Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोबाइल फोनले जोडिदियो साईनो

Published on 9:01:00 PM //

शिब शर्मा
पर्वत बिहादी-८ बराहचौर घर भई पोखराको पस्र्याङ बस्दै आएका दिलबहादुर र भुवानी क्षेत्रीका कान्छा छोरा देवेन्द्र क्षेत्री कास्की भरतपोखरी, बाघमाराका कृष्णप्रसाद र मनकुमारी भण्डारीका ज्वाइँ बनेका छन् । उनले भण्डारी दम्पतीकी जेठी छोरी दीपिका भण्डारीसँग अन्तरजातीय प्रेमविवाह गरेका हुन् । नदेखे को हो को हो, देखेपछि माया मोह भनेझैं दुवैले तीन महिनाको छोटो प्रेमलाई वैवाहिक जीवनमा बदलेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीबेनी शिलालाई साक्षी राखेर उनीहरुले असोज १६ गते फूलपातीको दिन विवाह गरेका हुन् ।
छिटो विवाह गर्नुको कारण पनि छ उनीहरुको । दुवैजनाको प्रेमसम्बन्धको सुइँको पाएपछि केटीतर्फको परिवारले एक हप्तासम्म दीपिकालाई घरमा लगेर लुकायो । एक हप्तासम्म भेट नहुँदा बिहे हुँदैन कि भनेर दुवैजना निकै अतालिएका थिए । तर साँचो प्रेमलाई कसैले रोक्दैन भनेझैं दीपिका घरबाट भागेर आएपछि प्रेमसम्बन्धलाई स्थायी रूप दिन विवाह गर्ने निर्णय गरे । 'नत्र हामीले एकदुई वर्ष विवाह नगर्ने योजना बनाएका थियौं,' दुवैले एकसाथ भने, 'पारिवारिक असमझदारीले छिटो विवाह गर्न पुग्यौं ।' उनले भागेर चोखोमायालाई मूर्त रूपमा दिन विवाह गरेको बताए । तडकभडक नगरी सामान्य तवरले भगवान्लाई साक्षी राखेर उनीहरुले विवाह गरे । दुवैजनाले तडकभडकपूर्ण विवाहको आफूहरु विरोधी रहेको बताए । देवेन्द्रले भने, 'फजुल खर्च गरेर विवाह गर्नुको कुनै तुक छैन ।'
विवाहमा केटा पक्षका आमाबाबु बाहेक कोही थिएनन् । पोखराको सुनौलो रेडियोमा प्राविधिकको रूपमा कार्यरत १८ वर्षीया दीपिकाको लगनशीलताबाट प्रभावित भएका २२ वषर्ीय देवन्द्रले नै पहिलो पटक उनलाई प्रेमप्रस्ताव राखेका हुन् । पाँच महिनाअघि रेडियोमा कार्यक्रम सञ्चालकको रूपमा प्रवेश गर्दा देवेन्द्रले पहिलो पटक दीपिकालाई देखेका थिए ।
सुरुमा सामान्य बोलचाल र परिचयमा मात्रै सीमित रहेका उनिहरु राम्रो साथी पनि बने । देवेन्द्र र दीपिका एक हप्तामै एकअर्कोबीच अति नै नजिक भइसकेका थिए । प्रत्यक्ष भेटघाटमा मनको कुरा खोल्न नसकेका देवेन्द्रले एक रात राति १० बजे फोन गरेर दीपिकालाई प्रेमप्रस्ताव राखे । स्पष्टवक्ता र मिलनसार देवेन्द्रलाई दीपिकाले इन्कार गर्ने कुरै थिएन । दीपिकाले प्रेमप्रस्ताव स्वीकारेपछि उत्साही दुवैजनाले फोनमा बोलेको पत्तै पाएनन् ।
'राति १० बजेदेखि बोल्न थालेको हामी बिहान ५ बजेसम्म मोवाइल फोनमा बोलेछौं,' दुवैले फुर्तिसाथ भने, 'माया बसेपछि समय बितेको पत्तै पाएनौं ।' हो पनि यही मोबाइल फोनले नै उनीहरुको प्रेमसम्बन्ध गाँसियो । एकअर्कोको भावना बुझ्ने साथी पाएकोमा अहिले दुवैजना दंग छन् । कमर्समा स्नातक सकेका देवेन्द्र र पल्स टु सकेकी दीपिकाले र्फदर स्टडीका लागि विदेशी जाने योजनासमेत बनाएको बताए । विवाहपछि देवेन्द्र ससुराली जान नपाए पनि दीपिकालाई आफ्नै गाउँ लगेर दसैंको टीका लगाए ।
देवेन्द्रलाई दीपिकाको सबैजसो बानी मन परे पनि सानो समस्या पर्दा पनि रुने बानीचाहिँ मन पर्दैन । यता दीपिकालाई प्रष्ट बोल्ने देवेन्द्रको बानी मन पर्छ भने झट्ट रिसाउने बानी भने मन पर्दैन । जे भए पनि दुवैजना आफ्नो प्रेम सफल भएकोमा दंग छन् । 'हाम्रो प्रेम सधैंसधैं यस्तै रहिरहनेछ,' हँसिलो पारामा दुवैले भने, 'हामी दुवैको माया एकअर्कोको लागि बराबरी छ ।'

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग