Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कक्षा ९ मा छैन रोल नम्बर १३

Published on 2:41:00 AM //


शिवलाल सुवेदी
शिक्षक कक्षाकोठामा प्रवेश गर्छन् अनि विद्यार्थीको हाजिरी सुरु गर्छन्– रोल नम्बर १, २, ३… । रोल नम्बर १२ पछि आउनु पर्ने हो १३, तर रोल नम्बर १३ नै छैन हाजिरी रजिष्टरमा । यहाँको एक विद्यालयमा १३ रोल नम्बर भएका तिन जनाको ज्यान गएपछि ३५ वर्षदेखि अशुभ रोल नम्बर भन्दै हाजिरी रजिष्टरमा राखिएको छैन ।
संयोगले रोल नं. १३ भएका तिन विद्यार्थीको छुट्टाछुट्टै समयमा विद्यालयमै पढ्दै गर्दा मृत्यु भएपछि सदरमुकाम तम्घासको महेन्द्र उच्च माध्यमिक विद्यालयले कक्षा ९ को १३ रोल नं. लाई अशुभ मान्दै आएको हो ।
अशुभ भएपछि कक्षा ९ को रोल नं. १३ हाजिरीका समयमा उच्चारण गर्न छोडेको ३५ वर्ष पुगेको छ ।
विद्यालय परिषरमा रहेका नागको पूजा नगरेको र परिसरमा भेटिने सर्पहरू मार्ने गरेका कारण नाग रिसाएर १३ अंकलाई अशुभ बनाएको विद्यालयका शिक्षक र अभिभावकहरूको विश्वास रहँदै आएको छ । अशुभ अंक खाली राखेर नागको नियमित पूजा गर्न थालेपछि भने विद्यालयमा कुनै दुर्घटना नभएको विद्यालयको दावी छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य धन बहादुर श्रीसका अनुसार विद्यालयमा अध्ययनरत अर्खले–७ का ढुण्डीराज भण्डारीको २०२५ साउनमा परीक्षा दिंदै गर्दा पेट दुखेर, २०३१ सालमा तम्घास–१ का रमेश श्रेष्ठको विद्यालय परिसरमा फेला परेको सर्प मारेका कारण र २०३२ साल जेठमा तम्घास–१ कै कृष्ण पाण्डेको विद्यालयमै खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको थियो । विद्यालयका अनुसार उनीहरू तिनै जनाको कक्षा ९ मा रोल नं. १३ थियो ।
विद्यालयमा पढ्दै गरेका बेला विद्यार्थीहरूको मृत्यु भएपछि १३ अंक अशुभ भएको भन्दै अभिभावक, शिक्षक, विद्यार्थी सबैको सहमतिमा कक्षा नौमा जतिसुकै सेक्सन विभाजन गरे पनि रोल नं. १३ खाली राख्ने गरिएको प्राचार्य केशर बहादुर थापाले बताए । “थप विद्यार्थीको पनि ज्यान जान सक्ने खतरा बढेपछि खाली राख्दै आएका छौँ”, उनले भने–“अहिले त कक्षा नौमा पढ्ने विद्यार्थी र कक्षा शिक्षक सबैमा १३ अंक उच्चारण नगर्ने बानी परि सकेको छ ।”
रोल नं. खाली राख्ने र हरेक शुक्ल पञ्चमीका दिन नागको पूजा गर्ने गरेपछि विद्यार्थीको मृत्यु हुन छोडेको उनले बताए ।
लामो समयदेखि रोल नं. खाली राख्दै आएपछि अहिले पनि नयाँ भर्ना हुने विद्यार्थीहरूले मरिने डरले कक्षा ९ मा रोल नं. १३ लेख्न डराउने गरेका छन् ।
भर्नाका क्रममा क्रमसंख्या १३ परेमा त्यसलाई १४ लेखिने गरेको कक्षा ९ का कक्षा शिक्षक कृष्ण बहादुर कार्कीले बताए ।
“२०५५ सालमा कक्षा ९ मा भर्ना हुँदा मेरो क्रमसंख्या १३ नै प¥यो”, पूर्व विद्यार्थी शालिकराम पन्थीले भने– “विद्यालयमा र बाहिर समेत १३ रोल नं. पर्नेको मृत्यु हुने भन्ने सुनेकाले १४ बनाएको थिएँ ।”
पछिल्ला वर्षहरूमा हल्ला कम हुँदै गए पनि विद्यालयले अर्को विद्यार्थी वा अभिभावक फेरी मर्कामा पर्न सक्ने भन्दै रोल नं. १३ नराखिएको जनाएको छ । विद्यालयले मुख्य गेटमै नागको मन्दिर निर्माण गरेर नियमित पूजा समेत गर्दै आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग