Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा मात्र महिनाकै १२ भन्दा बढी नेपालीको मृत्यु

Published on 10:53:00 AM //

छत्र कार्की, दोहा (कतार), असार २२- रुकुमबाट काम गर्न कतार पुगेका मानबहादुर पुन (४०) असार ११ गते राति खाना खाएर सुते। भोलिपल्ट बिहान ६ बजे नै काममा जानुपर्ने उनी उठ्नै सकेनन्। ३१ महिनाअघि यो मरुभूमिमा पाइला टेकेका उनी सुरुदेखि नै दोहा मैजारस्थित इलाइट इन्जिनियरिङ कम्पनीमा 'लेबर' को काम गर्दै आएका थिए। कम्पनीकै शिविर (कामदार बस्ने ठाउँ) मा उनीलगायत अन्य सात नेपाली एउटै कोठामा सुत्थे। बिहान उठेर तीनजना काममा गए। सुतिरहेको ठानेर कसैले उनको ख्यालै गरेन। राति ड्युटी परेका तीन जना फर्किसकेकै थिएनन्।

दुई घन्टा बितिसक्दा पनि पुन काममा नगएपछि कम्पनीका सुपरभाइजरले सोधिखोजी गरे। लगत्तै केही कामदार शिविर फर्किए। कोठामा पुगेर हेर्दा पुन चीरनिद्रामा थिए। सहकर्मीका अनुसार मृत्युअघि पुनलाई कुनै स्वास्थ्य समस्या थिएन।
उनका सहकर्मी राजेन्द्र कुँवरका अनुसार हृदयाघातले उनको मृत्यु भएको स्थानीय अस्पतालले पुष्टि गरेको छ। केही दिनभित्रै पुनको शव नेपाल पठाउने तयारी गरिएको छ। कुँवर भन्छन्, 'बेलुका दुरुस्त मान्छे बिहान त्यस्तो फेला पर्दा पत्याउनै गाह्रो, अरू ठाउँमा पनि यस्ता धेरै घटना भएका छन्।'
कतारस्थित नेपाली दूतावासका अनुसार जुनमै कतारमा १३ नेपाली कामदारको मृत्यु भएको छ। जनवरीयता प्रत्येक महिना १२ भन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ।
हृदयाघात, औद्योगिक तथा सडक दुर्घटना, डुबेर, आत्महत्यालगायत कारणले नेपालीको मृत्यु हुने गरेको दूतावासले जनाएको छ। जुनमा मृत्यु भएका १३ मध्ये सातजना हृदयाघातको सिकार भएका थिए। दूतावासको तथ्यांकअनुसार कतारमा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु हृदयाघातले हुने गरेको छ। यस वर्ष जनवरीमा ५, फेब्रुअरीमा ५, मार्चमा ६, अप्रिलमा ११, मेमा १३ नेपाली कामदारले हृदयाघातका कारण ज्यान गुमाइसकेका छन्।
राजदूत सूर्यनाथ मिश्रका अनुसार कतारमा रहेका विभिन्न मुलुकका कामदारमध्ये मृत्यु हुने नेपालीको संख्या बढिरहेको छ। उनी भन्छन्, 'कामदारले ५० डिग्रीभन्दा बढी तापक्रममा काम गर्नुपर्ने अवस्था छ, दिनभर तातोमा काम गरेर राति अत्यधिक एसी चलाएर सुत्दा बेलुका मान्छे सुतेको सुत्यै भएका घटना धेरै छन्।' दिउँसो बाहिरको तापक्रम र राति कोठाको एसीको तापक्रमबीच धेरै भिन्नता हुने भएकाले पनि हृदयाघात भएको स्थानीय स्वास्थ्यकर्मीले सञ्चारमाध्यमलाई बताउँदै आएका छन्।

नेपाली कामदारलाई बढी हृदयाघात हुनुमा खानपान अर्को प्रमुख कारण रहेको स्थानीय अस्पतालले जनाएका छन्। 'चेतनाको कमीले कतिपय नेपाली कामदारले अखाद्य पेयपदार्थ पिउने गरेको भेटिएको छ,' स्थानीय स्वास्थ्कर्मीलाई उद्धृत गर्दै नेपाली दूतावासका कन्सुलर जय छाङ्छा भन्छन्, 'कतिपयले भुइँ सफा गर्न प्रयोग हुने 'ब्लुमुन' (जसलाई नेपाली खजुरबोटे भन्छन्) मा अल्कोहलबिनाको स्थानीय बियर मिसाएर पिउने गर्छन्, यसले शरीरमा तत्कालै असर गर्छ। त्यसै गरी सफाइका लागि प्रयोग हुने लुमा पनि खान्छन् जुन अति घातक हुन्छ।' प्रचण्ड गर्मीमा पनि नेपाली कामदारले चिल्लो-पिरो बढी खाने, सफाइमा प्रयोग हुने रसायनसमेत पेय पदार्थका रूपमा सेवन गर्दा थाहै नपाई रक्तचाप र मुटुसम्बन्धी समस्या देखिने गरेको छ।
यहाँका नेपाली कामदारमध्ये अधिकांश अदक्ष रहेकाले जोखिमपूर्ण शारीरिक श्रम गर्छन्। कतिपय नेपाली कामदारको ठूल्ठूला भवन निर्माणका क्रममा खसेर मृत्यु हुन्छ। ठूलो सपना देखेर कमाउन आएका कतिपयले हन्डर खेप्न नसकेपछि आत्महत्या गर्छन्। कतारमा आफ्नै कम्पनी चलाइरहेका इन्जिनियर इन्द्रराज अधिकारी भन्छन्, 'अदक्ष कामदारलाई नेपालबाटै आउने बेला म्यानपावर कम्पनीले चर्को रकम लिन्छन्, ऋण काढेर आएका युवाले भनेअनुसार काम र कमाइ नभएपछि 'डिप्रेसन' को सिकार भई आत्महत्या गर्छन्।'
दूतावासका अनुसार कतारमा सन् २००६ मा १ सय ४३, सन् २००७ मा १ सय ६२, सन् २००८ मा १ सय ७५, सन् २००९ मा २ सय २५ र सन् २०१० मा १ सय ९२ जना नेपाली कामदारको मृत्यु भइसकेको छ।
हृदयाघातपछि सडक-दुर्घटना नेपाली कामदारको मृत्युको दोस्रो कारण रहेको दूतावास बताउँछ। दूतावासका अनुसार प्रत्येक महिना २-३ नेपालीको सडक दुर्घटनाको सिकार हुन्छन्। कतारको सहरी क्षेत्रका चौडा सडकमा कार, बसलगायत सवारी साधन अत्यधिक तीव्र गति (१०० किमी प्रति घन्टाभन्दा बढी) मा दौडने भएकाले मनपरी बाटो काट्दा दुर्घटना हुने गरेका छन्। नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष रामहरि गैरे भन्छन्, 'नेपालबाट पहिलोपटक आएकालाई ट्राफिक सिग्नल, जेब्रा क्रसिङबारे थाहै हुँदैन, गाडी स्पिडमा आइरहेको हुन्छ, दौडेर बाटो काट्दा 'अन द स्पोट डेथ' भएका घटना पनि छन्।' कतारको ट्राफिक नियमबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके दुर्घटना कम गर्न सकिने उनी बताउँछन्।
आप्रवासी नेपाली कामदारको सुरक्षित बसाइबारे सरकारले जागरणमूलक कार्यक्रम नल्याउँदा वर्षेनी खाडी मुलुकमा सयौं नेपालीले अकालमा ज्यान गुमाएको दोहाका इन्जिनियर राधाकृष्ण देव बताउँछन्। उनी भन्छन्, 'विदेशबाट यति रेमिट्यान्स आउँछ भनेर नाक फुलाउने, बर्सेनि खाडीमा ८ सय कामदारको मृत्यु हुँदा पनि कानमा तेल हालेर बस्ने यो कस्तो सरकार हो?'
सरकारले तीन वर्षअघि विदेश जाने नेपाली कामदारले भोग्नुपर्ने समस्या तथा वैदेशिक रोजगारीमा देखिएका गलत प्रवृत्ति हटाउन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड गठन गरे पनि काम प्रभावकारी भएको छैन। सरकारले कतारस्थित दूतावासमार्फत् नेपाली कामदारको सुरक्षित बसाइबारे कार्यक्रम सञ्चालन गर्नुपर्ने त्यहाँका नेपालीको माग छ। सीमित स्रोत-साधन भए पनि नेपाली कामदारका हितमा सकेसम्म धेरै काम गरेको राजदूत मिश्र दाबी गर्छन्। दूतावासका अनुसार अहिले कतारमा ३ लाख ५५ हजार नेपाली कामदार छन्।
नागरिकन्युज डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग