Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवैको मन धड्कायो मुसिकोटे सरायँले

Published on 5:17:00 PM //

पी.एम.मगर
प्रथम गुल्मी महोत्सवको दोस्रो दिन गुल्मीको मुसिकोटे सरायँ नाँचले आज हजारौँ दर्शकको मन धड्काएको छ ।
तत्कालीन मुसीकोट राज्य अन्तर्गतको वडागाउँ गाविस र मुसीकोट गाविसवाट ऐतिहाँसीक मुसीकोट कोटमा हरेक वर्ष वडा दशैमा खेलीने प्रसिद्ध सरायँ नाँच लिएर आएका स्थानीयवासीले परम्परागत पोशाकमा ऐतिहाँसिक खुँडा, खुकुरी तथा तरवार सहित सदरमुकाम तमघास वजार परिक्रमा गरी महोत्सव स्थल तमघासको चिदिचौरभित्र पस्दा दर्शकहरुले तालीले स्वागत गरेका थिए । सरायँ नाँच देख्दा जिल्लावासीको त मन छुनु स्वभाविकै थियो तर जिल्ला वाहिरका दर्शकहरुको पनि ध्यान पनि त्यतैतिर तानिएको थियो ।
मुसिकोट दरबारका एतिहासिक हतियारहरु
प्रदर्शन गरिँदै । फोटो: घनश्याम गौतम  
विक्रम सम्वत १५५० सालमा भारतको राजिस्तानवाट आएका विजयसिहंले विना रक्तपात मुसीकोट राज्य विजय हासिल गरी मुसीकोट दरवार निर्माण गरेको र खड्गदेवीको पुजा गर्न शुरु गरेपछि सरायँ नाँचको शुरुवात भएको उक्त कोट पुजा व्यवस्थापन समितिका अध्यक्ष इन्द्रध्वज जिसीले वताउनुभएको छ । हाल सिह वंशका केही सन्ततिहरु वडागाउँ गाविस र अन्य गाविस एवं जिल्लाहरुमा छरिएपनि उनका सन्ततीहरुले सिँह वंशको परम्परा धान्ने क्रममा यो सरायँ नाँचलाई पनि जिवीत राख्ने काम गरिरहेका छन् । 
सिंह वंशको मात्र नभई त्यतिवेलै देखि सारु मगर, विभिन्न थरका ब्राम्हण, क्षेत्री, घर्ति, हमाल, विश्वकर्मा, परियार, लगायतका सवै जातजातीहरुको मौलिक संस्कृति वनेको सरायँ मुसीकोटे सरायँ नाँच जिल्लामै प्रसिद्ध रहेको छ । हरेक वर्षको वडादशैमा मुसीकोटमा र वडागाउँको वारुखा, मुसीकोटको जोगीथुममा भव्य रुपमा नाँच्ने गरिन्छ । जहाँ वाग्लुङ्ग जिल्लावाट समेत मेला भर्नेहरुको घुईचो लाग्ने गर्दछ । तर केही वर्ष यता प्रसिद्ध मुसीकोटे सरायँ नाँच लोपोन्मुख अवस्थामा पुगेको छ । वुढा पाकाहरुवाट सरायँ नाँचको महत्व तथा नाँच्ने तरिका नसिकी वर्तमान युवापिडी जथाभावी नाँच्ने, झैझगडा गर्दै जाँदा मुसीकोटे सरायँ नाँच लोप हुने अवस्थामा पुगेको कोट व्यवस्थापन समितिका सचिव हरीप्रसाद घिमिरेले वताउनुभएको छ । 
लोपोन्मुख अवस्थामा रहेको सराँय नाँचको संरक्षण तथा प्रचार प्रसारको महत्व झल्काउनका लागि महोत्सवमा उक्त नाँचको झाँकी प्रदर्शन गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद भण्डारीले वताउनुभएको छ । कयौँ ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति मञ्चमा हुँदाहुँदै पनि मुसीकोटे सरायँ नाँचले अधिकाँश दर्शकहरुको मन तानिरहेको देख्दा मञ्चमा आसिन निवर्तमान तमघास गाविसका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले यो सरायँ नाँच हिजोको उद्घाटन सत्रमा ल्याउन नपाएको प्रति पछुतो लागेको वताउनुभयो ।
धैरै मानिसहरु मिली सामुहिक गोलो घेरामा हातमा खुँडा, खुकुरी तथा तरवार जस्ता फलामका हतियार लिएर नाँचिने उक्त नाँचमा वर्षभरीको दुःख, पीरहरुलाई विर्सिएर रमाईलोका साथै भाईचार सद्भाव वाँड्ने गरिन्छ । भगवानको नाम लिएर यसरी सरायँ नाँच नाँच्दा सवै दुःख, पीर तथा रोगव्याधी सवै हराएर जाने पनि जनविश्वास रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग