Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एलाक डीपी परियोजनाको उद्घाटन

Published on 6:24:00 PM //

विष्णु पौडल
गुल्मी, पुस २२ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालमा आवद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी परियोजनाको आज औपचारिक उद्घाटन गरिएको छ । परियोजनाको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुवहादुर केसीले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुवहादुर केसीले भ्रष्टाचार नियन्त्रणका लागी सवैको सहकार्य आवश्यक भएको वताउनुभएको छ ।
भ्रष्टाचार पछिल्लो समय भयानक समस्याका रुपमा देखा परेको वताउँदै यसको नियन्त्रणको लागी राजनीतिक दल, कर्मचारी तथा नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिनुभयो । ‘भ्रष्टाचारले समाजमा जरो गाडेको छ, यसलाई हामी एक्लैले निर्मुल पार्न सक्दैनौँ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रणका लागी ऐन वनेका छन तर प्रभावकारी कार्यान्वयन छैन, राजनीतिक दल, कर्मचारी र नागरिक समाज मिलेमा भ्रष्टाचार न्युनीकरण गर्न सकिन्छ ।’
उहाँले भ्रष्टाचार नियन्त्रणको लागी जनता नै जागृत हुनुपर्नेमा जोड दिनुभयो । ‘भ्रष्टाचारको वारेमा जनतालाई चेतना विस्तार गर्न सकेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ त्यो काम नागरिक समाजले गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपालका सवै क्षेत्रलाई भ्रष्टाचारले ग्रस्त पारेको वताउँदै केसीले राजनीतिक दलका कारण कर्मचारीतन्त्रमा भ्रष्टाचार वढेको वताउनुभयो । ‘कर्मचारीतन्त्रमा योग्य, इमान्दार र सक्षम कर्मचारी छन्’ केसीले भन्नुभयो, ‘तर राजनीतिक दलले १२÷१५ ओटा आ–आफ्ना अनुकुलका संगठन वनाएर कर्मचारीहरुलाई दवाएर भ्रष्टाचार तर्फ प्रेरित गरेका छन ।’
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले खुट्टा धोएर मात्रै शरीर सफा नहुने भएकाले भ्रष्टाचार नियन्त्रणको लागी मन्त्रालय, क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय तथा स्थानीय कार्यालयहरु सवै लाग्नुपर्ने वताउनुभयो । उहाँले प्रत्येक व्यक्ति आपु पारदर्शी वन्न सकेमा मात्रै पनि भ्रष्टाचार न्युनीकरण हुने वताउनुभयो ।  
स्थानीय विकास अधिकारी हरी ज्ञवालीले संक्रमण कालले गर्दा सुशासनमा केही असर परे पनि सुशासन कायम गर्न आफु सदैभ लागी परेको वताउनुभयो । ‘जनप्रतिनिधी विहीन अवस्थाले काम गर्न गाह्रो भएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘लामो संक्रमणकालले सुशासनलाई प्रभाव पार्छ ।’ उहाँले जिविसवाट पाईने सेवा सुविधा तथा स्थानीय स्तरमा हुने सवै विकास निर्माणका क्रियाकलापहरुलाई सवैले रेखदेख गरी गुणस्तर कायम गर्न सचेत गराउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठले सुशासन कायम गर्न नसकिएकाले देशको विकास हुन नसकेको वताउनुभएको छ । उहाँले हरेक कार्यालयमा हुने ढिलासुस्तीले जनतले सास्ती पाएको वताउँदै राजनीतिक दलका नेता जाँदा काम हुने सेवाग्राही जाँदा आलटाल हुने प्रवित्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका सचिव सोमनाथ सापकोटाले सुधार आफैवाट गर्नुपर्ने भन्दै आफु सुध्रिएमा मात्रै पनि भ्रष्टाचार नियन्त्रण हुने वताउनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य अशोक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना, उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु भण्डारी, नेपाल नागरिक समाजका अध्यक्ष गुणानिधी शर्मा, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतले मन्तव्य व्यक्त गर्दै भ्रष्टाचार विरुद्ध प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले देशमा सुशासन कायम हुन नसकेका कारण देशको विकास पछाडि परेको वताउँदै भ्रष्टाचार नियन्त्रणमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सुशासन अभियान गुल्मीका सदस्य नरेश भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा एलाक डीपी परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवरले परियोजनाको वारेमा प्रकाश पार्नुभएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालका अध्यक्ष विष्णुवहादुर केसीको प्रमुख आतित्थ्यता रहेको कार्यक्रम सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सहसचिव पिएम मगरले गर्नुभएको थियो ।
सेवाप्रदायक सरकारी कार्यालयको सार्वजानिक सेवालाई थप गुणस्तरीय वनाउँदै समयमै सेवा पु¥याउन सहयोग गरिने लक्ष्य सहित गुल्मीमा परियोजना लागु गरिएको संस्थाले जनाएको छ । भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरु मार्फत सहकार्य गर्दै आएको ट्रान्परेन्सीले इन्टरनेशनल नेपालले दोस्रो चरणका ६ जिल्ला अन्तर्गत गुल्मीमा पनि परियोजना सञ्चालन गरेको हो । परियोजनाको दोस्रो चरणमा गुल्मी सहित काठमाण्डौ, धादिङ्ग, सुर्खेत, कैलाली र मोरङ्ग जिल्लामा परियोजना लागु गरिएको छ । सरकारी निकाय तथा सार्वजानिक संस्थानवाट प्राप्त हुने सेवा लिँदा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा परियोजनाले काम गर्ने कार्यक्रम अधिकृत कुँवरले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग