Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साठी वर्षदेखि निरन्तर सुन्तला, सुन्तला बिक्री गरेर ९ करोड

Published on 9:26:00 PM //

घनश्याम गौतम
अन्य खेतीबाट भन्दा राम्रो आम्दानी भएपछि गुल्मीका किसानहरुले ६० वर्षदेखि निरन्तर सुन्तला खेती गर्दै आएका छन् ।
किसानले अन्य खेती छोडेर सुन्तला खेतीतर्फ आकर्षित हुँदै आएका हुन् । जिल्लामा यस वर्ष सुन्तला विक्रिबाट मात्र झण्डै ९ करोड भित्रिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुन्तला बिक्रीबाट एकै व्यक्तिले वर्षमा ८ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।कृषि विकास कार्यालयका अनुसार जिल्लाका पिपलधारा, अर्खले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, अर्लाङ्कोट, पुर्कोट, बस्तु, जैसीथोक, जुभुङ्ग लगायतका दर्जनौ गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ । किसानले सुन्ताला खेतीसंगै एउटै जग्गामा अन्य खेती समेत गर्न शुरु गरेका छन् । अर्खले-९ का किसान मानबहादुर घर्ती मगरले आफ्नो बारीमा ६० वर्षदेखि निरन्तर सुन्तला खेती हुँदै आएको बताए । ‘मैले जान्दा देखि त व्यवसायीक रुपमै खेती गर्दै आएका छौं’, उनले भने, ‘हजुरबुबाका पाला देखि सुन्तला खेती शुरु गरेका हौं, जुन अहिले पनि निरन्तर छ ।’ २००७ सालदेखि सुन्तला खेती शुरु गरेका उनीहरुको २० रोपनी बारीमा अहिले पनि ४ सय बोट सुन्तला छन् । सुन्तलासंगै बारीमा गहुँ, मकै, कोदो, तरकारी लगायतका खेती गरेर थप आम्दानी समेत गर्ने गरेको मानबहादुरले बताए । हजुरबुबा खड्गबहादुरले आफ्नै बारीको सुन्तला राजा महेन्द्रलाई समेत बिक्री गरेका थिए भने मानबहादुरका बाबु भुवनले २०३६ सालदेखि व्यवसायीक सुन्तला खेती शुरु गरेका थिए । छिमेकीहरुका अनुसार महेन्द्रको परिवार उनकै बारीमा आएर सुन्तला किनेर लैजान्थे ।उनीहरुको परिवार जस्तै अर्खलेको भाडगाउँमा बर्षौ देखि सुन्तला खेती गर्नेहरुको संख्या थुप्रै छ । सबैका घरमा अन्य खेतीको तुलनामा सुन्तला खेती बढी हुने गरेपनि अन्य सुन्तलासंगै अन्य उत्पादनहरु बढाउन नसक्दा भाडगाउँ सदरमुकाम नजिकै रहेर पनि पछाडी परेको स्थानीय समाजसेवी गणेश विश्वकर्माले बताए । ‘गाउँलाई धेरै उत्पादन मुखी बनाउने तयारीमा लागेका छौं’, विकले भने, ‘दुध, सुन्तला, तरकारी, लगायतका कृषि उत्पादनका लागि भाडगाउँ उपयुक्त छ ।’पिपलधारा-७ का कृषक विष्णु खनालले पनि यस वर्ष सुन्तला विक्रि गरेर मात्र झण्डै ८ लाख आम्दानी भएको बताए । २५ रोपनी जग्गामा सुन्तला खेती मात्र गर्दै आएका खनालको बारीमा कलमी सहित ४ सय सुन्तलाका बोटले उत्पादन दिएका छन् । ‘यो वर्षमात्र ५० मेट्रिक टन विक्रि हुँदैछ’, उनले भने, ‘अन्य खेतीको तुलनामा सुन्तलाबाटै राम्रो आम्दानी हुन थालेपछि यता तर्फ आकर्षित भएको हुँ ।’ जिल्लाभर सुन्तला विक्रिबाट मात्र बाषिर्क २ लाख सम्म आम्दानी गर्ने कृषक झण्डै ४ सय रहेको कृषि विकास कार्यालयले जनाएको छ ।कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार यस वर्ष जिल्लाभर गत वर्षको तुलनामा ३० प्रतिशत सुन्तलाको उत्पादन बढेको छ । धेरै सुन्तला खेती घाम पर्ने पहारिलो जग्गामा भएकाले यहाँको सुन्तला बढी स्वादीलो छ । जिल्लाभर ६ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । गत वर्ष २ हजार ७ सय ४३ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष बढेर ३ हजार ६ सय ५२ मेट्रिक टन सुन्तला उत्पादन भएको अर्यालले बताए । ‘सामान्य मुल्यमा विक्रि भएपनि ९ करोड भन्दा बढी रकम सुन्तला बिक्रिबाट यस वर्ष भित्रिदैं छ’, अर्यालले भने, ‘यहाँको सबै स्थानको सुन्तला स्वादिलो भएकाले विक्रिमा समेत कुनै समस्या छैन ।’ जिल्लाका अधिकांस स्थानमा सुन्तला खरिद गर्न सदरमुकाम सहित बुटवल, कृष्णनगर लगायतका स्थानबाट ठेकेदारहरु किसानको बारीमै पुग्ने गर्दछन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग