Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्गहरुको सहयोगार्थ लण्डनमा च्यारिटी

Published on 3:40:00 PM //

केशव भण्डारी/शिव भण्डारी 
गुल्मी जिल्ला समाज यूकेले नेपालमा अपाङ्गहरुको सहयोगार्थ लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने तयारी भइरहेको जनाएको छ । विश्व अपांग दिवसको अवसर पारेर आगामी डिसेम्बर ४ तारिख लन्डन प्लमस्टेडस्थित एसियन कम्युनिटी सेन्टरमा सांस्कृतिक कार्यक्रमसहित च्यारिटी डिनर कार्यक्रम गरिने भएको छ ।च्यारिटी डिनर कार्यक्रम तयारी समितिको बैठक गत सेप्टेम्बर १८ तारिख साउथइष्ट लन्डनस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न भएको छ । समाजका अध्यक्ष ओमप्रसाद थापाको सभापतित्वमा सम्पन्न बैठकले च्यारिटी कार्यक्रममा सहयोग गर्न सबैलाई अपिल गर्दै अन्य विभिन्न निर्णय गरेको छ ।समाजका महासचिव अर्जुन गौतमद्वारा सञ्चालित सो बैठकमा च्यारिटी तयारी समितिका संयोजकद्वय मोति भण्डारी र दुर्गा पाण्डेले कार्यक्रम तयारीबारे बैठकलाई अवगत गराएका थिए ।कार्यक्रम व्यवस्थित एवं उपलब्धिमूलक बनाउन बैठकले समाजका सदस्यहरु एवं सल्लाहकारहरुको कार्य विभाजन पनि गरेको छ । टिकट व्यवस्थापनका लागि फत्त थापा, यादव भण्डारी र दासुराम पाण्डे एवं सांस्कृतिक कार्यक्रमको जिम्मा विनोद ज्ञवाली र ओम गुरुङलाई दिइएको छ । खाना व्यवस्थापनको जिम्मा शिव भण्डारी, प्रताप रायमाझी र राजेन्द्र खरेललाई दिइएको छ भने चन्दा संकलन र चन्दादाताको व्यवस्थापनका लागि पशुपति भण्डारी, कमल भण्डारी र बालजंग अर्याललाई जिम्मा दिइएको छ । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति एवं स्वादिष्ट नेपाली खानपिनसहितको च्यारिटी डिनर कार्यक्रममा आशा अपांग केन्द्रकी अध्यक्ष गंगा रायमाझीको पनि उपस्थिति रहने आयोजकले बताएका छन् ।गुल्मी जिल्ला समाज यूकेको पाँचौं साधारणसभाले गरेको निर्णयअनुसार, गैरसरकारी सामाजिक संस्था आशा अपांग केन्द्रको सहयोगार्थ उक्त च्यारिटी कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ ।गैरसरकारी सामाजिक संस्था मेन्डको सीमित सहयोगमा सन् २००६ मा स्थापित आशा अपांग केन्द्रले गुल्मीसहित अन्य जिल्लाका असक्त, असहाय अपांगहरुको लागि विविध कार्यक्रम गर्दै आएको छ ।संस्थाले अपांगहरुका लागि कृत्रिम हात खुट्टा जडान गर्ने, कान नसुन्नेका लागि सुन्ने यन्त्र जडान गर्नेलगायत औषधि उपचारका लागि पनि सहयोग गर्ने गरेको छ भने असहाय बालबालिकालाई आफ्नै निगरानीमा आशा अपांग केन्द्रमा राखेर सहयोग गरिरहेको छ । आशा अपाङ केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले विगतमा करिब पाँच लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराइसकेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग