Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महत्वकांक्षी निर्णयले अलपत्र पर्यो, उत्तरगंगाका विद्यालयको विज्ञान संकायको भवन

Published on 12:42:00 AM //

राम सुवेदी
बुर्तिबाङ, बागलुङ । बुर्तिबाङ स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा विज्ञान संकायको भवन निर्माण कार्य महत्वकांक्षी निर्णका कारण अलपत्र परेको विद्यालय प्रशासनले बताएको छ । नेपाल सरकारले आर्थिक वर्ष ०६७÷६८ मा प्रत्येक एक निर्वाचन क्षेत्रमा एक विज्ञान संकायको भवन निर्माण गरेको थियो, जहाँ सोही निर्णय अनुरुप कक्षा ११÷१२ का लागि विज्ञान विषयको अध्यापन समेत सूचारु भइसकेको छ ।
पठन पाठनसँगै भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मार्फत २४ लाखको वजेट पनि विनियोजन गरियो तर त्यसवेला प्रअ-प्राचार्य विवादसँग जोडिएको विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न लागेको स्थानमा भवन निर्माण गर्न नसकिएपछि निर्माण समिति बनाई योजना सुरु गरिएको २ वर्ष पूरा भईसक्दा पनि भवन जगमै अलपत्र परिरहेको छ । व्यवस्थापन समिति विवादित भएको अवस्थामा तत्कालिन जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको उपस्थितिमा चुडाबहादुर कुवँरको संयोजकत्वमा भवन निर्माण समिति बनेको थियो ।
निर्माण समितिले उक्त भवन निर्माणको वजेट आफ्नो समितिको खातामा राखेर काम थाल्ने निर्णय गराएको अवस्थामा समितिको खातामा रकम नआएका कारण के कसरी खर्च गरियो त्योृ आफूलाई थाहा नभएको समितिका संयोजक कुवँरले बताउनुभएको छ । कुवँरका अनुसार विद्यालय प्रशासन सम्हालेका ईश्वरी प्रसाद पौडेलले जिल्ला शिक्षा कार्यालयले रकम विद्यालयकै खातामा राखेर काम गर्न भनेकाले आफूले समितिको खातामा राख्न नसक्ने बताएपछि समितिका तर्फबाट उक्त रकम खर्च गर्ने अख्त्यारी नदिइएकाले सो विषयमा समिति जवाफदेही नभएको बताउनुभयो । तर भवन निर्माणकबो सबै हर हिसाव आफूसँग रहेको विद्यालयमा प्रशासकिय भुमिका निर्वाह गर्दै आउनुभएका ईश्वरी प्रसाद पौडेलले बताउनुभएको छ । उहाँका अनुसार जिल्ला शिक्षा कार्यालयले नै सो रकम विद्यालयको खातामा राखेर खर्च गर्न भनेकाले यस्तो गरिएको बताउनुभएको छ ।
उता जिल्ला शिक्षा कार्यालयले भने विद्यालय भवन निर्माणका लागि नै निर्माण समिति बनेकाले त्यहीको तजवीजले खर्च गर्न भनेको बताउँदै आफूले समितिको खातामा नराख्नु भन्ने कुनै आधिकारीक जानाकारी नदिएको बताएको छ । कार्यालयका अनुसार संझौता अनुसार २४ लाखले ४ कोठे भवन बनाउन भनेको हो तर त्यसो नभई नियम विपरित महत्वकांक्षी योजना बनाएर सो रकमलाई खर्च गरिएकाले त्यो रकम फरछ्योट गर्न समेत नसकेको भनाई छ । यता विद्यालयले भने १२ कोठे भवनको स्टमेट निकालेर केवल जगमात्र थापि, भुईमा बीम हालेर रड ठाडो पारेर छाडेको छ । जहाँ जिल्ला शिक्षा कार्यालय बाट विनियोजित २४ लाख र विद्यालयको १६ लाख गरि ४० लाख वजेट खर्च भएको विद्यालय प्रशासनका तर्फबाट ईश्वरी प्रसाद पौडेलले बताउनुभएको छ ।
लामो विवाद र उल्झनबाट राजनैतिक सहमति गरेर बनाइएको विद्यालय व्यवस्थापन समितिले पनि किन यस्तो भयो भन्ने विषयमा चासो लिनु पर्ने हो । यस विषयमा समितिका अध्यक्ष रमेत रहनुभएका टेकपति सापकोटाले आफू अध्यक्ष बन्नु पुर्वनै त्यस्तै हालत बनाई सकिएकाले आफूलाई पहिलेको कुरा थाहा नभएको बताउनुभएको छ । सोको हर हिसाव के कसरी भयो भन्ने विषयमा समितिको बैठकले यस अघिनै निर्णय गरिसकेको सापकोटाको भनाई छ ।
नियमले कि त तोकिएको मापदण्ड अनुसारको ४ कोठे भवन बन्नु पर्दथ्यो कि त निर्णय गरिएको महत्वकाँक्षी निर्णयको स्रोत खोजी काम अगाडि बढाउनु पर्ने हो । त्यसो हुन सकेको देखिन्न । यो तालले समयमा भवन निर्माण गर्नु त परै छ, खर्च भएको रकम र भुईमा रोपिएको सम्पत्ति समेत क्षेत विक्षेत हुँदै गइरहेको अवस्थामा यसको जवाफदेही को हुने अझै न्वारन हुन नसकेको सरोकारवालाहरुको भनाईले प्रस्ट्याएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग