Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिनल्यान्डवासीले तौल घटाउँदा नेपाललाई १४ करोड

Published on 3:25:00 PM //

गोकर्ण अवस्थी
फिनल्यान्डवासीले तौल घटाउँदा प्रतिकेजी ३० डलर नेपालको दुर्गमका बालबालिकाका लागि सहयोग दिइने अभियानअन्तर्गत सुरुको चार महिनामै १४ करोड प्राप्त भएको छ । 
नोभेम्बर २०१० देखि सुरु अभियानमा चार महिना संकलित १४ लाख युरो (करिब १४ करोड रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरिएको फिनल्यान्ड दूतावासकी कन्सुलर सातु पेहु भोएमाले कान्तिपुरलाई बताइन् ।
फिनल्यान्डकी एक महिलाले आफ्ना देशका नागरिकले एक किलो तौल घटाएबापत नेपाललाई ३० पाउन्ड (करिब ३ हजार रुपैयाँ) दिएकी हुन् । अहिलेसम्म अभियानमा २३ हजार ५ सय फिनल्यान्डवासीले भाग लिएका छन् ।
कार्यक्रम सुरु गर्दा प्रतिकिलो तौल कम हुँदा १५ युरो (१५ सय) दिने घोषणा भए पनि पछि दाताले ३० युरो दिन थालेकी हुन् । ती महिला को हुन् भन्नेबारे भने दूतावासले जानकारी दिएको छैन । 'उनले आफ्नाबारे कसैलाई नभन्नु भनेकाले सार्वजनिक गर्न सक्दैनौं,' सातुले भनिन् ।
नेपालले पाएको रकम र सहभागी आधारमा हरेक व्यक्तिले यस अवधिमा करिब २ किलो तौल घटाएको देखिन्छ । यसरी तौल कम गर्न चाहने व्यक्तिका लागि त्यहाँको प्रोटेस्टेन्ट चर्चमा कार्यक्रम आयोजना गरिएको सातुले बताइन् । 'सुरुमा र तौल घटेपछि नाप लिएका आधारमा घटेको तौल बराबर रकम नेपाललाई दिइएको हो,' उनले भनिन् ।
'एकै गोलीले दुई सिकार' भन्ने उखानजस्तै यो कार्यक्रम सुरु गरेकी ती महिला नोभेम्बरमा नेपाल आएकी थिइन् । तर सुटुक्क फर्केको कसैले पत्तो पाएनन् । सम्भवतः संसारकै नौलो यस कार्यक्रमबाट पाइएको रकम खर्च गर्ने खाका सरकारले बनाइरहेको छ । 'यो रकम विशेषगरी बालिकाको शिक्षामा पहुँच बढाउन खर्च गरिनेछ,' अर्थ सचिव रामेश्वर खनालले भने ।
शिक्षा विभागले चालू आर्थिक वर्षमा उपलब्ध सहयोगमध्ये ५ करोड रुपैयाँ विभिन्न तीन जिल्लामा खर्च गर्ने योजना बनाएको छ । 'गुणस्तरीय शिक्षा, शिक्षक तालिमलगायत कार्यक्रममा खर्च गर्ने योजना छ,' विभागका महानिर्देशक लवदेव अवस्थीले भने । व्यक्तिगत सहयोग भए पनि फिनल्यान्ड सरकारले नेपालको शिक्षा क्षेत्र सुधारमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) का लागि फिनल्यान्डले यो आर्थिक वर्षका लागि ३० लाख युरो (करिब ३० करोड रुपैयाँ) दिएको छ । जसमा ७ करोड ५० लाख रुपैयाँ प्राथमिक विद्यालय क्षेत्रमा र २२ करोड ५० लाख रुपैयाँ व्यावसायिक तालिमका लागि दिएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग