Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिकी सदनमा नेपाली मूलका उम्मेदवार

Published on 1:37:00 PM //


नेपाली मूलका एक अमेरिकीले त्यहाँको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस' मा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको एक नम्बर डिस्ट्रिकबाट सन् २०१२ मा कंग्रेस सदस्य हुन डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिन लागेका हुन् ।
अमेरिकामा नेपाली मूलकाले उच्चस्तरको सार्वजनिक पदका लागि उम्मेदवारी दिएको यो पहिलो अवसर हो । बीस वर्षअघि इन्जिनियरिङ अध्ययनका लागि अमेरिका आएका रौनियार डेमोक्र्याट पार्टीका तर्फबाट काउन्टी र डिस्टि्रक लेबलमा  एक दशकदेखि सक्रिय छन् । उनी सन् २००८ मा पार्टीका तर्फबाट स्नोमिस काउन्टीको सदस्य चुनिएका थिए । पेसाले उनी व्यापारी हुन् ।
रौनियारले टेलिफोनमार्फत कान्तिपुरलाई भने, 'जितका लागि सबैका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायबाट सहयोगको अपेक्षा राखेको छु ।' आगामी वर्ष कंग्रेसका लागि वासिङ्टन राज्यबाट नौ सदस्य निर्वाचित हुनेछन् । रौनियारले चुनाव जिते क्यापिटल हिलमा कंग्रेसम्यानका रूपमा उनले सात लाख जनताको प्रतिनिधित्व गर्नेछन् ।
रौनियारको उम्मेदवारीलाई डेमोक्र्याटका तर्फबाट राज्य गभर्नरका उम्मेदवार जे इन्स्लीले समर्थन गरेको बताइएको छ । 'समर्थनबारे आगामी वर्ष मात्र औपचारिक निर्णय हुनेछ । तर पनि इन्स्लीको सदाशयता मप्रति छ,' रौनियारले भने । आगामी वर्षको अगस्टमा प्राथमिक एवं नोभेम्बरमा अन्तिम चरणको निर्वाचन हुनेछ ।
रायो ग्रान्ड युनिभर्सिटीमा अर्थशास्त्रका नेपाली प्राध्यापक डा. गोविन्द कोइरालाले रौनियारको उम्मेदवारीले नेपाली समुदायलाई उत्साही बनाएको बताए । उनले भने, 'यसले हामीले पनि यो देशमा केही गर्न सक्छौं भने सन्देश दिएको छ ।' वासिङ्टनमा सत्र प्रतिशत एशियाली मूलका अमेरिकीहरू रहेकोले रौनियारको उम्मेदवारी सशक्त हुनसक्ने कोईरालाको भनाई छ ।
अमेरिकी मूल्य मान्यता संरक्षणका लागि रौनियारले आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै हेल्थ केयर र रोजगार अभिवृद्धिलाई चुनावी मुद्दा बनाएका छन् । सोमबार आफ्नो उम्मेदवारी घोषणा गर्दै रौनियारले आफू सामान्य परिवारको सदस्यका रुपमा अमेरिका आएको बताए । आफ्नो उम्मेदवारी विज्ञप्तीमा रौनियारले पिता बिनाको बाल्यकालबारे उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'सानैमा पिताको निधनपछि म र बहिनीलाई हुर्काउन आमालाई दुख्ख भएको थियो ।'
काठमाडौंमा हाईस्कुल र कलेजको अध्ययनपछि अमेरिकामा आएका रौनियारले सन १९९२ मा इलेक्ट्रोनिक्स ईन्जिनियरमा अध्ययन पुरा गरेपछि सन १९९८ मा एमबीए गरेका थिए ।  त्यसपछि आईटी ईन्डस्ट्रीमा काम गरेका उनले सन् २००४ मा आफनै कम्पनी खोलेका थिए । कम्प्युटर पार्ट सम्बन्धी, त्यसमा पनि बिशेषत कम्प्युटरका मेमोरी कार्डको व्यापारमा सक्रिय रौनियारको व्यापार अमेरिकाका बीस राज्यमा विस्तारित छ ।
उनी, एक दशकदेखि डेमोक्रयाट पार्टीका तर्फबाट  स्थानीय, राज्य र केन्द्रिय तहकै पार्टीका उम्मेवारहरूको चुनावी अभियानमा सक्रिय थिए । सन २००८ मा राष्ट्रपतिका उम्मेदबार बाराक ओमाबाको चुनावी अभियानमा पनि उनी सक्रिय थिए । रौनियार सियाट्लमा पत्नी र दुई छोरा सँग वस्दै आएका छन् ।
-ईकान्तिपूरबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग