Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आकृतिलाई तान्न झुम्मिए कलेजहरू

Published on 3:06:00 PM //


मकर श्रेष्ठ 
एसएलसीमा ९४.२५ प्रतिशत ल्याएकी कटुन्जेकी आकृति पाण्डेलाई भेट्न मंगलबार दिनभर राजधानीका नाम चलेका कलेजहरूको घुइँचो लाग्यो । पेन्टागन, नासा, पिरामिड, सीसीआरसी, युनिभर्सल, लिभरपुल, ह्वाइट गोल्डलगायत कलेजका प्रतिनिधिले उनी पढेको ओम सेकेन्डरी स्कुल कटुन्जे पुगेर आकृतिलाई आफ्नो कलेज भ्रमणको निम्तो दिएका थिए ।
'एक चोटि आएर हाम्रो कलेज हेरिदिनु भनेर कलेजका प्रतिनिधिहरूले निम्तो दिनुभएको छ, पढ्नै पर्छ भनेर दबाब दिएका छैनन्,' उनले भनिन्, 'कुन कलेज पढ्ने भन्ने निधो मैले गरेकी छैन ।'
उनले ८ सय पूर्णाङ्कमा ७ सय ५४ अंक ल्याएकी छन् । उनको जति अरू कसैले अंक ल्याएको हालसम्म नपाइएपछि उनलाई फोनमा र भेटेर बधाई दिनेको ओइरो लागेको छ ।
'फोन उठाएर साध्य छैन, कहिले मामुको मोबाइलमा कहिले दाइको मोबाइलमा फोन आउँछ,' उनले भनिन्, 'भेट्न आउने आफन्त र शुभचिन्तक पनि उत्तिकै छन् ।' छोरीले धेरै नम्बर ल्याएपछि आकृतिका आमा मुना र बुबा सानुभाइमा हर्षको सीमा छैन । पत्रकार र कलेजका प्रतिनिधिले बारम्बार भेट्न आए पनि आमा-छोरी दिनभर विद्यालयमा थिए । 'छिन-छिनमै छोरीलाई खोज्दै आउँछन्, त्यही भएर पायक पार्न विद्यालयमा बसेका हौं,' मुनाले भनिन् । समयतालिका मिलाएर पढेकै कारण राम्रो अंक ल्याउन सफल भएको आकृतिले बताइन् ।
'घोकेर राम्रो नम्बर आउँछ भन्ने होइन, समयतालिका मिलाएर पढ्नुपर्छ, कोर्सको विषयसँगै बाहिरी ज्ञान पनि हुनु जरुरी छ,' उनले भनिन्, 'सर्वोत्कृष्ट हुन्छु भन्ने त सोचेको थिइनँ, ९० प्रतिशत कट्नेमा ढुक्क थिएँ ।'
आठ कक्षाको जिल्लास्तरीय परीक्षामा पनि उनी जिल्ला प्रथम भएकी थिइन् । सेन्डअप परीक्षामा जिल्ला चौथो भएकी थिइन् । डाक्टर बन्ने लक्ष्य लिएकी उनी साइन्स पढ्न बि्रजकोर्स गरिरहेकी छन् ।
उनको सफलताले आकृतिको परिवार मात्रै नभई विद्यालय र सिंगो भक्तपुरवासीमा खुसियाली छाएको छ । खुसियालीमा विद्यालयमा मंगलबार दिनभर नाचगान भएको थियो । विद्यालय वरिपरिका बासिन्दा पनि नाचगान हेर्न झुम्मिएका थिए । 'आकृति सर्वोत्कृष्ट हुनु भनेको सिंगो भक्तपुरले शिक्षा क्षेत्रमा फड्को मारेको हामीले लिएका छौं,' प्याब्सन भक्तपुरका उपाध्यक्ष राजकुमार महर्जनले भने, 'भक्तपुरमा स्तरीय विद्यालय छैन भन्नेलाई यो नतिजाले चुनौती दिएको छ ।' आकृतिबारे समाचार आएपछि विद्यालयकी पि्रन्सिपल सानु घिमिरेलाई पनि बिहानैदेखि बधाई लिन भ्याईनभ्याई थियो । उनले भनिन्, 'आकृतिले मेरो र स्कुलको सपना पूरा गरिदिइन् ।' ३५ विद्यार्थीले परीक्षा दिएकामा यो विद्यालयबाट १२ विशिष्ट र २३ जना प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी खेलकुदमा पनि रुचि राख्छिन् । गत वर्षको राष्ट्रपति कप भलिबलमा उनको टिम प्रथम भएको थियो । उनका पिता कृष िविकास बैंकमा कार्यरत छन् भने आमा गुन्डुको ज्योति निमाविकी शिक्षकिा हुन् । दाइ पुल्चोकमा इन्जिनियरिङ विषय पढ्दै छन् ।
आकृतिको एक दिन
बिहान सबेरै उठें । उत्कृष्ट नम्बर आएको हो कि होइन भन्ने कौतूहल रातभरि भयो । निद्रा लागेन । बिहानै आत्मा अधिकारी भन्ने साथीले फोन गरेर तिमी त नेपाल टप भएछौ पत्रिकामा छापिएको छ भनिन् । त्यसपछि खुसीको सीमा रहेन । केही खान मन लागेन । स्कुल गएर कहिले म्याडमलाई भेटांै जस्तो लाग्यो । घरको फोन र मोबाइलमा बधाई आउन थाल्यो । चिया मात्रै खाएर साढे सात बजे नै ममी र म स्कुलमा गयौं । घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । पुग्नासाथ म्याडमले अँगालोमा बाँध्नु भयो ।
बधाई दिन स्कुलका भाइबहिनी पनि आए । दिनभर स्कुलमा बित्यो । अन्तर्वार्ता लिन सञ्चारमाध्यमहरू पनि आए । खाना खान घर जानसमेत फुर्सद मिलेन । राजधानीका नाम चलेका कलेजका प्रतिनिधिहरू पनि आएका थिए । उहाँहरूले जहाँ पढे पनि आफ्नो कलेजको एकपल्ट अवलोकन गरिदिन आग्रह गर्नुभएको छ । बल्ल साँझमा विद्यालयबाट घर फर्किन पाएँ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग