Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'फेसबुकले नै हो मेरो परिवार बिगारेको'

Published on 7:25:00 AM //

मार्क जुकरवर्गले सात वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ साइट फेसबुकले उनलाई विश्वकै सबैभन्दा कान्छा धनाढ्य व्यक्ति बनायो। उनको सम्पतिले गुगलका संस्थापकहरुको सम्पतिलाई समेत उछिनिसक्यो। यो नेपालमा पनि सबैभन्दा बढी हेरिने साइट हो। फेसबुककै माध्यमबाट कतिले आफ्ना बिछोडिएका साथीहरु भेट्टाएका छन्। तर के सँधै फेसबुकले फाइदा मात्रै गर्छ त? फेसबुकको फन्दामा परेर जीवन भताभुङ्ग हुनेहरु पनि छन्। त्यस्तै अनुभव सुनाउँदैछन् एक जना-


म आफूलाई शिक्षित, स्मार्ट केटा ठान्छु। म राम्रो पिता हुँ र मायालु पति हुने कोशिश गरिरहेको थिएँ। म रक्सी पनि खान्नँ। रातबिरात केटाहरुसँग ह्याङआउट गर्ने बानी पनि छैन मेरो। केटीहरुसँग बढी हिमचिम त कहिल्यै भएन बिहेपछि रात बिताउने त कुरै छाडिदिउँ। मेरो जीवन वास्तवमा मेरी श्रीमती र बच्चाहरुको घेरामा नै घुम्छ। मैले सोचेको मेरो जीवन पनि यस्तै हो। निरस मान्छे? ठीकै छ, म त्यो आरोप स्वीकार्न तयार छु तर मेरो नैतिक मूल्यमान्यता यही हो। त्यसो भए कसरी मेरी श्रीमतीले मलाई पारपाचुके दिन मुद्दा दर्ता गरिन् त? मेरा जुम्ल्याहा छोराहरु, जो मेरो संसार हुन्, उनीहरु श्रीमतीसँग नै बसिरहेका छन्। कसरी भयो त यो सब? फेसबुकले।
जीवन राम्रैसित चलेको थियो। म आफ्नो कम्पनीमा अर्को लेभलमा भर्खरै उक्लिएको थिएँ। मेरी श्रीमतीलाई मैले एउटा नयाँ कार किनिदिएको थिएँ जसलाई उनले निकै रुचाएकी थिइन्। बच्चाहरुले पनि स्कूलमा राम्रै गरिरहेका थिए। यत्तिकैमा मेरी श्रीमतीले फेसबुक चलाउन थालिन् र त्यसमा उनी डुब्न थालिन्। त्यसपछि त हाम्रो रातिको गफ नै उनको स्टायटस अपडेट हुन पुग्यो। उनको परिवार र पुरानो साथीहरुको बारेमा कुरा हुन थाल्यो। तर उनले कहिले पनि आफ्नो स्कूल पढ्दाताकाको आफ्नो प्रेमीसित फेसबुकको माध्यमबाट पुनः सम्पर्क भएको बताइनन्।
गएको नोभेम्बरमा विदा सुरु हुनुभन्दा अगाडि मैले ध्यान दिन थालेँ कि मेरी श्रीमतीले एउटा महँगो खालको परफ्युममा विशेष रुचि लिन थालेकी छिन्। दिउँसो लन्च ब्रेकका बेला मैले उनलाई फोन गर्दा उनको मोबाइल फोन भ्वाइस मेलमा जान्थ्यो। मैले फेरि फोन गर्थे, फेरि भ्वाइस मेलमा जान्थ्यो।
मैले ध्यान दिन थालेँ कि हाम्रो रोमान्टिक समय कम हुन थालेको छ। मैले मायाले अंगालो हाल्न खोज्दा वा किस गर्न खोज्दा उनी तर्कन्थिइन्। उनले आफू तनावमा रहेको वा व्यस्त भएको बहाना बनाउँथिइन्। एकदिन उनले डाक्टरले पाठेघरमा समस्या रहेको बताएको र त्यसका कारण सेक्स गर्न गाह्रो हुने बताइन्। मैले कहिले पनि उनलाई दबाब दिइनँ।
गत फेब्रुअरीमा म अफिसमा रहँदा नै उनले बिहानै फोन गरेर लन्चका बेला भेट्न भनिन्। मैले हुन्छ भनेँ। हामी अक्सर लन्चका बेला भेट्थ्यौँ, त्यसैले यो कुनै ठूलो कुरा थिएन। यो भ्यालेन्टाइन डेको दुई दिनअघिको कुरा थियो। हामी हाम्रो मन पर्ने लन्च खाने ठाउँमा गयौँ र त्यहीँ उनले यो खबर दिइन्। उनले फेसबुकबाट आफ्नो स्कूल पढ्दाताकाको प्रेमी भेटेको र प्रेममा फँसेको बताइन्। पक्कै पनि यो कुरा सुनेपछि म छाङ्गोबाट खसे झैँ भएँ। मेरो वरपरको जमिन भास्सिएको जस्तो भयो। सोच्न थालेँ, मैले के बिराएँ? मैले त आफूलाई राम्रै मान्छे ठानेको थिएँ र सबै कुरा राम्रै भइरहेको ठानेको थिएँ। हामी जस्ताको जीवनमा यस्तो बज्रपात त हुँदैन थियो।
आठ वर्षसम्म मेरी श्रीमतीका रुपमा रहेकी थिइन् उनी, किन अकस्मात् उनले मलाई छाड्न चाहिन्? हाम्रो दाम्पत्य जीवन भर्खर त सुरु भएको थियो। सबै कुरा अझै नयाँ थियो। सबै कुरामा नयाँ आशा थियो। अनि हाम्रा छोराहरु नि? उनीहरुको के हुने?
उनले आफू अलग्गिने र छोराहरुलाई साथै लिएर जाने बताइन्। त्यो केटा अविवाहित रहेछ र परिवारै पाल्ने बताएको रहेछ।
मैले मलाई छाड्नुको कारण सोधँे, उनले कारण केही नभएको बताइन्। उनले यति मात्र भनिन्, म आफ्नो स्कूले प्रेमीलाई सँधै माया गर्थेँ। उनलाई माया गर्नबाट रोक्न कहिल्यै सकिनँ। म त उसको लागि सान्त्वना पुरस्कार जस्तो मात्रै रहेछु।
मेरी श्रीमती र छोराहरु अहिले त्यही केटासँग बसिरहेको छ। छोराहरु समझदार छन् र स्थिति अनुकूल बसेछन्। हरेक महिनाको दुई सप्ताहान्त म आफ्ना छोराहरुसँग बिताउन पाउँछु। साँच्चै निकै दिक्क लाग्छ, सबै कुरा सम्झँदा। मेरो परिवार, मेरो घर टुक्रँदा म आफूलाई सम्हाल्न सकिरहेको छैन।
म त अहिले हारिसकेको लडाइँ लड्दैछु। यो लडाइँ फेसबुकले सुरु गरेको हो। म फेसबुकलाई घृणा गर्छु। घरपरिवार बिगार्ने दुष्ट फेसबुकको प्रयोग म कहिल्यै गर्दिनँ। फेसबुकले नै हो मेरो परिवारलाई बिगारेको। जजसले फेसबुकले विवाहित जीवन टुक्राउँदैन भनेर भन्छ, उनीहरु गलत छन्। गलत मात्रै हैन पूरै गलत छन्। फेसबुक हानिकारक छ। मलाई एउटै कुरामा मात्र पछुतो छ, मैले मेरी भूतपूर्व श्रीमतीले फेसबुक अकाउन्ट खोल्ने बित्तिकै त्यसलाई बन्द गर्न दबाब दिइनँ, जसका कारण अहिले मैले यस्तो भोग्नुपर्‍यो।
(फेसबुकपीडित एक अमेरिकी पतिले रुथ म्यानुएल लोगानलाई बताएको आत्मवृत्तान्त)


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग