Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विमानस्थलबाट सुर्ती लैजान नपाइने

Published on 3:14:00 PM //

प्रतिमा बाँसकोटा
सुरक्षाको कारण देखाउँदै प्रहरीले खैनी, सुर्ती, चुरोट, गुट्खा जस्ता पदार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लैजान नदिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा महाशाखाले यस्ता पदार्थहरू लैजान प्रतिबन्ध लगाएको हो ।
विमानस्थल सुरक्षा प्रमुख डिआइजी नारायण बस्ताकोटीले यस्ता पदार्थको गैरकानुनी तस्करी हुने गरेको र विमानस्थल सुरक्षामा समेत खतरा हुन सक्ने देखिएकाले रोक लगाइएको बताए । उनले खाडी देशमा कामदारका रूपमा जानेहरूसँग यस्ता पदार्थ धेरै देखिएकाले उनीहरूकै लागि समेत खतरा हुनसक्ने उनको भनाइ छ ।
खैनी, सुर्ती जस्ता सामान ओसारपसार गर्ने काममा गिरोह संलग्न रहेको उनको दाबी छ । 'विमानस्थलको मेसिनले स्क्यानिङ गर्दासमेत नदेखिने गरी गिरोहले कालो कार्बनमा र्‍याप गरेर पठाउने गरेको भेटियो' उनले भने, 'एउटा सामान भनेर सुरक्षाका दृष्टिले संवेदनशील सामान पनि र्‍याप गरेर पठाउन सक्ने भए, त्यसरी र्‍याप गरेको सामानमा विस्फोटक पदार्थ, लागूऔषध वा हतियार जे पनि हुनसक्छ ।'
गिरोहको माध्यमबाट यस्ता सामान लैजाने कामदार फस्न सक्ने उनको भनाइ छ । उनले अरूले दिएको प्याकभित्र के सामान छ भन्ने थाहा नपाई कुनै सामान पनि बोकेर नहिंड्न सर्वसाधारणलाई सुझाए । विमानस्थल प्रहरीले एक हप्तामा ६ सय किलोभन्दा बढी यस्ता पदार्थ बरामद गरेर भन्सारलाई बुझाएको छ । खाडीमा यस्ता पदार्थहरू सहजै उपलब्ध नहुने र महँगो पर्ने भएकाले गिरोहले यस्ता सामानहरू सप्लाइ गर्ने गरेको प्रहरीको भनाइ छ । विशेषगरी कतार, मलेसिया, दुबई र युएई जस्ता देशमा लैजाने गरेको प्रहरीको दाबी छ ।
'बंगलादेशी, नेपाली, कतारी र पाकिस्तानीले यस्ता पदार्थहरू बढी खोज्छन्' डिआइजीले भने 'यहाँभन्दा महँगो पर्ने भएकाले लैजाने गरेको
हो ।' गिरोहले विदेश जान लागेका कामदार बस्ने ठाउँ पत्ता लगाएर उनीहरूलाई फकाएर सामान पुर्‍याउन लगाउने गरेको प्रहरीको भनाइ छ । 'उनीहरू बस्ने होटल पत्ता लगाएर वा मेनपावर एजेन्टमार्फत् कामदारलाई अनुरोध गरेरसमेत सामान लैजाने गरेको भेटियो' डिआइजीले भने, 'पहिलो पटक भएकाले सबैलाई सूचित गराएर सामान नियन्त्रणमा लिंदै छाडेका छौं, यस्तो दोहोरिए कारबाही हुन्छ ।'
प्रहरीले बिहीबार कतार जान लागेका सिराहाका जगदीश यादवलाई झण्डै एक किलो खैनीसहित नियन्त्रणमा लिएको थियो । कालो कार्बनले र्‍याप गरेर बाहिरबाट टेप टाँसिएको उक्त पोको नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनले आफूलाई गाउँकै छिमेकीले कतारमा काम गरिरहेका छोरा जगतलाल मण्डलका लागि पठाइदिएको बताए । 'छोरालाई लगिदेऊ भनेर दिएको हो, भित्र के छ थाहा छैन' उनले भने, 'प्रहरीले यसरी सामान रोक्छ भन्नेसमेत थाहा थिएन ।'

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग