Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला जनसंख्या सूचना केन्द्रमा अनियमितता

Published on 3:53:00 AM //

भरत पाण्डेय
गुल्मी । आर्थिक वर्ष २०६८⁄०६९ सालमा सूचना केन्द्रका लागि भनेर जिल्ला स्वास्थ्य कार्यालयमा आएको १ लाख ५०हजार बजेटबाट शतप्रतिशत प्रगति भएको विवरण जिल्ला स्वास्थ्य प्रोफाइलमा छ। तर सूचना केन्द्र भने गएको पुस २३ गते स्थानीय विकास अधिकारी हरि ज्ञवालीले उद्घाटन गरे। तीन वर्षअघि पठाएको बजेटबाट नियमित रूपमा सूचना केन्द्र स्थापना गरेको भनेर प्रतिवेदन बनाएको भए पनि केन्द्र भने हालैमात्र उद्घाटन गरिएपछि कागजी प्रतिवेदन बनाएर सूचना केन्द्रको रकम दुरुपयोग गरेको खुलासा भएको छ।
स्वास्थ्यको आफ्नै प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६९⁄०७० मा पनि १ लाख ५० हजार नै आएको र त्यसको पनि शतप्रतिशत प्रगति भएको उल्लेख छ। सूचना केन्द्र स्थापना गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजना सुपरीवेक्षण शाखाको हो। पहिला स्वास्थ्यको आफ्नै कार्यालय नभएकाले भर्खरै मात्र व्यवस्थित गर्न लागिएको सो शाखाका सुपरीवेक्षक नवराज कँडेल बताउँछन्। ‘पहिला हाम्रो भवन बन्दै थियो, आफ्नै कार्यालय थिएन त्यसैले सामानहरू किनेर राख्यौं’, उनले भने– ‘अहिले बल्ल नयाँ भवन बनेपछि व्यवस्थित गर्दै छौं।’
तीन वर्षअघिको बजेटबाट हालै मात्र स्थापना गरिएको सूचना केन्द्रमा स्वास्थ्यसम्बन्धी जानकारीका लागि आवश्यक पर्ने धेरै सन्दर्भ सामग्री र सूचनामूलक सामग्री हुनुपर्ने भए पनि त्यो भेटिँदैन। कँडेलका अनुसार जनसंख्याको बारेमा जानकारी दिन टिभी, ल्यापटप, डिजिटल क्यामेरासहित पत्रपत्रिका र इमेल इन्टरनेटको व्यवस्था छ भनिए पनि त्यो व्यवस्था सूचना केन्द्रमा छैन। केबुल नजोडिएको टिभी र एउटा कम्प्युटर मात्रै रहेको केन्द्रमा इमेल इन्टरनेटको व्यवस्था त छैन नै केन्द्रमा बस्ने कर्मचारीसमेत छैनन्।
सूचना केन्द्रका लागि पहिलो र दोस्रो वर्ष डेढ डेढ लाख र चालू आवमा ६० हजार गरी ३ लाख ६० हजार रुपियाँ बजेट छुट्टिएको छ। तर त्यो सबै रकमको फाँटबारी भने केन्द्र प्रमुख कँडेलले नै दिन सक्दैनन्। ‘सूचना केन्द्र व्यवस्थित गर्नुपर्ने तथ्यांक सहायकले हो, त्यसैले केके समान खरिद भए मलाई सबै जानकारी छ्रैन’, उनी भन्छन्– ‘सामान खरिद गर्ने सरहरू सरुवा हुनुभयो, त्यसैले मलाई सबै जानकारी छैन।’ स्वास्थ्य कार्यालयको स्टोर फाँटमा रहेको जानकारी अनुसार टिभी, डीभीडी, ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, डिजिटल क्यामेरा, टिभी ट्रलीलगायतका सामान १⁄१ थान, स्टिल दराज २ थान, स्टिल र्याक २ थान र कुर्सी, टेबुलहरू, बेन्चहरू खरिद गरिएको विवरण छ। आव ०६८⁄०६९ मा १ लाख ६६ हजार र ०६९⁄०७० मा ३७ हजार गरी २ लाख ३ हजारका सामान खरिद गरिएको विवरण उल्लेख भए पनि उल्लेखित सबै सामान सूचना केन्द्रमा छैनन्। त्यसमध्ये अघिल्लो २ वर्षमा मात्रै १ लाख ५० हजारका दरले ३ लाख रकम आएको छ। त्यसमध्ये स्टोरमा २ लाखको मात्र सामानको दाखिला रिपोर्ट छ। तर सूचना केन्द्रमा भने करिब १ लाखको मात्रै सामान छ। एउटा कम्प्युटर, एउटा टिभी, साधारण टेबुल २ वटा, ९ वटा कुर्सी, २ बेन्च, २ वटा स्टिल र्याक र १ स्टिल दराज मात्रै केन्द्रमा रहेका छन्। बाँकी सामानमध्ये ल्यापटप र क्यामेरा आफूसँगै रहेको कँडेलले बताए।
केन्द्रको उद्घाटन गर्ने जिल्ला जनसंख्या समन्वय समितिका अध्यक्षसमेत रहेका स्थानीय विकास अधिकारी हरि ज्ञवालीले आफूलाई पुरानो बजेटको कार्यक्रम भएको भन्ने कुरा आफूलाई थाहा नभएको बताए। ‘मलाई त चालू वर्षको कार्यक्रम भनेर बोलाइयो र उद्घाटन गरें’, ज्ञवालीले हाँस्दै भने– ‘तीन वर्ष पहिलादेखि पैसा आएको भन्ने त मलाई के थाहा भयो र?’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग