Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दर्शक भन्दा श्रीमती हँसाउन सजिलो

Published on 5:16:00 PM //

‘मह’ अर्थात् मदनकृष्ण र हरिवंशलाई आदर्श मान्ने सीताराम कट्टेल (धुर्मुस) मह निर्देशित ‘कान्तिपुर’ टेलिशृङ्खलाबाटै हास्यव्यङ्ग्य कलाकारितामा लाग्ने प्रेरणा प्राप्त गरेका थिए । विद्यालयमा शिक्षकको ‘क्यारिकेचर’ गर्दा रामधुलाई पाएका सीताराम एसएलसी उत्तीर्णपछि कलाकार बन्ने उद्देश्यले दरबार हत्याकाण्ड भएकै दिन काठमाडौँ उत्रिएका थिए । कलाकार बन्नकै लागि भौँतारिने क्रममा बल्लतल्ल ‘झमेला’ टेलिमा प्रहरीको भूमिका गर्न पुगेका सीतारामले सलाम हान्न नजान्दा निर्देशक मुकुन्द बस्ताकोटीको झापड भेटेका थिए । हास्य शृङ्खला ‘मेरीबास्सै’ मा ‘धुर्मुस’ भूमिकाबाट ख्याति कमाएका सीतारामलाई अचेल गाईजात्रे चटारो छ । राजनीतिक दलका नेताहरूको ‘क्यारिकेचर’ गर्दै आएका सीतारामसँग गरिएको सङ्क्षिप्त संवाद-
नेताहरूको नक्कल गर्दा गाली गर्दैनन् ?
गाली हैन, मजा नै मान्छन् । आफ्नै नक्कल हेरेर एकपल्ट केपी ओलीले धाप मार्दै ‘मेरो प्रचार गर्नुभएकोमा धन्यवाद !’ भने ।
‘क्यारिकेचर’ गर्न सबैभन्दा कुन नेताको सजिलो ?
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ।
गाह्रो नि ?
पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री डा.बाबुराम भट्टराईको ।
गाईजात्रे चटारो लागेको छ, हैन ?
अँ, लाग्नैपर्‍यो नि ! गाईजात्रा हाम्रो परम्परा पनि हो ।
हँसाउन कतिको सजिलो छ ?
काँ सजिलो हुनु, धेरै गाह्रो छ । बाउकै बिहे देखिन्छ नि ! त्यहीमाथि अहिलेका दर्शकलाई स्टेजमा हँसाउन गाह्रो छ । काउकुती नै लगाउनुपर्छ ।
दर्शक हँसाउन सजिलो कि श्रीमती ?
एक्ली श्रीमती हँसाउन सजिलो नि ! दर्शक धेरै हुन्छन् ।
रिसाएकी श्रीमतीलाई कसरी हँसाउनुहुन्छ नि ?
रिसाएर धुम्म कोठामा बसेको बेला, ढोकाबाट चियाएर ‘सुन्तली’ भन्दिनुपर्छ । हाँसिहाल्छे ।
‘एबीसी’ मा भन्नुस् त, तपाईं कुन स्तरको हास्यकलाकार हो ?
म त सिक्दै गरेको कलाकार हो । ‘ए’ मा पनि पुगेको छैन, ‘सी’ मा पनि छुइनँ ।
घाँटी तन्काएर, मुख बङ्ग्याएर नेपाली दर्शक कतिदिन थेगिएला ?
यो कुराचाहिँ ‘क्यारेक्टर’ मा भर पर्छ । पात्रको यथार्थ चित्रण गर्दा घाँटी तन्काउनै पर्ने हुन्छ, मुख बङ्ग्याउनै पर्ने हुन्छ । सामाजिक परिवेशका चरित्रहरू त्यस्तै हुन्छन् ।
नेपालका पार्टीहरू फुटेजस्तै धुर्मुस र माग्नेबूढा फुटेको हल्ला छ नि ?
त्यो हल्ला मात्र हो । भाइरस छिरेपछि पार्टीमा फुट हुन्छ तर हामीमा भाइरस छिरेको छैन ।
हास्यकलाकारहरू नेता, सांसद र व्यापारीहरूलाई मात्र किन तारो बनाउँछन् ?
उहाँहरूले गतिविधि नै त्यस्तै सञ्चालन गर्नुहुन्छ, जनविरोधी । देश बनाउन गाकाहरू आफै बनेपछि के गर्ने ?
तपाइंहरूका संवादभन्दा पनि दृश्यले बढी हँसाउँछन् किन ?
स्वच्छ मनोरञ्जनका लागि जतिसक्यो हँसाउने योजनामा त्यस्तो भएको हो । हामी जसरी पनि दर्शक हँसाउनेमा ध्यान दिन्छौँ ।
मञ्चमा कार्यक्रम गर्दा दर्शक पटक्कै हाँसेनन् भने के गर्नुहुन्छ ?
हाहाहा….साह्रो अप्ठेरो पर्छ नि ! तर यसपल्ट त्यस्तो छैन । दर्शकलाई खुबै हँसाउने योजनामा छौँ ।
जनताको बीचमा नेता, सांसदलाई बद्नाम बनाउन हास्यकलाकारको भूमिका बढी छ रे नि ?
हाहाहा…त्यस्तो हैन । नेताहरूलाई कहिल्यै बद्नाम गरेनौं हामीले बरु उहाँहरूले नै देशको बद्नाम गरे ।
हँसाउने पेसामा नआएको भए के बन्नुहुन्थ्योः?
चित्र बनाउने कलाकार बन्थेँ । मैले त्यागेको र गुमाएको भनेकै मभित्र रहेको चित्रकलाप्रतिको मोह अनि क्षमता नै हो ।
प्रस्तुतिः दीपक विहीन, अनलाइन खबर डट कमका लागि

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग