Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै बर्षमा दोस्रो पटक फल्यो सुन्तला

Published on 6:03:00 PM //

 नारायण पंगेनी
एक वर्षमा एक पटक मात्रै सुन्तला राम्रो फल्यो भने किसानहरू निकै खुशी हुन्छन् तर वर्षमा दुई–दुई पटक सुन्तला फल्यो भने त झन् के होला ?
सुन्तला जात फलफुल विकाश केन्द्र पाल्पाको फारममा लगाइएको सुन्तला यो वर्ष मात्रै दुई पटक फलेर खाने भएको छ । चार महिनाअघि मात्रै सुन्तला फलेर खाइसकेको जापानीज ओन्सो जातको सुन्तला चार महिनापछि अहिले फेरी फलेर पनि पाकी सकेको छ ।

सुन्तला जात तथा फलफुल विकास केन्द्र वागवानी पाल्पाको बागवानीमा असोजको पहिलो सातामै पाकेर सकिएको सुन्तला फेरी पाकेको हो । दोस्रो पटक पाकेको सुन्तला खाएर हेर्नोस्, केन्द्र प्रमुख गणपति पाण्डे पाकेको सुन्तला खानदिएपछि सोधे– ‘स्वाद कस्तो छ त ? साँच्चिकै पाण्डेले भने जस्तै बेमौसमी सुन्तला स्वाद अन्य सुन्तलाभन्दा मिठो थियो । जापानबाट विकसित उन्सो (उकेचुवासे) जातको सुन्तला विगत ५ वर्षदेखि बेमौसमी सुन्तला उत्पादनका लागि लगाउँदै आएको केन्द्र प्रमुख पाण्डेले जानकारी दिए । उन्सो नामको सुन्तला असोजमै पाक्दा ८ सय ग्रामसम्मको दाना लागेको थियो, पाण्डेले भने– ‘तर अहिले भने २ सयदेखि ४ सय ग्रामसम्मको दाना लागेको छ ।’

हेर्दा हेर्दै पाकेर सकिएको सुन्तला फेरी फलेर खान पाइयो, एकै वर्षमा दोस्रो पटक फलेको सुन्तला देखाउँदै केन्द्र प्रमुख पाण्डेले भने– ‘२०५२ सालमा एक बोटबाट परीक्षण गरिएको सुन्तला यो असोजबाट ३२ बोटमा उत्पादन भएको छ भने अहिले फेरी ४ बोटमा फलेर पाकेको छ ।  यो जातको सुन्तला असोज कार्तिकको पर्वको मौसम अनुसार तयार हुने हुँदा यो जातको सुन्तलाको विरूवाको माग पनि बढेको पाण्डेले बताए । ठूला–ठूला साइजका दाना लाग्ने हुँदा र स्थानीय भन्दा ३ महिना अगाडी नै यो सुन्तला पाक्ने भएकोले यसको माग र महत्व समेत बढेको उनले जानकारी गराए ।

स्थानीय जातको सुन्तलाको खेती गर्दै आएका किसानलाई उन्सो जातको सुन्तला अझ प्रभावकारी हुने केन्द्रको विश्वास छ । यो जातको सुन्तला भदौको अन्तिम सातादेखि कार्तिकसम्म उत्पादन भइ कृषकले बिक्री गर्न सक्छन् । स्थानीय जातभन्दा ३ महिना अगाडी पाक्ने र बेमौसममा उत्पादन हुने भएकाले चिस्यान केन्द्रको पनि आवश्यक नपर्ने धारणा केन्द्र प्रमुख पाण्डेको छ ।

उन्सो जापानबाट विकास भएको सुन्तला जात हो । नेपालमा २०३२ सालमा भित्रिएको भएता पनि काठमाडांै उपत्यका बाहिर भने धेरै पछाडि मात्र भित्रिएको यो जातको सुन्तला पुगेको हो तर पनि अझै किसानहरूले लगाई सकेका छैनन् भने सुन्तला जात फलफूल विकास केन्द्रमा अहिलेसम्म परिक्षणमै रहेको देखिन्छ ।

पाल्पामा हरेक वर्ष यस जातका १ हजारका दरले विरूवा उत्पादन हुने गर्दछ । स्थानीय जातको सुन्तला उत्पादन हुने स्थानमा उत्पादन गर्न सकिने उन्सो जातको सुन्तलाप्रति बोट ३ क्विन्टलसम्म फल लाग्ने भएकाले यसको लोकप्रियता बढ्दै गएको केन्द्रको दावी छ तर पनि यो जातको सुन्तला किसानले लगाएको बारेमा भने अहिलेसम्म लेखा जोखा हुन सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग