विन्टर होलिडेमा, स्की अनुभब
Published on
2:56:00 AM //
सुरुमा त हाईवे तिरै कतै रोक्छ कि जस्तो लागेको थियो तर सेइनायोकी शहर छिरिसकिएको रहेछ त्यहीँको एउटा ग्यास स्टेशनमा पुगेर रोकियो गाडी ।
पेटमा मुसा दैडिन थालिसकेको थियो । बिहान एक सुरुप चिया पिउने मौका पनि मिलेको थिएन कोठामा, भोकै दौडियो ।
आर्को गाडी पनि आएर रोकियो । दुइवटा गाडीमा ८ जना थियौँ । ग्याँस स्टेशन नै भएपनी भित्र बडेमानका रेस्टुरण्ट र पसलहरु रहेछन । त्यहीँ खाना खाने कुरा भयो । यसो रेस्टुरण्ट छिरेको त लन्च टाईम सुरु हुन अझै आधा घण्टा बाँकी रैछ । पेट कोक्क्याईराछ, फसाद पर्यो । अल्छि बानीले त्यतिबेला पनि दु:ख पाईएकै हो । बिहान आधा घण्टा पहिला उठेर चिया र नास्ता गरेर हिँडेको भए त आनन्द भईहाल्थ्यो होला नि जस्तो लाग्यो । अरुको मुख हेरेँ सबैको हालत उस्तै रैछ ।
के गर्ने त आधा घण्टा सम्म ? रेष्टुरेन्टमा धुमधुमती के बस्नु, बाहिर त झन बसी साध्य भए पो । माईनसमा थियो तापक्रम । जता ततै हिउँ नै हिउँ । बरु त्यही सेइनायोकी शहर घुम्ने कुरा भयो । हुन त म पहिला पनि एक पटक घुमिसकेको थिएँ त्यो ठाउँ तर अन्य केही साथीहरुको भने पहिलो पटक थियो । एक फन्को मारियो सेन्टर वरीपरी । रमाईलै भयो ।
बफेट लन्चको ९ युरो ९० सेण्ट, सुप खाए ६ युरो ६० सेण्ट मात्र रे । त्यसमा सलाद र चिया कफी आँउदो रैछ । कुरो ठिकै लाग्यो । भोकले आँखा नदेख्ने बेला भईसकेको थियो । बजाइयो मज्जाले । बिफ खानेले बिफ र नखानेले माछाको तरकारी र सुप खाइयो । मिठो रहेछ खाना, प्रशँसा गरे सबैले । नेपाली परियो, भातै नपाए पनी अघाउन्जेल खाइयो ।
त्यहाँबाट हामी स्की गर्न जान लागेको ठाउँ झण्डै १ घण्टा जतिको दुरिमा रहेछ । ठाउँको नाम काउहायोकी । गाडी गूड्यो । भाते निद्राले छोप्न खोज्दै थियो । यसो पछाडि हेरेको त पछाडिको सिटमा दुइजना भुस भईसकेका रहेछन । त्यतिबेला बल्ल गाडी चलाऊनेको छेउमा नबसेको भए हुन्थ्यो जस्तो लगेको थियो ।
के गर्ने के गर्ने जस्तो लाग्यो । पुरै निजी भ्रमण भएपनी गाडी चलाऊने मान्छेसँग चिनजान थिएन । होस पनि कसरी । मेरो साथीको साथीको पनि साथी । कुरो बुझ्नुभो नि ? कुरा गर्ने टपिक नै छैन । परिचय पछीको अली अली कुरा त अघी नै सकिसकेको थियो खाना खानु भन्दा पहिलेकै बाटोमा । उ फिन्निश मान्छे, नेपाल र नेपालीको बारेमा ईन्ट्रेस्ट देखायो । कुरा गरियो एकैछिन ।
खुबै बोल्न आउँदो रैछ उसलाई, नत्र फिन्निशहरुको हत्तपत्त त्यस्तो बोलिराख्ने बानी हुँदैन । उ त ईंग्लिश ल्यांगवेज टिचर पो रैछ । नेपाली, ईंग्लिश र फिन्निश भाषाको कुरा गर्दै पुगियो स्की खेल्ने ठाउँमा ।
नेपालमा थुप्रै हिमालहरु भएको हुनाले जताततै खुबै हिउँ हुन्छ होला भन्ने सोच्दा रैछन फिन्निशहरुले । अझ नेपालीहरु त स्कीमा खुबै च्याम्पिएन हुन्छन भन्ठान्दा रैछन । तर के थाहा उनिहरुलाई फिन्ल्यान्ड आउने लगभग सबै जस्तो नेपालीहरुले यहीँ आएर नै पहिलो पटक आँखै अगाडि हिउँ देख्छन भन्ने कुरा । स्कीको बारे जान्ने र खेल्ने कुरा त कता हो कता ।
समुहका हामी सबै ६ जना नेपालीहरुले यहीँ आएर नै हो हिउँ देखेको र पहिलो पटक थियो हामीले स्की गर्न लागेको पनि । बाँकी रहेका दुई जना फिन्निशहरुको त के कुरा गरिसाध्य भयो र । बच्चामै हिँड्न सिकेदेखी नै स्की गर्न सिकेको रे । हाम्रो त पहिलो पटक केही थाहा थिएन, के लगाउने कसरी गर्ने, कहाँबाट सुरु गर्ने भन्ने बारेमा । प्रशिक्षक हायर गर्न मिल्ने रैछ । १ घण्टाको ५० युरो रे । कोचले राम्रै सँग सिकायो, केही टेक्निक र यससम्बन्धी धेरै कुरा थाहा पाइयो एक घण्टामै । धेरै पटक लडियो, घाउचोट लागेन कसैलाई तर पनि आँफै उठ्ने हुन भने थुप्रै टाइम लाग्यो ।
अली अली सिकियो । पछी पो देखियो त्यहाँ त ४-५ बर्ष उमेरका केटाकेटी नै हामी भन्दा कयौँ गुणा राम्रो स्की गर्दा रैछन । तर पनि लाजै भने लागेन ।
माईनस ३-४ डिग्रिको चिसो तापक्रममा ४-५ घण्टा हिउँमा चिप्लिदै लड्दै गर्दा थाकेको शरीर सेभेन हेभन क्याफेमा पुगी झन्डै ८० डिग्रिको तातो साउनामा निर्वस्त्र बस्दा कम्ती आनन्द आएन । झण्डै आधा घण्टाको साउना बसाई पछी तातेर आयो शरीर । फ्रेस पनि भईयो । त्यसपछी एकजना फिन्निशको आफ्नतको घरमा गएर नेपाली खाना बनाउने अनी उनिहरुको परिवारसँगै बसेर खाना खाने कुरा भयो । यो योजना अली पहिलेकै रैछ । त्यसैले होला लक्ष्मीले घरबाट झोलामा जिरा, धनीया, गरम मसला लगायत नेपाली मरमसला हाल्न भ्याएकी रैछन ।
ठ्याक्कै नेपालको काँठ तिरको कुनै गाउँ जस्तै लाग्ने ठाउँमा पुगियो । मुलबाटोबाट अली भित्रको एक्लो घर । तबेलामा २ वटा घोडा अनी सानो कट्कुरा जस्तो देखिने घरमा २ वटा सिकारी कुकुरहरु । घरमा ५ जनाको परिवार ।
अदुवा हालेको नेपाली चिया बनाएको खुबै अचम्म मान्दै हेरिन त्यो घरकी मालिक्निले । नेपाल ईन्डिया कतै नपुगेकी उनलाई चपाती भने खुबै मन पर्ने रैछ । सँगै काम गर्ने पाकिस्तानी साथीले बनाएर चखाएकी रे , अनी त बनाउन सिकेर खाने बानी नै पर्यो रे । कहिल्यै नखाएको चिया खाँदै उनिहरुले जेठो छोरा आर्मी जाने, छोरीको पढाई, कान्छाको मन पर्ने कुरा, बुढीको काम र बुढाको बिदाको योजना आदीको बिषयमा पनि कुरा गर्न भ्याए ।
उता भान्सामा आलुको अचार, भात र कुखुराको मासु बन्दै थियो । खाना तयार हुन्जेल साथीहरुले नेपालबाट ल्याएको सिडिहरु देखाउन भ्याएछन । भिडियो मै देखेर जनकपुरको सँस्क्रिती, पोखरा, काठमाडौं, बन्दिपुर खुबै मन पर्यो रे उनिहरुलाई । पहिलाई देखी बिचार रैछ उनिहरुको नेपाल जाने । त्यो भिडियो हेरेपछी त इच्छा झनै तिब्र भएर आएछ । शायद सेप्टेम्बर अक्टोबर तिर जान्छु होला नेपाल, बुढाले सुनाउन भ्याईहाले ।
सेभेन हेभन क्याफेमै थियो रातको बसाई । एउटी मात्र केटी साथी थिईन समुहमा । राती उनी अली छिट्टै सुतिन । हामी भने राती अबेर सम्म पुल खेलेर बसियो ।
भोलिपल्ट बिहानै उठेर फेरी स्की सेण्टर खुल्ना साथ पुगियो त्यहीँ । सबै जनामा आत्मबिश्वास बढेको थियो अघिल्लो दिनको तुलनामा । सबै जना मज्जाले खेलियो । अघिल्लो दिनको तुलनामा खासै लडिएन । बिच बिचमा ब्रेक लिँदै आगोमा पोलेको ससेज खाँदै स्की गरियो धित मरुन्जेल । फोटो खिच्न कसैले बिर्सेंनन । कतिजनाले त त्यही स्की सेण्टरबाटै फेसबुकमा तुरुन्तै अप्डेट गर्न पनि भ्याइसकेका थिए ।
फर्किने मन त कसैको पनि थिएन तर के गर्ने । भोलिपल्ट सबैको काम र स्कुल थियो । अदभुद अनुभुती सँगालेका मनहरु बोकेर घरतर्फ हुँईकिए गाडीहरु ।
0 प्रतिकृयाहरु