Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेश छोडि खेतिपाती तिर, उत्पादित तरकारी बिदेशसम्म निर्यात

Published on 7:47:00 PM //


घनश्याम गौतम 
तीन चार वर्ष अगाडिसम्म पाल्पा र बुटवलको तरकारी बजारमा निर्भर जिल्लाका युवाहरूको सक्रियताले अहिले तिनै बजारहरूमा तरकारी बिक्री गरेर आम्दानी गर्न थालेका छन् । 

विदेशबाट फर्किएका र गाउँमै बेरोजगार बनेका दर्जनौं युवा व्यावसायिक तरकारी खेतीमा लागेका छन् । युवाकै सक्रियतामा उत्पादन हुने गरेको तरकारीसहितको कृषि उपज पाल्पा, बुटवल, पोखरादेखि भारतसम्म पुग्न थालेको हो । जिल्लामा उत्पादन भएको तरकारीसँगै अदुवा, कफि, बेसार, भारत र विदेशमा समेत निर्यात हुँदै आएको छ । 

कृषि विकास कार्यालयका अनुसार जिल्लामा युवाहरूले तरकारी उत्पादन सुरु गरेपछि बुटवल र पाल्पाबाट जिल्लामा आउने तरकारी पूरै विस्थापित भएको छ । तरकारी, अदुवा र दूधमा जिल्ला आफै आत्मनिर्भर भएको छ । जिल्लाका थानपति, रुद्रवेणी, ठूलोलुम्पेक, बलेटक्सार, शान्तिपुर, मजुवा, रूपाकोट, गौंडाकोट, अर्खले, सिमिचौर लगायतका स्थानहरूमा युवाहरू व्यवसायिक रूपमा तरकारी उत्पादनमा लागेका छन् । 

ठूलोलुम्पेकका युवा व्यवसायी हिमबहादुर कुँवरले हरेक सिजनमा २५ टनभन्दा बढी तरकारी पोखरा जाने गरेको बताए । कुँवर गाउँको पहिलो युृवा कृषक हुन् । 

अहिले उनको नेतृत्वमा तीन दर्जनभन्दा बढी युवा व्यवसायिक तरकारी उत्पादनमा लागेका छन् । 'विदेश जानुअघि र फर्किएपछि मैले पनि बुटवलबाट आएको तरकारी किनेरै खान्थें', कुँवरले भने, 'अहिले आफै उत्पादन गरेको तरकारी बिक्री हुन थालेको छ र रोजगारी पनि दिएको छ ।' बिक्रेताले दुःख अनुसारको तरकारीको मूल्य नदिंदा भने किसानहरू मर्कामा पर्ने गरेको उनले बताए । कुँवरकै सक्रियतामा रुद्रवेणीमा अहिले तरकारी संकलन केन्द्र खुलेको छ । त्यस्तै गौंडाकोट, वीरबास, हुँगा, सिमिचौर लगायतका स्थानमा उत्पादन भएको तरकारी बुटवलसम्म पुग्ने गरेको छ ।

हँुगाका युवा कृषक विष्णु भण्डारीका अनुसार अहिले हुँगाबाट पनि दैनिक १०/१५ क्विन्टल तरकारी बुटवल पुग्ने गरेको छ । भण्डारीले पनि गाउँमै तरकारी खेतीमा झण्डै एक दर्जनलाई रोजगारी दिएका छन् । दिनहुँ बस र ट्रकहरूमा बुटवलबाट तरकारी आउने गरेकोमा अहिले जिल्लाका विभिन्न गाविसबाट तरकारी बुटवल र पोखरा जान थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले बताए । 'ठूलोलुम्पेकमा उत्पादन भएको टमाटर र अन्य तरकारी मिर्मी हुँदै पोखरा पुग्न थालेको छ ।', घिमिरेले भने, 'ठूलोलुम्पेकमा विदेशबाट फर्किएका एक दर्जनभन्दा बढी युवाहरू तरकारी उत्पादनमा लागेका छन् ।' एकै गाविसमा ३५ भन्दा बढी युवाहरूले व्यवसायिक तरकारी उत्पादन गरिरहेको उनले बताए । 

युवाहरू व्यवसायिक तरकारी उत्पादनमा लागेपछि खेती गर्ने परम्मरागत प्रणालीमा समेत परिवर्तन आएको छ । युवाहरूले परम्परागत कृषि प्रणाली छाडेर आधुनिक प्रणालीबाट खेती गर्दै आएका छन् । 

प्रायः एक पटकमा एक खेती मात्र हुने यहाँका जग्गाहरूमा अहिले एकै पटकमा तीन खेतीसम्म गर्ने गरिएको हसराका कृष्णप्रसाद न्यौपानेले बताए । कृषकहरूले मकै बारीभित्र टमाटर, बन्दा गोभी, खुर्सानी लगायत उत्पादन गर्ने गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग