Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अलपत्र भवन निर्माणमा पहल गरिने

Published on 1:46:00 AM //


नारायण प्रभात मरासिनी
रकम अभावका कारण अलपत्र परेको गुल्मी गौंडाकोटको तरकारी तथा फलफूल संकलन केन्द्रको भवन सम्पन्न गर्न जिल्ला विकास समिति एवं जिल्ला स्तरीय दलका नेताहरुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । गौंडाकोट गा.वि.स. को राजामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी जिल्ला स्तरीय जवाफदेही निकायका पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् । गतवर्ष २०६७ सालमा जिल्ला विकास समितिद्वारा सञ्चालित एल.जि.सि.डि.पि. कार्यक्रमबाट परेको ११ लाख, जनश्रमदान २ लाख ७३ हजार गौंडाकोट गा.वि.स. बाट ५० हजार र तरकारी तथा फलफूल उत्पादन उपभोक्ता समितिसहित झण्डै १५ लाख लागतमा शुरु गरिएको उक्त भवन रकम अभावका कारण सम्पन्न हुन सकिरहेको छैन ।
२ तला ढलान गरिसकिएको उक्त भवनको पहिलो तलाको गारो ढलान गर्न बाँकी रहनुका साथै अन्य काम समेत रकम अभावका कारण अलपत्र रहेको छ । स्थानीय निकायबाट सञ्चालित विकास आयोजना र सेवा सुविधाका साथै गौंडाकोट गा.वि.स. मा निर्मित तरकारी तथा फलफूल संकलन केन्द्रको भवन अनुगमन गर्ने जिम्मा पाएको एकिकृत ग्रामीण विकास समाज गुल्मीले आज जिल्ला स्तरीय जवाफदेही निकायका पदाधिकारीहरु एवं पत्रकारहरुको टोली लगि व्यापक जनसमुदायका बीच नागरिक सनुवाई कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा स्थानीयबासीले जिल्ला विकास समितिबाट हुने ढिलासुस्ती लगायतका विषयमा गुनासो गरेका थिए । भवन निर्माणमा रकम अभाव भैरहेको बेला जिल्ला विकास समितिले धरौटी वापत राखिएको अन्तिम किस्ता भुक्तानी नदिएको गुनासो स्थानीयबासीले गरेका छन् ।

१ लाख २० हजार रुपैयाँ भुक्तानी नदिएको गुनासो गरेपछि निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनीले उक्त भवन निर्माणमा ३३ हजार रुपैयाँ बेरुजी देखिएकोले भुक्तानी रोकिएको जानकारी गराएका थिए । उक्त रकम सहित स्थानीय स्तरमा देखिएका समस्याको १५ दिन भित्र समाधान खोजिने अधिकारी मरासिनी सहित जिल्ला स्तरीय राजनितिक दलका नेताहरुले प्रतिबद्धता जनाएका छन् । दुग्ध उत्पादनमा समेत उत्साहका साथ लागेका गौंडाकोट बासीले उक्त संकलन केन्द्रमा दुग्ध एनलाइजर मेसिन समेत उपलब्ध गराइदिन आग्रह गरेका छन् । आयोजक संस्था एकिकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीले उक्त भवन निर्माण लगायत स्थानीय तहमा गरिएका विकास आयोजनामा कुनै अनियमिता वा अन्य लापरवाही भए खुलेर आफ्ना कुरा राख्न आग्रह गरेका थिए भने जिल्ला विकास समितिले नागरिकहरुलाई दिनुपर्ने सेवा छिटो छरितो हुनुपर्नेमा उपाध्यक्ष हिरा एसीले ध्यानाकृष्ट गराएका थिए ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य बुद्धि जि.सी., नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु बलाल, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा लगायतका नेताहरुले गौंडाकोट जस्तो पिउने पानी समेत नभएको सुख्खा डाँडामा प्लाष्टिक पोखरी निर्माण गरेर गौंडाकोट बासीले गरेको तरकारी र फलफूल उत्पादन उदाहरणीय भएको भन्दै प्रशंसा गरेको थिए । गौंडाकोटको राजामा स्थानीयबासीले प्रति व्यक्ति १ हजार रुपैयाँ उठाएर आफै श्रम गरी ६ लाख लिटर पानी संकलन हुने प्लष्टिक पोखरी निर्माण गरेर व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिंदै आएका छन् । त्यस्तै व्यवसायिक सुन्तला खेती र दुग्ध उत्पादन पनि गर्दै आइरहेका छन् । नियमित सिंचाई हुने बडिघाट खोला, निस्ते, छल्दी किनारमा खेत हुने कृषकहरुका खेतहरु बाँझै भैरहेका बेला पानी नै नभएको सुख्खा डाँडो गौंडाकोटमा प्रत्येकका बारीमा लहलह तरकारी उत्पादन गरी आम्दानी लिंदै आउनु एउटा नमुना कार्य भएको अनुगमनकर्ताहरुले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष प्रेम सुनार, गौडाकोट गा.वि.स. सचिव विष्णुप्रसाद पन्थी, एकिकृत नेकपा माओवादीका गौंडाकोट अध्यक्ष ठकप्रसाद ज्ञवाली, नेपाली काँग्रेसका अध्यक्ष वीरबहादुर थापा, नेकपा एमालेका अध्यक्ष टहलसिंह थापा लगायतको आतिथ्यता थियो । तरकारी तथा फलफूल उपभोक्ता समिति गौंडाकोटका अध्यक्ष लक्ष्मी कुमार भुसालको अध्यक्षता रहेको कार्यक्रममा आयोजक संस्था एकिकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीको स्वागत मन्तव्य र हिरा एसीको सहजीकरण एवं कार्यक्रम संयोजक रामप्रसाद खनालको सञ्चालनमा रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग