Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्पादन बढ्दै, मूल्य घट्दै

Published on 7:19:00 PM //

घनश्याम गौतम/बिरेन्द्र के.सी
अदुवा उत्पादनका लागि उर्वर मानिएका पश्चिमाञ्चलका तीन पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा उत्पादन प्रत्येक वर्ष बढ्दै गएको छ । अदुवा बिक्रीबाटै करोडौं रकम भित्रिरहेका बेला मूल्य घट्न थालेपछि किसान चिन्तामा छन् ।

अदुवा उत्पादनमा युवाको संलग्नता बढेका बेला मुख्यगरी भारतका विभिन्न स्थानमा निर्यात हुँदै आएको यो मसलाको मूल्य घट्दो छ । भारतले कृषिजन्य उपजमा अनुदान दिन थालेपछि त्यसको प्रभाव नेपालको अदुवा बजारमा परेको छ । भारतले अदुवा उत्पादन गर्ने किसानलाई मल र बीउमा अनुदान दिएपछि गत वर्षदेखि भारतमा अदुवा उत्पादन बढेको छ । यसले गर्दा मूल्यमा ५० प्रतिशतसम्म कमी आएपछि यहाँका किसान लगानी नउठ्ने डरले चिन्तित छन् ।

पाल्पामा गत वर्ष १ हजार २ सय ५० हेक्टर जमिनबाट उत्पादन भएको १२ हजार ३ सय ३६ टन अदुवाबाट २३ करोड ४९ लाख १२ हजार रुपैयाँ आम्दानी भएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख रेवतीरमण पौडेलका अनुसार यस वर्ष उत्पादन बढेर १२ हजार ४ सय ४६ मेटि्रक टन पुगेका बेला मूल्य घटेकाले किसान चिन्तित छन् ।

पाल्पाकै जस्तो समस्या गुल्मी र अर्घाखाँचीमा समेत देखिएको छ । गुल्मीमा गत वर्ष २ सय ३२ हेक्टर क्षेत्रफलमा १ हजार ६ सय २८ टन अदुवा उत्पादन भएको थियो । प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बेच्दा अदुवाले ४ करोड ८८ लाख आम्दानी गराएको थियो । यस वर्ष मूल्य घटेर गुल्मीमा प्रतिकिलो १५ देखि १८ रुपैयाँमा झरेको छ । पाल्पामा सरदर १६ रुपैयाँ मात्र छ । त्यस्तै अर्घाखाँचीमा प्रतिकिलो १२ रुपैयाँमा झरेको छ । गत वर्ष पाल्पामा अदुवाको मूल्य प्रतिकिलो सरदर ३२ रुपैयाँ र अर्घाखाँचीमा ३० रुपैयाँ थियो ।

कृषि कार्यालय गुल्मीका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार यस वर्ष ३ सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको छ । उत्पादन बढेर २ हजार २ सय ९३ टन पुगेको छ । मूल्य घटेकाले यस वर्ष गुल्मीमा उत्पादित अदुवाको आम्दानी ३ करोड ४४ लाख रुपैयाँभन्दा बढी नहुने कृषि कार्यालयले जनाएको छ । त्यस्तै गत वर्षभन्दा १ सय १० टन अदुवा उत्पादन गरेका पाल्पाका किसानहरूले गत वर्षभन्दा झन्डै १० करोड रुपैयाँ कम आम्दानी गर्ने पाल्पाका योजना अधिकृत वैकुण्ठ नेपालले बताए ।

कृषि विकास कार्यालय अर्घाखाँचीका अधिकृत यामनारायण देवकोटाका अनुसार गत वर्षको तुलनामा १ टन अदुवा उत्पादन बढे पनि मूल्यमा ५० प्रतिशतले कमी आएकाले आम्दानीमा घटेको छ । कार्यालयहरूका अनुसार पाल्पामा ४३, गुल्मीमा १८ र अर्घाखाँचीमा एक दर्जन गाविसमा अदुवा खेती हुने गरेको छ । गुल्मीमा २० समूहमा आबद्ध भएर ६ सय ५० र अर्घाखाँचीमा ३ सयभन्दा बढी किसानले अदुवा उत्पादन गर्दै आएका छन् ।

आम्दानी राम्रो देखेपछि पछिल्ला तीन वर्षमा गुल्मीका ठूलोलुम्पेक, थानपती, हुँगा, बलेटक्सार, दिगाम लगायत गाविसमा स्नातक उत्तीर्ण गरेका युवाहरू समेत व्यावसायिक रूपमा अदुवा खेतीमा लागेको वरिष्ठ कृषि अधिकृत नरहरिप्रसाद घिमिरेले बताए । त्यस्तै पाल्पामा पालुङ मैनादी, दर्लामडाँडा, चापपानी, सिलुवालगायत गाविसका युवा उत्साही छन् । अर्घाखाँचीको सिद्धारामा बढी अदुवा उत्पादन हुने गरेको छ ।

गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा पनि बढी मूल्यमा गिरावट आएपछि तीनै जिल्लाका ९० प्रतिशत किसानहरूले असोजमा बेच्ने अदुवा माघ पहिलो सातासम्म बारीबाट निकालेका छैनन् । 'अदुवा खेती गरेका किसानको अवस्था यस वर्ष डामाडोल छ,' अदुवा बिक्रेता समेत रहेका गुल्मीको थानपतिका चोलानाथ ज्ञवालीले भने, 'अदुवाको मूल्य प्रतिकिलो १५ रुपैयाँभन्दा बढ्ने सम्भावना छैन ।' त्यस्तै अर्घाखाँचीको सिद्धाराका युवा किसान बुद्धि पौडेलले पनि प्रतिकिलो १५/२० रुपैयाँमै बिक्री गर्दा लगानी नउठ्ने भएकले ५० क्विन्टल जति अदुवा बारीबाटै ननिकालेको बताए । 'प्रतिकिलो १०/१५ रुपैयाँमा बिक्री गरेर लगानी र मेहनत उठ्दैन,' उनले भने, '२ लाख रुपैयाँ घाटा हुन्छ होला ।'

अदुवा खेतीका लागि मुख्य गरी बढी घाम लाग्ने पारिलो जमिन, बलौटे दोमट माटो, प्रांगारिक पदार्थ बढी भएको खुकुलो माटो आवश्यक पर्छ । पहाडी जिल्लाहरूमा त्यस्तो खालको जमिन पर्याप्त भएकाले र युवाहरू उत्साही बनेकाले उत्पादन बढ्दै गएको छ । 'पहाडी जिल्लाका अधिकांश जमिन पारिला छन्,' कृषि प्राविधिक सहायक सनबहादुर रानाले भने, 'त्यसमा युवा उत्साही भएकाले हरेक वर्ष उत्पादन बढ्दै गएको छ ।' उत्पादन बढ्दै गएपछि गत वर्षको जिल्ला परिषद्ले गुल्मी जिल्लालाई अदुवामा आत्मनिर्भर घोषणा गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग