Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गबारोले चार लाख कफीका बोट सखाप

Published on 11:07:00 PM //

बिरेन्द्र के.सी
सेतो गबारोले जिल्लामा एक वर्षयता ४ लाख वटा कफीका बोट सखाप पारेको छ । यसले अन्न उत्पादन हुने खेतबारी मासेर व्यावासायिक कफी खेतीमा लागेका किसान मर्कामा परेका छन् ।

फल दिइरहेका ५ लाख बोटमध्ये एक वर्षमा गबारो लागी ४ लाख बोट सुकेको जिल्ला कफी व्यवसायी संघका उपाध्यक्ष विष्णुप्रसाद भुसालले बताए । उनका अनुसार जोगाउन पहल नगरिए बाँकी बोट समेत मर्न सक्ने उनले बताए ।

जिल्लाका २२ गाविसमा ४३ समूहका १ हजार १ सय ३५ कृषकले कफीबाट उत्पादन लिइरहेका थिए । यहाँको कफी विदेशमा माग बढिरहेको बेला अन्य व्यावसाय छाडेर यसमा लागेका किसान जीवन निर्वाह गर्ने आम्दानीको स्रोत सुकेपछि चिन्तामा छन् । गबारोले बोटको डाँक्लोको भित्री गुदी खाएर बिस्तारै सुक्दै बोट मर्ने गरेको पीडित कृषकले बताए ।

पछिल्लो पटक जिल्लामा १३ टन पार्चमेन्ट कफी निर्यात भएर ७० लाख रुपैयाँ भित्रिएको थियो । अब बोट सुकेपछि १ लाख रुपैयाँ समेत भित्रिन मुस्किल पर्ने संघले जनाएको छ । 'मैले बल्कोट गाउँको बारी मासेर लगाएका १ हजार बोटबाट ४ वर्षदेखि आम्दानी गर्दै आएको थिएँ,' उपाध्यक्ष भुसालले भने, 'सबै सुके, अब ५०/६० बोट मात्रै बाँकी छन् । ती समेत सुक्दै छन् ।' उनले वाषिर्क ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । यहाँ उत्पादित कफी अमेरिका, कोरिया र जापान निर्यात हुँदै आएको छ ।

ठूलापोखरा स्थित मालिका जैविक कफी कृषक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार संस्थामा आबद्ध १ सय ५० कृषकका २५ हजारमध्ये २० हजार बोट सुकेका छन् । 'चार वर्षसम्म लटरम्मै फलेका बोट अहिले मरे,' पाण्डेले भने, 'मेरा १ हजारमध्ये ८ सय बोट मरेका छन् ।' भारतको नोकरी छाडेर गाउँमै १ लाख रुपैयाँ ऋण काढेर कफी खेतीमा लागेका पाण्डे परिवार पाल्ने माध्यम समेत हराउने चिन्ताले पिरोलिएका छन् ।

ठूलापोखरा साना कृषि तथा सहकारी संस्था लिमिटेडका सचिव चन्द्रमणि पाण्डेले कफी खेती गर्न गाउँका केही कृषकले यस सस्थाबाट ५ लाख रुपैयाँ ऋण लगेका थिए । आम्दानी गर्न नपाउँदै बोटै मरेपछि कृषक समस्यामा परेका उनले बताए । ०६५ सालमा छिटफुट देखापरेको गबारो बिस्तारै बढेर अहिले प्रकोपको रूप लिएको संघको भनाइ छ ।

बाँकी रहेका कफीका बोट बचाउन सरकारी निकायले ध्यान नदिए जिल्लामा उत्पादन शून्य हुने अवस्था आउन सक्ने संघले जनाएको छ ।

कफी रोप्दा कृषकले छाहारी दिने बिरुवा नलगाएकाले गबारो लागेको जिल्ला कृषि अधिकृत यामनारायण देवकोटाले बताए । उनले कफीका बोट मर्दै गए पनि कृषक सहयोग माग्न नआएको बताए । उनले कफी खेती विस्तारका लागि जिल्लामा विशेष कार्यक्रम सञ्चालन नभएकाले कृषकलाई सहयोग गर्न नसकिएको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग