Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुटुका दुवै भल्ब बिग्रिए, उपचार गर्ने पैसा छैन

Published on 3:22:00 PM //

जनार्दन घिमिरे
गुल्मी । आनन्दले जीवन जीउने रहर कसलाई पो हुँदैन र? तर रहर मात्र भएर के गर्नु? जब मानिसलाई नियतिले नै ठग्न थाल्छ तब उसका सबै आशा निराशामा परिणत हुन थाल्छन्। यस्तै नियति भोग्दै छन् १६ वर्षीय कमल परियार। सडकमा हात फैलाउँदै जीवन रक्षाका लागि सहयोगको याचना गरिरहेका छन, मुटु रोगबाट पीडित गुल्मी मर्भुङगका कमल।

कमल यतिबेला उपचारका लागि सहयोगको अपेक्षा गरेर हारगुहार गर्दै छन्। स्थानीय थानपति निम्न माध्यमिक विद्यालयमा कक्षा आठमा अध्यनरत परियारको अहिले मुटुको दुवै भल्ब बिग्रिएका छन्। एक महिनापछि डाक्टरले उनको अप्रेसन गर्नुपर्ने भन्दै फागुन २९ गतेका लागि अप्रेसनको समय दिएका छन्।

उनका बुबाआमासँग अप्रेसन गर्न आवश्यक रकम छैन। 'गंगालाल अस्पतालमा देखाउँदा डाक्टरले चाँडो अप्रेसन गर्नुपर्छ भनेका छन्। रगत र अन्य खर्चबाहेक तीन लाख रुपैयाँ लाग्छ रे !' आखाँभरी आँसु पार्दै कमलका बुबा वले परियारले भने, 'यस्ता रोग हामी गरिबलाई नै लाग्नुपर्ने, विष्टको घरमा लुगा सिलाउन गएर जेनतेन परिवार पालेको थिएँ। छोरो ठूलो होला र हामीलाई पाल्ला भन्ने आशामा थियौं, तर उसैको यो अवस्था भयो', उनले भने।

उनको उपचारका लागि स्थानीय शिक्षक घनबहादुर खत्रीले गाउँमा सहयोग संकलन सुरु गरे पनि हालसम्म जम्मा ३५ सय रुपैयाँ मात्र संकलन भएको छ। संकलन गरिएको रकमबाट केही थप सहयोग हुन्छ कि भनेर बिरामी कमल र उनका आमाबुवासहित उनी बुधबार सदरमुकाम तम्घास आइपुगेका छन्।

मुटुका दुवै भल्ब बिग्रिएपछि उपचारका लागि सहयोग जुटाइदिन आग्रह गर्दै बुधबार सदरमुकाम तम्घास आइपुगेका कमल परियार र उनकी आमा जुठी 
'उपचारका लागि कसैले सहयोग गर्छन् कि भनेर गाउँमा पनि हिँडियो, तर दस, बीस, पचास रुपैयाँभन्दा बढी रकम सहयोग उपलब्ध भएन। त्यसैले मिडियाबाट सहयोग हुन्छ कि भनेर बाबु लिएर यहाँ आएका हौं', सहयोगी शिक्षक खत्रीले भने।

पुर्खादेखि गाउँमा विष्टको घरघरमा पुगेर कपडा सिलाउँदै आएका वले दर्जीको परिवारमा अहिले १३ जना छन्। १३ जना परिवारमध्ये कमल कान्छा छोरा हुन्। कमल भन्छन्, 'कसैले सहयोग गरेर बाँच्न पाए जीवनमा केही राम्रो काम गर्ने थिएँ।'

कमल गत भदौ महिनादेखि विद्यालय जान सकेका छैनन्। उपचारका लागि कहिले तम्घास, कहिले पाल्पास्थित मिसन अस्पताल त कहिले काठमाडौं गंगालाल गर्दागर्दै उनको समय बितिरहेको छ। छोरा आफूहरूलाई बुढेसकालको सहारा बन्ला भन्ने आशामा बसेकी उनकी आमा जुठी परियार छोराका लागि सहयोग गर्ने व्यक्तिहरू आफूहरूका लागि भगवानसरह हुने कल्पना गर्छिन्।

कमललाई सहयोग संकलन गर्न चाहने व्यक्ति हरूका लागि लक्षित गरी उनका शुभचिन्तकहरूले सदरमुकाम तम्घासको राष्ट्रिय वाणिज्य ब्यांकमा ३०१००२६२४३१० नम्बर रहेको खाता खोलिदिएका छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग