूर्यवंशीको नामबाट ४११०२०⁄७४२६० नम्बरको नागरिकता बनाएकी छन्।
गीतादेवीकै नामबाट उनले २०६६ साल चैत १३ गते म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन्। उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरकफरक रहेको छ। हरिकला नामको पहिलो नागरिकतामा उनको जन्ममिति २०४० चैत्र २७ गते रहेको छ। गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा उनको जन्ममिति २०३८ चैत २७ गते रहेको छ।
डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासन कार्यालयबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर रहेको छ। गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीको रूपमा र दोस्रो नागरकिता सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा हस्ताक्षर गरी जारी गरेका छन्। नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरकफरक नाम राखेकी छन्।
ती महिलाले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २०६५ साल कात्तिक २१ गते नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन्। पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्दसँग विवाह गरेकी ती महिलाले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा यो पोल खुलेको हो।
झुटो विवरण पेस गरी किर्ते गरेको अभियोगमा ती महिलालाई जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। ‘कानुनी गल्ती गरेकै हो त्यसैले कारबाहीको प्रक्रियामा जानुपर्छ’, प्रहरी निरीक्षक श्रीवास्तवले भन्नुभयो– ‘त्यसैले मुद्दा प्रक्रियामा गइसक्यो।’ अदालतले थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ। निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले सरकारवादी मुद्दा भएकाले उक्त मुद्दा तुरुन्तै किनारा लाग्न सक्ने बताउनुभयो। ‘कानुनी प्रक्रिया शुरू भएको छ’, उहाँले भन्नुभयो– ‘सकेसम्म कस्टडीमा रहेकै बेला छिनोफानो हुन्छ।’
नागरिकता ऐन २०६३ अनुसार झूटो वा किर्ते विवरण खडा गरी नागरिकता बनाउने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म जेल सजाय वा २० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। हिरासतमा रहेकी ती महिला शुक्रबार पनि खुलेआमा प्रहरी कार्यालय परिसरमा डुल्ने गरेकी छन्। यो संवाददाता पुग्दा दिनभर जसो उनी प्रहरी कार्यालयको बरान्डामा घाम तापेर बसेकी थिइन्। उनका निजी वकिल र केही सँगै आएका व्यक्तिले दिनभर उनीसँग निर्बाध रूपमा भेटघाट गरिरहेका थिए।
स्रोतका अनुसार उनलाई छुटाउन विभिन्न राजनैतिक दलका केन्द्रीयस्तरका नेताहरूको फोन आइरहेको छ। ‘दबाबले हाम्रोमा पनि हैरानी छ।’ –प्रहरी स्रोत भन्छ। ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट २०५८ सालमा जन्मिएका देव र २०६० सालमा जन्मिएका वीरेन्द्र नामका २ छोरा छन्। २०६५ सालमा श्रीमान्को मृत्यु भएपछि उनले तुरुन्तै २०६५ कात्तिक ४ गते छोराहरूको संरक्षकको रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन्।
त्यसपछि कात्तिक १८ गते अविवाहिताको रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन्। अविवाहिताको नागरिकता लिएको एक महिना पनि नबित्दै २०६५ मंसिर १५ गते म्याग्दीमा दोस्रो विवाह गरेको र दोस्रो विवाहपछि पहिलो पतिका दाजुभाइलाई धम्क्याएर २०६५ माघ १३ गते अंश लिएको अदालतको फैसला विवरणमा उल्लेख छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग