Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेवाग्राही नै हेर्दैनन् नागरिक वडापत्र

Published on 4:07:00 AM //

विष्णु पौडेल
गुल्मी, १३ पुस । सदरमुकाम तम्घासको व्यस्त ठाउँ सहिदचोक अगाडि जिल्ला प्रशासन कार्यालय छ । नागरिकता वनाउने, राहदानीको सिफारिस वनाउने, राहदानी वुझ्ने तथा विभिन्न प्रकृतिका सिफारिस वा अन्य सरकारी कामले आएका सर्वसाधरणले कार्यालय दैनिक खचाखच भरिन्छ । कतिपय सेवाग्राही कार्यालयमा कामको मेसो नपाएर यताउता वरालिएको देखिन्छन भने कतिपयले आफुले चिनेजानेका मान्छे खोज्न भौँतारिन्छन् ।
तर कुनै पनि सेवाग्राहीको आँखा गेटवाट भित्र छिर्ने वित्तीकै अगाडि राखिएको नागरिक वडापत्रमा पर्दैन् । सरकारले नागरिकलाई सरकारी कार्यालय वा सार्वजानिक निकायवाट सेवा प्राप्त गर्दा सेवाको प्रकृया, कागजात लगायतका कुराहरुमा सजिलो होस् भन्ने उद्देश्यले प्रत्येक सरकारी कार्यालयमा नागरिक वडापत्र राखे पनि सेवाग्राहीलाई यसको कुनै ज्ञान छैन् । नागरिक वडापत्रमा निरक्षर व्यक्तिले मात्रै होईन साक्षर व्यक्तिले पनि आँखा लगाउँदैनन् ।
जिल्ला प्रशासन कार्यालय मात्रै होईन जिल्लास्थित सवै सरकारी कार्यालय छिर्ने वित्तिकै सवैभन्दा पहिले देखिने ठाउँमै कार्यालयवाट पाईने सेवा, त्यसको प्रकृया र लाग्ने समयसमेत किटान गरी नागरिक वडापत्र राखिएको छ । तर सेवाग्राहीले नागरिक वडापत्र तिर आखा नपु¥याई प्रकृया र सेवा वुझ्न कार्यालयका कर्मचारीसँग पुग्दा काम गर्न पनि कठिन भएको कर्मचारीको गुनासो छ । जिल्ला विकास समिति, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा कार्यालय, कृषि कार्यालय लगायतका कार्यालयमा सेवाग्राहीको पहिलो आँखा पर्ने स्थानमा वडापत्र राखिएपनि कसैको आँखा त्यसमा नपर्ने गरेको कर्मचारी वताउँछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी नागरिक वडापत्रको औचित्य के भन्ने प्रश्न उठ्न थालिसकेको वताउँछन् । ‘अधिकांश सेवाग्राहीले वडापत्र हेरेको पाईँदैन,’ उनी भन्छन, ‘कार्यालयवाट पाईने सेवा र आवश्यक प्रकृया सवै त्यही हुन्छ तर सेवाग्राहीले त्यता तिर आँखा नै लगाउँदैनन अहिले त वडापत्रको औचित्य के भन्ने कुरा उठ्न थालेको छ ।’
सेवाको प्रकृयाभन्दा पनि चिनजानका आधारमा कार्यालयमा सेवाग्राही आउने गरेको हुलाक कार्यालयका प्रमुख हरी गैरे वताउँछन् । ‘कर्मचारीलाई चिनेजानेको आधारमा त्यही कर्मचारीसँग सेवाग्राही आउँछन्,’ उनी भन्छन, ‘कार्यालयवाट पाईने सेवा सवै वडापत्रमै लेखिएको छ तर यहाँ त सानो कामको लागी पनि दलका नेता गुहार्ने परिपाटी वस्यो ।’
सरकारले २०५६ सालदेखि हरेक सरकारी कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरेको हो । सरकारी सेवालाई थप व्यवस्थित र छिटो छरितो वनाउने हेतुले वडापत्रको व्यवस्था गरिएपनि सचेतनामुलक कार्यक्रम सञ्चालन नगरिँदा वडापत्रको सदुपयोग हुन सकेको छैन्  । राजनीतिक दलका नेताले भनेपछि जे पनि गर्ने कर्मचारीहरुको प्रवृत्तिका कारणले पनि वडापत्रको औचित्य मेटिन थालेको कतिपयको वुझाई छ ।
सरकारी कार्यालयको सेवालाई चुस्त दुरुस्त वनाउँदै थप गुणस्तरीय वनाउने उद्देश्यले जिल्लामा स्थापना भएको गैरसरकारी संस्था सुशासन अभियानका अध्यक्ष श्यामकुमार पाण्डेले वडापत्रको प्रचार गरिनु आवश्यक रहेको वताए । ‘नागरिक वडापत्र राखेर मात्रै कार्यालयको जिम्मेवारी पुरा हुँदैन, वडापत्रको वारेमा यथेष्ट जानकारी गाउँगाउँका सर्वसाधरणलाई पनि दिनु आवश्यक छ ।’ उनले भने ।
सरकारले सुशासनलाई टेवा पु¥याउन भन्दै राखेको वडापत्र मात्रै होईन गुनासो पेटिकाको अवस्था पनि उस्तै छ । सवै कार्यालयहरुमा गुनासो पेटिकाको व्यवस्था भएपनि तीनमा गुनासोको सट्टा मुसाको गुँड वन्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयमा उजुरी पेटिका राखेदेखि अहिलेसम्म कुनै पनि गुनासो नआएको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले वताए । कृषि विकास कार्यालय मात्रै होईन शिक्षा, सिंचाई, निर्वाचन लगायतका कार्यालयमा गुनासा आएका छैनन् ।
सरकारी सेवालाई थप व्यवस्थित वनाउँदै नागरिकका गुनासा सुन्न भन्दै यो वर्षदेखि जिल्लामा सुरु भएको एलाक डीपी परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवरले कुनै पनि कार्यालयमा सेवाग्राहीले नागरिक वडापत्र नहेर्ने गुनासो कर्मचारीहरुले गरेको वताईन् । ‘हामीले पहिलो चरणमा सरकारी कार्यालयमा भएका नागरिक वडापत्रको निरीक्षण ग¥यौँ,’ उनले भनिन्, ‘कुनै पनि सेवाग्राहीले वडापत्र नपढेको गुनासो कर्मचारीहरुले गर्नुभयो ।’ उनले परियोजनाले सरकारी सेवासँग सम्वन्धित गुनासोमा कानुनी परामर्श र सुझाव दिँदै सरकारी सेवालाई थप गुणस्तरीय वनाउने वताईन् ।
नागरिक वडापत्रको औचित्य नदेखेकै कारण होला कतिपय सरकारी कार्यालयले त्यसको अद्यावधिक पनि गरेका छैनन् । जिल्ला वन कार्यालयको नागरिक वडापत्रको अक्षर मेटिन थालेका छन् भने अरु कतिपय कार्यालयको वडापत्र पनि पुराना छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग