Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोकै हुन थाले लिबियामा नेपाली

Published on 11:53:00 AM //

होम कार्की
लिबियामा आन्दोलन चर्कंदै जाँदा त्यहाँका नेपाली कामदार खान नपाउने स्थितिमा पुगेका छन् । राजधानी त्रिपोली, मुख्य सहरहरू बेंघाजी, घाट र सिर्डबाट सम्पर्कमा आएका कामदारका अनुसार खानेकुरा र पानी अभाव हुँदै गएको छ ।

क्याम्पभित्र रहेका उनीहरूले तत्काल उद्धार गर्न सरकारसमक्ष अपिल गरेका छन् । ती सहरमा झन्डै १३ सय कामदार छन् ।
'हामी अन्योलमा छौं, खानपान बन्द छ,' घाटको अभिनेट क्षेत्रमा कार्यरत सुनसरीका प्रकाश ओझाले भने, 'स्थिति निकै कठिन हुँदैछ ।' त्यहाँ दुई सय कामदार छन् ।
त्यहाँबाट दुई सय किलोमिटर टाढा रहेको ताहाल क्षेत्रमा कार्यरत नेपालीले दुई दिनयता खान पाएका छैनन् । 'शनिबारदेखि खाना बन्द छ, बिहान लिबियन सहकर्मीमार्फत खाना किनेर खायौं,' सय कामदारको क्याम्प लिडर झापाका चन्द्रबहादुर गुरुङले भने, 'यहाँ पनि आन्दोलन चर्किन थालेको छ । पसलहरू बन्द छन् । हामी अलि टाढा गाउँमा छौं ।'
सँगै रहेका काभ्रेका पेम्बा लामा र ईश्वर भण्डारीले स्वदेश फिर्न ७ दिनदेखि तयारी अवस्थामा रहेको बताए । 'भोलि -सोमबार) लैजाने खबर छ तर निश्चित छैन,' उनीहरूको भनाइ थियो, 'हामी यहाँबाट बाहिर निस्कन निकै आतुर छौं । छिटोभन्दा छिटो उद्धार गरियोस् भन्ने हाम्रो आह्वान छ ।'
चाइनिज कम्पनी सिना हाइड्रोअन्तर्गत आठ सय कामदार कार्यरत रहेको उनीहरूको अनुमान छ । उनीहरू राजधानी त्रिपोलीबाट १६ घन्टा दूरीमा छन् ।
साँझ ६ बजेतिर त्रिपोलीको अलमगरबियामा कार्यरत २४ जना कामदारसँग सम्पर्क हुँदा निकै हतासमा रहेका उनीहरूबीच ठूलो हल्लीखल्ली चलिरहेको थियो । 'भर्खरै कम्पनीका सुपरभाइजर आएर पाँच मिनेटमा तयार हुनु, बाहिर बस आउँछ, विमानस्थल जानुपर्छ भनेर राहदानी छाडेर गएका छन्,' विमानस्थलबाट १५ मिनेट टाढा बसिरहेका बिष्णुबहादुर मगर र बागलुङका नारायण कार्कीले भने ।
दस महिनाअघि त्यहाँ गएका उनीहरूले एक छाक खाना पाइरहेका छन् । 'यहाँबाट सबै कम्पनीले लिएर गइसकेका छन्, हामीलाई भर्खर सूचना आयो,' हतारिएका गोर्खाका निरज गुरुङले भने, 'बल्ल लिबिया छाडिन्छ कि भन्नेमा छौं ।'
यता बेंघाजी, जवाराबाट सम्पर्कमा आएका ललितपुरका पुष्प श्रेष्ठ र चित्रकुमार श्रेष्ठले लिबियन सहकर्मीले सुरक्षा दिइरहेको बताए । 'क्याम्पबाहिर लिबियन साथीहरू छन् । एउटा केक भए पनि खुवाइरहेका छन्,'  श्रेष्ठले भने, 'बाँच्न गुहार मागिरहेका छौं ।'
लिबियामा उद्धारको पर्खाइमा रहेका कामदारका आफन्त काभे्रका तेजबहादुर भण्डारी, गोर्खाका दिलमाया गुरुङ र ललितपुरका राधेश्याम कठायतले सरकारले जोखिम स्थलबाट इजिप्ट बोर्डरमा आएपछि मात्रै उद्धार हुनेप्रति निकै आक्रोशित भए । 'यस्तो पनि उद्धारको कुरो हो ?' ५६ वषर्ीय भण्डारीले भने, 'सरकारका प्रतिनिधि लिबिया गएर छिटोभन्दा छिटो लैजानु पर्छ ।'
इजिप्टको कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्यालले लिबियामा रहेका अन्य मुलुकका दूतावाससँग समन्वय गरेर नेपालीको अवस्थालाई नजिकबाट बुझ्ने प्रयास भइरहेको बताए । आपतकालीन अवस्थामा पनि अझै राजदूत र प्रथम सचिव मात्रै रहेको दूतावासमा थप जनशक्ति नहुँदा उद्धार प्रक्रिया अगाडि बढाउन कठिन भइरहेको छ ।
अन्तर्राष्ट्रिय आप्रवास संगठनले नेपाल, बंगलादेश, माल्दिभ, श्रीलंका, भियतनामलगायत मुलुकका कामदारलाई लिबियाबाट उद्धार गर्न 'सहयोग आह्वान पत्र' जारी गरेको छ ।
उसले ती मुलुकबाट कामदारलाई उद्धार गर्न औपचारिकपत्र आएको भन्दै एक करोड १० लाख अमेरिकी डलर सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ संस्थाहरूलाई आह्वान गरेको छ ।
सरकारद्वारा गठित उद्धार संयोजन समितिले कामदारलाई स्वदेश फिर्ता गर्न सम्बन्धित व्यवसायीबाट वित्तीय साझेदारीको प्रतिबद्धता नआएको भन्दै सरकारले सम्पूर्ण उद्धार खर्च आफैंले बेहोर्ने भएको छ । 'तीन दिनदेखि व्यवसायीको लिखित प्रतिबद्धता मागेका थियांै तर आएन,' सरकारी स्रोतले भन्यो, 'स्थिति जटिल हुँदै आएकाले लागेको खर्च सरकारले बेहोर्ने गरी काम अगाडि बढेको छ ।' त्यसका लागि समितिले वैदेशिक कल्याणकारी कोषबाट खर्च गर्ने गरी मन्त्रिपरिषद्लाई निर्णय लिन सिफारिस गरेको छ । शुक्रबार उद्धार गर्न लागेको खर्च सरकार र व्यवसायीले आधा-आधा बेहोर्ने सहमति भएको थियो ।
थप २ सय ५४ आइपुगे
लिबियाबाट आइतबार थप २ सय ५४ कामदार आइपुगेका छन् । ती कामदार इजिप्ट र टर्की हुँदै स्वदेश आइपुगेका हुन् । पहिलो लटमा शनिबार ६२ जना आएका थिए । इजिप्टमा बाँकी रहेकामध्ये एक सय २५ जना र टर्की हुँदै ८८ जना स्वदेश आएका हुन् । लिबियाको डेर्नाबाट इजिप्ट आएका वन कन्स्ट्रक्सनमा कार्यरत ल्याउने काम जारी छ । उनीहरूलाई एसओएसले पठाएको हो । टर्की कम्पनीमा काम गर्ने ८८ जना बहराइन, दिल्ली र मुम्बई हुँदै स्वदेश आएका हुन् । 'हामीलाई कम्पनीले निकै राम्रो सहयोग गर्‍यो, उनीहरूप्रति आभारी छौं,' स्याङ्जाका जोगबहादुर विश्वकर्माले कान्तिपुरसँग भने, 'लिबिया छाडेको दुई दिनमा सहज रूपमा आयौं, खानपानमा कुनै समस्या थिएन । सबै खर्च कम्पनीले बेहोरेको थियो ।' त्रिपोली हुँदै
आएका मकवानपुर चित्लाङका कृष्णबहादुुर गोलेले त्रिपोली विमानस्थलमा स्वदेश फिर्ने कामदारको निकै लर्को रहेको बताए ।
ईकान्तिपुर डट कमबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग