Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाकिमहरूले खाए दुई दिनको भत्ता एकैदिन

Published on 3:56:00 AM //

भरत पाण्डेय
गुल्मी, १० माघ । गत पुस २३ गते जिल्ला स्वास्थ्य कार्यालयमा जिल्ला जनसंख्या समितिको बैठक बस्यो। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, कोष नियन्त्रक, स्वास्थ्य कार्यालय प्रमुखलगायतको उपस्थिति थियो। उपस्थित सबैले सहजै बैठक भत्ता लिए। बैठक सकिनै लाग्दा बैठक आयोजक परिवार नियोजन सुपरीवेक्षक नवराज कँडेलले प्रस्ताव राखे– ‘भोलि नै गर्नुपर्ने अर्को १५ मिनेटको कार्यक्रम छ, हजुरहरूले त्यो कार्यक्रम आजै सक्ने कि भोलि आउने?’ दोहोर्याएर फेरि आउनुभन्दा आजै सकौं भन्ने उपस्थित सबैको राय आयो। अन्त्यमा १५ मिनेटको समय लिएर अर्को कार्यक्रम सम्पन्न भयो जिल्ला जनसंख्या समन्वय समितिका पदाधिकारीहरूको अभिमुखीकरण।
कार्यक्रममा उपस्थित हाकिमसा’पहरूले फेरि अर्को रजिस्टरमा पनि हस्ताक्षर गरेर अर्को दिनको भत्ता पड्काए। तर त्यहाँ अदृश्य तरिकाले रकम कुम्ल्याउने योजना थियो त्यो कुरा कसैले सुइँको पाउन सकेनन्। वर्षमा ३ पटक गर्नुपर्ने बैठक पुसको अन्तिम साता पहिलोपटक बसेर २ वटा बैठकको खर्च र अभिमुखीकरणको खर्च एकैदिन झ्वाम पारेको कार्यक्रमका एक सहभागीले बताए। स्रोतका अनुसार एउटै खर्चमा दुईवटै कार्यक्रम गरेर बैठक र अभिमुखीकरण कार्यक्रमको फरकफरक बिल भर्पाइ बनाइएको छ।
बैठकको २५ हजार र अभिमुखीकरणको ४० हजार गरी ६५ हजार रुपियाँ बजेट रहेको थियो। २३ जना सहभागीहरूलाई बैठकको ५ सय र अभिमुखीकरणको ३ सयका दरले १८ हजार ४ सय रुपियाँ भत्ता र नास्ता दिइएको थियो। बाँकी रकम कँडेलले कुम्ल्याए। ‘यहाँ उच्च पदस्थ कर्मचारीहरूकै बीच त यसरी भ्रष्टाचार हुन्छ अझ नजानिँदो तरिकाले कति हुन्छ तपाईं आफैं अनुमान लगाउनुस्’, कार्यलयका एक जना कर्मचारी भन्छन्– ‘त्यसबाट बचेको सबै पैसा कार्यक्रम प्रमुखले खाने, सफल भएको रिपोर्ट हाकिमलाई बुझाउने।’ कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले पछिल्लो कार्यक्रम १५⁄२० मिनेटमै सकिएको बताए। ‘पहिलो बैठक लामो नै भएको थियो’, घर्तीले भने– ‘पछि दुईवटा प्रस्तुति देखाइएको थियो। तर त्यसमा हुने अनियमितताको विषयमा हामीलाई थाहा हुने कुरा भएन।’ स्वास्थ्यका विभिन्न फाँटअन्तर्गत बैठक र सुपरीवेक्षणका लागि मोटो रकम छ, त्यसमध्ये धेरैजसो कार्यक्रमहरू यसरी नै सम्पन्न गरिने जानकारहरू बताउँछन्। ‘सरोकारवालाहरू आएर बैठकमा खास निर्णय हुँदैन, काम गर्ने स्वास्थ्यकै कर्मचारीले हो’, एक सहभागीले भने– ‘बैठक भनेको त औपचारिकता हो, २⁄३ दिनको एकैपटक सम्पन्न गर्ने त सामान्य भइसक्यो। श्रोत: नेपाल समाचारपत्र । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग