Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका पर्यटकीय क्षेत्रको संरक्षणको खाँचो

Published on 6:29:00 PM //

गुल्मी जिल्लाकै सबैभन्दा ठूलो स्थानमा रहेको थाप्लेमा विभिन्न मौसम अनुसार रमाइलो हुन्छ ।


यहाँ जाडो याममा हिउँले ढाक्छ भने गर्मीमा सितलको आभास हुन्छ । सयौं प्रजातिका चराचुरुङ्गी, विभिन्न प्रकारका लोपोन्मुख जनावर सो स्थानमा बस्दै आएका छन् भने धेरै प्रकारका जडीबुटी पनी पाइन्छन् । यो स्थान पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको भए तापनि आजसम्म कसैको ध्यान जान सकेको छैन ।

वनैवन, विभिन्न टावर तथा मन्दिरले ढाकेको उक्त स्थानबाट गुल्मीका धरै स्थान राम्रोसँग देख्न सकिन्छ भने पाल्पा, स्याङ्जाम रुपन्देही, वाग्लुङ र अर्घाखाँचीका पनि विभिन्न बस्तीहरु देखिन्छन् । थाप्लेको शिरमा बसी टाढाटाढा रहेका विभिन्न बस्ती  रमाइला झरना साथै सतहमा बगेको बढीघाट खोलाले त अत्यन्तै मनोरम बनाइरहेको छ । फेदीमा रहेको रमणीय स्थल खैरेनीमा केबुलकारको स्टेशन राखी थाप्ले लैजाने ल्याउने व्यवस्था मिलाउन सक्यौं भने थाप्लेको शिर मात्र होइन हामी सम्पूर्ण गुल्मीबासीको शिर माथि उठ्न सक्थ्यो ।

गल्मीको क्षेत्र नं. ३ मा रहेको यो स्थानमा बाटो समेत राम्ररी जान सकेको छैन । ठूलाठूला चट्टान र पहरा भएकोले स्थानीयवासीले एक्लो प्रयासले सम्भव  नभएको बताउँछन् । पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण यो स्थानमा पर्यटकलाई सहज रुपमा लैजान सक्यौं भने पक्कै पनि विकास चाँडै हुन सक्थ्यो ।
धार्मिक तथा पर्यटनको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रेसुङ्गाको शिरमा पनि पर्यटकको संख्या न्यून रहेको सरोकारवालाहरुले बताएका छन् । गुल्मीको दोस्रो ठूलो पहाड रेसुङ्गाको शिरमा विभिन्न पर्वमा हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गर्छ तर उक्त रमणीय स्थलमा पनि सहज रुपमा पर्यटक लैजाने व्यवस्था अझै मिलाउन सकिएको छैन । सदरमुकाम तम्घासमा केबुलकार राखी रेसुङ्गाको शिरमा लैजाने, ल्याउने व्यवस्था मिलाउन सकेमा मात्र गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटक राम्ररी भित्रिन सक्ने थिए ।

वनैवनको बीचमा रहेको उक्त स्थानमा विभिन्न रेडियो तथा  टेलिभिजनको टावर रहेको छ भने मन्दिरै मन्दिरले ढाकेको छ । सयौं प्रजातिका चराचुरुङ्गी र जनावर रहेको तथा विभिन्न बहुमूल्य जडीबुटी पनि यो स्थानमा रहेको छ । यसैगरी रिडी, रुद्रवेनी, वलेटक्सार गुफा, बम्घा, जोहाङ गुफाको पनि उचित पर्बर्द्धन हुन सकेको छैन ।

गुल्मीको मनोरम दृश्य, चौतारी, विभिन्न बस्ती, झरनालाई पार गर्दै रुद्रवेणी, खैरेनी, उल्लीखोला, मजुवा भुवाचिदी हुँदै पुग्न सकिने ढोरपाटन राष्ट्रिय निकुञ्ज पनि यही स्थानबाट  पुगिने हुँदा समग्र गुल्मीको विकासको लागि कच्ची सडकलाई पनि पक्की बनाइनु पर्छ ।

यसैगरी धार्मिक स्थल रुद्रवेणी पनि जान, आउन अत्यन्तै दुःख पर्छ ।  रिडीबाट बेनी बजार नपुग्दासम्म कहाँ खसिन्छ भन्ने डर हुन्छ । कालीगण्डकीको तिरैतिर पुग्न सकिने यो स्थानमा पनि पर्यटकको लागि राम्रो व्यवस्था मिलाइनु पर्छ ।

समग्रमा गुल्मीको विकासको लागि सम्पूर्ण पार्टीका नेता बुद्धिजीवी सम्पूर्णमा अनुरोध छ कि पर्यटन वर्ष २०११ को कुरा गरिरहँदा हामी गुल्मीलाई छुटायौं भने पक्कै पनि गुल्मीको अपमान मात्र होइन प्रकृतिमाथीको प्रश्न हुनेछ । जातीय एकता, सहनशीलता, सहिष्णुता गुल्मीका चिनारी हुन् । तसर्थ समग्र गुल्मीको विकास यी क्षेत्रको विकासबिना असम्भव छ ।


बुटवल टुडेबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग