Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिट चोरेको भन्दै निश्कासन गरिएपछि छात्राले प्राण त्यागिन्

Published on 7:49:00 PM //


कमल थापा, रुकुम, चैत १२- चिट चोरेको भन्दै एसएलसी परीक्षामा निश्कासनमा परेकी एक छात्राले 'भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको' चिट्ठी लेख्दै प्राण त्यागेकी छिन्। परीक्षामा चिट चोरेको भेट्टाएपछि जिल्ला सदरमुकाम खलंगाबाट अनुगमनको लागि गएको टोलीले नेपाल राष्ट्रिय माद्यमिक विद्यालय चुनवांगकी छात्रा अदना पुनलाई शुक्रबार निष्काशित गरेको थियो।
परीक्षा हलबाट निष्काशनमा परे लगत्तै उनी रुँदै अर्धबेहोस अवस्थामा गहुँबारीमा ढलेको अवस्थामा उनका साथीहरुले फेला परेका थिए। निश्काशनमा परेपछि उनले आफ्नो भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको भन्दै चिनेजतिका साथीहरुलाई राम्रोसँग परीक्षा गरेर घर फर्कनुहोला भनेर पत्रसमेत लेखेकी अदनाकी साथी दिपशिखा ओलीले बताइन्।
'उसले लेखेको पत्रले हामीलाई झन पीडा दिएको छ,' दिपशिखाले भनिन्, 'सँगसँगै आएकी साथीलाई छोडेर घर फर्कदा उनका आमावावुको मन हामीलाई देखेर कति रोला?' एउटै कोठमा बस्ने साथीको मृत्युले आफूहरुले परीक्षा दिँदासमेत तनाव भोग्नुपरेको दिपशिखाको भनाई छ।

'मेरो भविष्य बिग्रियो, मेरो शरीर अब माटोमा मिल्दैछ', भन्ने अदनाले साथीहरु र घर परिवारलाई लेखेको पत्रमा उल्लेख छ। पत्रसँगै उनले निराशाजनक केही कवितासमेत लेखेर छोडेकी थिइन्। अर्ध बेहोस अवस्थामा भेटिएकी छात्रा अदनालाई शिक्षक र सहकर्मी विद्यार्थीहरुले शुक्रबार नै जिल्ला अस्पताल पुर्‍याएका थिए। अस्पतालको इमर्जेन्सी कक्षमा राखेर ३ वटा सुई लगाएर अक्सिजन दिएपछि होस खुल्दा उनले भविष्य विग्रिएको भन्दै रोइरहेकी थिइन्। आधा घण्टा पछि पुनः होस गुमेपछि मृत्यु भएको डा.कल्याण वाग्लेले जानकारी दिए।

उनी सानैदेखि मुटुको रोगी भएको बाबु पुरबहादुरले बताए। गत वर्ष उपचारको लागि भारतको लखनउ लगिएको भए पनि आर्थिक अवस्थाले गर्दा उपचार रोकिएको उनले बताए।

'उपचारको लागि गत वर्ष लखनउ लगेको थियौँ, तर आर्थिक अभाव भएकाले फर्काएका थियौं,' बाबु पुरबहादुरले भने, 'मुटुको रोगी भएकोले परिवारले पनि उनलाई धेरै माया गरेको थियौं, उतिबेलै डाक्टर धेरै बचाउन सकिन्न भनेका थिए, उस्तै भयो।' उनले भने, 'परीक्षा दिएर उत्साहसाथ छोरी घर फर्केलिन् भनेको शव पो आयो।' आफ्नो घरमा शोक माथि शोक थपिएको उनले बताए। पुन दम्पतीका ३ छोरी र १ छोरा छन्। माइली छोरी अदनाको मृत्यु भयो। त्यस्तै एउटै छोरा कालीबहादुरको समेत द्वन्द्वकालमा हत्या भइसकेको छ।

एकातिर एक मात्र छोराका हत्या र अर्कोतिर छोरीको मृत्युले आमा मनसराको आँखाको आँसु सुकेका छैनन्।

अदना गाउँकै साथीहरुसँग ट्युसन पढ्ने र उतै परीक्षा केन्द्र भएकोले परीक्षा दिनको लागि गत फागुन ३ गते घरबाट साँख गाविसको झूलखेत बजार आएकी थिइन्। ट्युसन र होटेलमा लाग्ने खाना बस्ने खर्च ५ हजार रुपैयाँ थमाएर पुन दम्पतीले घरबाट विदाइ गरेका थिए। निधारमा चामलको टिका र झोलामा मकैभटमासको खाजा राखिदिएर गरेको छोरीको विदाई नै अन्तिम भयो।

नागरिकन्युज डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग