Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमा तिमी बाँची रहनुपर्छ

Published on 7:03:00 PM //

निराश बिरही "रेशम श्रीस"
देश लुटिँदै छ, आमा
सिमाहरु मिचिँदै छन, आमा
यो देख्ने म मात्र हैन 
यो सुन्ने म मात्र हैन, आमा
मसँगै अरुले नि देखेका छन्
मसँगै अरुले नि सुनेका छन्
तै पनि कुनै आवाज उठ्दैनन्
आवाजका कोही जवाफ दिँदैनन्

हेर्नुस् न महाकाली लगे
टनकपुर नि लगे, आमा
कहिले पूर्व, कहिले पश्चिम गर्दै
हामीलाई आफ्नैले ठगे, आमा
राष्ट्र हाँक्ने राष्ट्रनायकले
धेरै पल्ट सम्झौतामा
आफ्नै आँगन बेचे, आमा
हिजो सम्म नझुकेको शिरलाई
झुकाएर अचेल उनिहरुले
आफ्नै स्वाभिमान बेचे, आमा
पश्चिममा किल्ला कांगडा
पूर्वमा टिस्टा पुगेथ्यो रे
अचेल त्यो सब छैन, आमा
देशको निम्ती मर्नेहरुलाई शहिद
लड्नेहरुलाई क्रान्तिकारी रे
ति मर्नेहरुलाई देश दुख्थ्यो रे
शत्रुले आँगनमा पाइला टेके
नाङ्गो खुकुरी टल्कन्थ्यो रे
त्यो बेला हरेक नागरिकहरुमा
राष्ट्र भक्ती झल्कन्थ्यो रे, आमा
त्यै भएर स्वाधिनताको लागि मरे
देशको शन्तिको लागि लडे
स्वतन्त्रता अनी बिकासको लागि
शरीरका थोपाथोपा रगत समर्पण गरे
आफ्नै हकहितको लागि लडदा
आफ्नै दाजुभाइको शत्रु भएछु
मेरो निशानामा शत्रुहरु थिए
उनिहरुको निशानामा म रहेछु
जे भए नि, जो रहे नि
तिम्रै छोराहरु रहनेछन्, आमा
एक कपुत या दश सपुत
तिम्रा छोराहरु छोरै रहनेछन्,आमा
मैले शान्ती,बिकास रोज्दा
आफ्नैले प्रहार गरे शिरमा
तर, आमा तिमी नरुनु पिरमा
सपुतहरु मरेर गए,शहिद भए
त्यै पनि आमा रहनुपर्छ
हाँसी रहनुपर्छ
फेरी शुरवीरहरु जन्माउन
सपुतहरु जन्माउन
आमा तिमी बाँची रहनुपर्छ
रगतले रङ्गिएर
या बरुदे धुँवामा रुमालीएर
जसरी भए नि, आमा
तिमी बाँची रहनुपर्छ
हिमालको शितलतासँगै
डाँफे मुनाल झैँ शान्त रहेर
मेरो देश बाँचि रहनुपर्छ
आमा तिमी बाँची रहनुपर्छ......

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग