Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१३ लाख पर्ने नेपाली घडी, डायलमा सगरमाथाको ढुंगा

Published on 1:44:00 PM //


योगेश खतिवडा
 भनिन्थ्यो, नेपालमा सियोसमेत बन्दैन । तर अब घडी बनेको छ, त्यो पनि १३ लाख पर्ने । र, घडीको डायलमा प्रयोग गरिएको छ- सर्वोच्च शिखर सगरमाथाको ढुंगा ।

सगरमाथा पर्यटन र आरोहणको सबैभन्दा ठूलो आकर्षण हो । यसको ढुंगा घडी बनाउन पनि प्रयोग हुन सक्छ भनेर सायदै सोचिएको थियो होला । तर यस्तै भयो । सगरमाथा चुचुरोको ढुंगा प्रयोग भएको घडी सोमबार सार्वजनिक भएको छ । यतिमात्रै होइन, उक्त घडी नेपालमै बन्यो अर्थात् मेड इन नेपाल । कुरो यत्तिकैमा कहाँ सकिन्छ र ! यो घडी सगरमाथा आरोहीहरू आपmनै हातले बनाउँछन् । हो, सातपल्ट सगरमाथा चढेका आङ नाम्ग्याल र ९ पल्ट चढेका लाक्पा थुन्डु शेर्पा राजधानीको बबरमहलमा घडी बनाउन व्यस्त छन् ।

'सगरमाथा चढ्दा ल्याएको ढुंगाबाट घडी बनाएका छौं,' नाम्ग्यालले भने, 'यसको डायलमा सगरमाथाको टुप्पाबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ ।' २५ लाख रुपैयाँको लगानीमा घडी बनाउने कारखाना खोलेका यी पर्वतारोहीलाई विश्व प्रसिद्ध घडी निर्माता 'कोबोल्ड' ले सघाएको हो । र, त उनीहरूले बनाएको घडीको नाम रह्यो- कोबोल्ड हिमालय, मेड इन नेपाल ।

नेपालमा बनेको कोबोल्ड घडीबारे जानकारी दिँदै कम्पनीका
प्रमुख एम्बेसेडर सर रानल्फ फाइनेस ।
कोबोल्डका मालिक माइकल कोबोल्ट सगरमाथा चढ्न आउँदा यी दुईले गाइडका रूपमा सघाएका थिए । घडीमा सगरमाथाको ढुंगा राख्ने जुक्ति भने सर रानल्फ फाइनेसले दिएका हुन् । सगरमाथा चढ्ने सबैभन्दा पाका यी बेलायती नागरिकसित सतहबाट पृथ्वी परिक्रमा गरेको रेकर्ड पनि छ । यिनै सर रान कोबोल्ड हिमालयका ब्रान्ड एम्बेसिडर इन चिफ हुन्, जसले सोरुम उद्घाटनका क्रममा नेपाल आएर आफ्नो अनुभव सुनाए ।

रानल्फको जुक्ति, कोबोल्डको कम्पनी मिलेर यी दुई शेर्पालाई जिउने आधारमात्रै होइन, नेपाल चिनाउने अभूतपूर्व अवसरसमेत दिए । उनीहरूले एउटा ढुंगाबाट २२ वटा घडी बनाएको नाम्ग्यालले बताए । यसको मूल्य नेपालीका लागि सगरमाथाको उचाइसरह नै ८ हजार ८ सय ५० अमेरिकी डलर (झन्डै ७ लाख ८० हजार रुपैयाँ ) तोकिएको कोबोल्डले बताए । 'नेपालीका लागि केही समयका लागि ८ हजार ८ सय ५० डलर हो,' उनले भने, 'तर विदेशी नागरिकका लागि १६ हजार पाँच सय डलर (झन्डै १३ लाख रुपैयाँ) हो ।' कम्पनीले नेपालमै बन्ने कोबोल्ट हिमालय ब्रान्डका साधारण घडीको मूल्य ३ हजार ५ सय डलर -२ लाख ८० हजार रुपैयाँ) तोकेको छ ।

यी घडीका अन्य पार्टपुर्जा कोबोल्डले नै पठाउँछ । 'त्यसलाई एसेम्बल गरेर घडी बनाउँछौं,' नाम्ग्यालले भने । सगरमाथा चढ्ने पौरखी हातहरूलाई घडी बनाउन कोबोल्ट कम्पनीले अमेरिकास्थित कम्पनीमा लगी एक वर्ष प्रशिक्षण दिएको थियो । उनीहरूले वर्षमा ३ हजार घडी बनाउने योजना बनाएका छन् । तीमध्ये नेपाली ग्राहकलाई ५ सय र विदेशी पर्यटकलाई २ हजार ५ सय घडी बेच्ने उनीहरूको लक्ष्य छ । 'सगरमाथा चढ्ने 'हाम्रा शेर्पा' अहिले घडी एसेम्बल गरिरहेका छन्,' कोबोल्टले भने, 'प्रत्येक घडीमा 'मेड इन नेपाल' लेखी उत्पादन सुरु गरेपछि हामी अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा प्रचार गर्छांै ।' नाम्ग्याल र थुन्डुले घडी उत्पादन मात्र नगरी घडी बनाउन अन्य व्यक्तिहरूलाई प्रशिक्षण पनि दिनेछन् ।
ईकान्तिपुर डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग