Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारागार नै पाठशाला

Published on 12:16:00 PM //

विष्णु पौडेल
गुल्मी, १३ माघ । कारागार भनेपछि धेरैको बुझाई हुन्छ अपराधीलाई थुनेर सजाँय दिने ठाउँ । तर, गुल्मी कारागारको परिभाषा भने योभन्दा फरक छ । गुल्मी कारागार अपराधीका लागि सजाँयस्थल नभई पाठशाला बन्दै गरेको छ ।
विभिन्न अपराधमा संलग्नहरूलाई यहाँ नयाँ जीवन जिउने विभिन्न उपाय सिकाइन्छ भने निरक्षर व्यक्तिलाई साक्षर बनाउने कार्यक्रम पनि चलाइन्छ । यहीबाट सिकेको सीप प्रयोग गरी अधिकांश कैदीबन्दीहरूले राम्रो आम्दानी पनि गरिरहेका छन् ।
विभिन्न अपराधमा संलग्न थुनुवा तथा कैदीबन्दीहरूलाई लक्षित गरी कारागारमा सीपमूलक तालिम तथा अनौपचारिक साक्षरताका कक्षाहरू सञ्चालन गरिएको छ । कैद भुक्तानी गरिरहेका कैदीबन्दीहरूलाई लक्षित गरी पहिलेदेखि नै सीपमूलक तालिम सञ्चालन गरिएको भए पनि साक्षरता कक्षा भने तीन वर्षदेखि सञ्चालित छ । साक्षरता कक्षामा अहिले तीन महिला र १३ पुरुष गरी १६ जना कैदीहरूलाई अक्षर लेख्न सिकाउने काम गरिएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपाल पाण्डेले गुल्मीन्युज डट कमलाई वताए ।
अहिले कैदीहरूमध्येकै टेकबहादुर खत्रीले बिहान दुई घन्टा र साँझ दुई घन्टा गरी दैनिक चार घन्टा कैदीहरूलाई लेख्नपढ्न सिकाउने गरिएको जेलर नाइके चित्रबहादुर केसीले बताए । यो साक्षरता कक्षा सँगै यहाँ दिइने विभिन्न सीपको प्रयोग गरी कैदीबन्दीहरू राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । कैदी भुक्तानी गरेर घर फर्कनेहरूलाई बाँकी जीवन जिउन सजिलो होस् भन्ने उद्देश्यले यस्ता विभिन्न प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरिएको कारागार प्रमुख पाण्डेले वताए ।
पाण्डेका अनुसार कैदीहरूले निर्माण गर्ने मुढा, सुपा, डाला, धागोका पछयौरा, गलबन्दी रझोला लगायतका सामग्रीहरूको बजारमा राम्रो माग छ । कतिपय कैदीबन्दीहरूले कारागारमा आफ्नो सीप प्रयोग गरी निर्माण गरेका सामग्री बेचेर घरको खर्चसमेत चलाउने गरेका छन् । यहाँ उत्पादित वस्तुहरूको माग सदरमुकाम तम्घाससहित बुटवल लगायतका बजारमा पनि राम्रो रहेको पाण्डेले बताए ।
पुरानो भौतिक संरचनाका कारण जीर्ण बनेको कारागारमा अहिले क्षमताभन्दा तेब्बर कैदी हुँदा व्यवस्थापनमा भने निकै समस्या भएको प्रमुख पाण्डेले बताए । पुरुष पाँच र महिला २० गरी २५ जनाको क्षमता रहेको कारागारमा अहिले थुनुवा तथा कैदी गरी ७५ जना रहेका छन् । करिब पाँच दशकअघि निर्माण गरिएको कारागार पुन: निर्माण नहुँदा कैदीहरूलाई पनि समस्या भएको छ । बढ्दो चिसोको समयमा बाहिरै सुत्नुपर्ने बाध्यता रहेको जेलरनाइके केसीले बताए । क्षमताभन्दा बढी कैदी भएकै कारण शौचालय जाँदा लाइनमा बस्नुपर्ने बाध्यता छ भने सुत्नका लागि पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कारागार जीर्ण बन्दै जानु र कारागार पुन:निर्माणका लागि प्रशस्त बजेट नछुटिँदा व्यवस्थानमा थप समस्या झेल्नुपरिरहेको पाण्डेले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग