Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरुमा बिहानदेखि हजारौँ भक्तजनको घुइँचो

Published on 1:58:00 PM //

रासस 
१ माघ, धुर्कोट् (गुल्मी)- आज माघेसङ्क्रान्ति नेपालका चार धाममध्ये एक रुरुक्षेत्रमा बुधबार बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। 

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुमा कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि र रुरुकन्या मूर्तिमा पूजाआजा गरेमा मोक्षप्राप्ति हुने जनविश्वास रहेका कारण रिडीको रुरु क्षेत्रमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ। 

 प्रत्येक वर्षको माघ १ देखि ३ गतेसम्म गण्डक स्नान गर्नेहरूको बिहान ४ बजेदेखि नै घुइँचो लाग्नेछ। देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरूले दूध खुवाई हुर्काएको तथा विष्णुले चतुर्वाहु रुप लिएर रहेको भन्ने अनेकौँ किंवदन्ती र पौराणिक कथनसँग सम्बन्धित यो क्षेत्र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ। 

नेपालका तीर्थस्थलहरूमध्ये तीन दिनसम्म मेला लाग्ने स्थान रुरु क्षेत्रमा भएको जस्तो ऋषि केशवको मूर्ति अन्यत्र कतै देख्न नसकिनेसमेत जानकारहरू बताउँछन्। यस क्षेत्रलाई नेपालको बनारससमेत भन्ने गरिन्छ। 

 यस क्षेत्रमा करिब ५०० वर्षदेखिका प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्र महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर (गलफूल गुफा) यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, रामजानकी मन्दिर लगायतका दर्शनीय मन्दिर र संरचनाहरू रहेका छन्। 

साथै, १५० वर्षअघि स्थापित कञ्चनेश्वर महादेव र दस हजार वर्गमिटर भू–भागमा फैलिएका सय वर्ष पुरानो यज्ञमुक्तेश्वर मन्दिर पारिपट्टि ठूलो शिलामा स्वयम् निर्मित हनुमानको मूर्ति प्राकृतिक गलफूल गुफा देवदत्त ऋषिको मूर्ति लगायत धार्मिक तथा पर्यटकीय विशेषता बोकेका स्थलहरू रहेका छन्।

 नेपालका सबै जिल्ला भारत, म्यानमारलगायत अन्य देशबाट पनि भक्तजन र योगीसन्तको पूजाआजाका लागि भिड लागेको छ। 


 बिहानदेखि पूजाआजाका लागि चाप हुने भएकाले धेरैजसो वृद्धवृद्धा र अलि टाढाका जिल्लाका भक्तजन तथा भारतको बनारस, राजस्थान, गोरखपुर लगायतका ठाउँबाट जोगीहरू मङ्गलबार नै आएर धुनी जगाएर बसिरहेका थिए। 

 रुरुमा वैशाखे सङ्क्रान्ति, माघे सङ्क्रान्ति, हरिबोधनी एकादशी लगायतका विभिन्न पर्वमा यस क्षेत्रमा निकै ठूलो मेला लाग्ने गरेको भए पनि माघे सङ्क्रान्ति मेलाको भने छुट्टै महत्व र जनविश्वास रहेको पाइन्छ। 

धार्मिक महत्वका अलवा हिमाली भेगमा भेडाको ऊनबाट एक वर्षसम्म हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोलीलगायत ओखरको घाँजी, गुँड र कन्दमूलहरूको व्यापारको लागिसमेत यो मेला प्रख्यात मानिन्छ। यस्ता सामग्रीका लागि रुकुमको विभिन्न गाविसबाट र बाग्लुङबाट एक हप्तासम्म पदैल हिँडेरसमेत मानिसहरू गुल्मीको रिडीमा आउने गर्दछन्। 

 माघे सङ्क्रान्तिको अवसरमा रुरु फ्रेन्ड्स क्लब, रुरु क्षेत्र विकास समिति, रुरु गाविस लागयतले माघे सङ्क्रान्ति मेला आयोजना गरेका छन्। पिङ, झुला, बालउद्यान खेलकुद तथा मञ्च निर्माणका काम सम्पन्न भइरहेको रुरु फ्रेन्स क्लबले जनाएको छ।  

 यसैबीच यस वर्ष रुरुक्षेत्रमा जुवाजन्य खेलहरू र मदिराजन्य पदार्थ बिक्री–वितरणमा भने रोक लगाइएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग