Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहरुले एसएलसीका केन्द्राध्यक्ष अपहरण गरेका खुलासा

Published on 2:36:00 AM //

गगनशीला खड्का
२०६६ सालको एसएलसी परीक्षामा गुल्मीका सरकारी कर्मचारी र शिक्षकले नै केन्द्राध्यक्ष र सहायक केन्द्रध्यक्षलाई अपहरण गरेकेा रहस्य खुलेको छ । परीक्षामा राजनीतिकरण गरेको भन्दै रामराज्य उच्चमावि इस्मा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई अपहरण गरिएको हो ।



दलौमचौर उपस्वास्थ्यचौकी प्रमुख दीपेन्द्र रिजाल, विद्यालयका शिक्षक सुवास महत र हरि पन्थीले अपहरण गरेको केन्द्राध्यक्ष जगत केसीले सार्वजनिक गरेका छन् । 'सो केन्द्रमा दुई सय ९० जना विद्यार्थी भएका कारण उनीहरूको भविष्य बिग्रने डरले तत्काल केही प्रतिक्रिया जनाइनँ,' उनले भने, 'सरकारी कर्मचारी भएर पनि अभद्र क्रियाकलाप गरेकाले ती व्यक्तिलाई के गर्ने भन्ने विषयमा राज्यले सोच्नुपर्छ, मैले केही भन्ने कुरा भएन ।'

हिमालय उच्च मावि हस्तिचौरका प्राचार्यसमेत रहेका केसीले आफूसँगै रातचौर प्रावि हस्तिचौरका प्रधानाध्यापक तथा सहायक केन्द्राध्यक्ष दीपक कुँवरलाई २०६६ साल चैत्र ११ गते राति मदिरासेवन गरेर आएका उनीहरूले अपहरण गरेको र धम्क्याएर छाडेको बताउनुभयो । आफू केही समयपछि भागेर बचेको र सहायक केन्द्राध्यक्ष कुँवरलाई २ घन्टापछि छाडिदिएको उनको भनाइ छ ।

'राजनीतिकरण भयो, हामीसँग किन समन्वय भएन ? भन्दै मदिरासेवन गरेका व्यक्तिहरूले तलसम्म ल्याए र केही समय धम्क्याएर छाडिदिए,' कुँवरले भने, 'हामी कुनै पूर्वाग्रहबाट गएका होइनौँ भनेपछि केही समयपछि छाडिदिए ।'

जिल्लामा वैशाख पाँच गते हुने एसएलसीको समीक्षा बैठकमा त्यस विषयमा छलफल गरिने पनि केसीले बताए । घटनाको विषयमा परीक्षाकै समयमा जानकारी भएपछि अपहरण हो-होइन भन्ने विषयमा एकिन नभएको र परीक्षामा असर पर्ने भएकाले केही नगरिएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालको भनाइ छ । तर पाँच गते एसएलसी परीक्षाको समीक्षा बैठकमा यथार्थ विवरण बुझेपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग