Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घन्कियो जापानमा नौमती बाजा

Published on 1:16:00 AM //

गत २३ जनवरी आइतबारका दिन सम्पन्न एक गुल्मेली चेलीको बैबाहिक समारोहमा नेपालको परम्परागत एवं अत्यन्तै लोकप्रिय मानिने नौमती बाजा जापानमै पहिलोचोटी घन्किएको छ । उसो त बेलायत, हङकङ, फिन्ल्यान्ड तथा अमेरिकामा रहेका नेपालीहरुले भने धेरै पहिलेदेखि नै बिभिन्न उत्सव तथा पर्वहरुमा नौमती बाजाको प्रयोग गर्दै आईरहेका छन् ।

ललितपुर लुभुका पुष्करजंग थापा र गुल्मी रुपाकोटकी कामना भण्डारीको गत आइतबार टोकियोमा सम्पन्न बैबाहिक समारोहमा जापानमा पहिलोचोटी नौमती बाजा घन्किएको हो । दमाहा, ढोलाकी, सहनाई, नरसिंहा, कर्णाल, झ्याली, ट्याम्कोलगायतका परम्परागत नौमती बाजा बजाएर दुलहीपक्षका मामाहरुले बैबाहिक समारोहमा आफ्नै मौलिक सँस्कृतिको झल्को दिलाएका थिए ।
बिदेशमा भएर पनि पूर्ख्यौली सँस्कारलाई पछ्याउँदै दियो-कलश पूजेर नौमती बाजाको साथमा सँधैका लागि एकअर्काप्रति समर्पित हुने वचनबद्धताकासाथ पुष्कर र कामनाले आइतबार लगनगाँठो कसेका हुन् । एक भब्य बैबाहिक समारोहकाबीच रेष्टुरेन्ट ब्यवसायी बिजय भण्डारी र श्रीमती भुमा भण्डारीले आफ्नी छोरीको कन्यादान दिएका थिए । पुरेत पृथ्वीप्रसाद सुबेदीद्वारा भएको बिधिवत पूजापाठ र हवनकासाथ स्वयम्बर, कन्यादान, सिन्दुर ग्रहण, गोडाधुने, टिकाटालाजस्ता परम्परागत सबै बिधि र प्रक्रिया पुर्‍याएर भण्डारी दम्पतीले आफ्नी छोरी कामनालाई पुष्करको हातमा थम्याएका हुन् ।
हाल केइआई बिश्वबिद्यालय चिवामा स्नातक तहमा अध्ययनरत पुष्करले नेपालबाट आफ्ना बुवा अच्युत थापा र आमा उर्मिला थापालाई जापान बोलाएर बिबाह गरेका हुन् । दुलाहा र दुलहीको पोशाकमा सजिएका पुष्कर र कामनाले ब्राम्हणको मन्त्रोच्चारणसंगै बिबाहमण्डप परिक्रमा गरेर नयाँ जीवनको थालनी गरेका छन् ।

बिबाहकै लागि भनेर नेपालबाट नौमती बाजा झिकाइएको र सो बाजाको थप बन्दोबस्त र जोरजाम गरेर अभ्यस्त हुँदै जाने बुझिएको छ । यसअघि माइतीपक्ष नौमती बाजा घन्काउँदै जन्ती लिन नजिकको रेल स्टेशनसम्म पुगेर स्वागतकासाथ बिबाहस्थलमा आएपछि जन्ती पर्सिएको थियो । बिबाहमा उपस्थित निम्तालुहरु नौमती बाजाको तालमा धित मरुञ्जेल उठीबसी गरेर नाचेका थिए । आइतबारको दिन परेकोले संयोगवश खाली बनेको सडक पनि उक्त प्रयोजनका लागि उपयोग गरिएको थियो । नेपालकै गाउँघरतिर हुने बिबाहको झझल्को दिने नौमती बाजाको गुञ्जायमानसहितको सो बैबाहिक कार्यक्रमलाई अचम्म मान्दै हेर्ने जापानीहरुको भिड लागेको थियो । नेपालीहरुले जापानमा पञ्चेबाजाको पहिलोचोटी प्रयोग गरेर बिबाहको नौलो संस्कारको शुरुवात गरेका छन् ।

नेपालदेखिनै बिभिन्न सामाजिक संघसंस्थाहरुमा सक्रिय रहँदै आएका दुलाहा पुष्कर थापा हाल अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानका महासचिव, अन्तरराष्ट्रिय नेपाली समाज जापानका सचिवलगायतका संघसंस्थाहरुमा क्रियाशील छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग