Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अष्ट्रेलियाको बजारमा नेपाली उत्पादन

Published on 8:23:00 AM //

ऋषि आचार्य, सिडनी, वैशाख २१/प्रत्येक महिना नेपाली सामानले भरिएको कन्टेनर सिड्नीमा ओर्लिन्छ । दाल, चामल, तेल, मसला, गुन्द्रुकदेखि चाउचाउ, हातले बुनेको नेपाली गलैँचा, धातु तथा काष्ठकलाका सामान र नेपाली बियरले यस्ता कन्टेनर भरिएका हुन्छन् । नेपाली उत्पादनलाई अस्ट्रेलियामा भित्र्याउन सिड्नीमा मात्रै आधा दर्जन जति कम्पनी खुलेका छन् । यी कम्पनीले नेपाली खाद्यान्नका अतिरिक्त नेपाली हस्तकलाका सामान, तयारी पोशाक र जडिबुटिहरु अस्ट्रेलिया ल्याइरहेका छन् ।

पाँच वर्षअघि नेपाली उत्पादनको अनलाइन बिक्री सुरु गरेका श्याम केसीको फोर कर्नर बजारले अहिले अस्ट्रेलियाभरि नेपाली सामान वितरण गर्छ । अनलाइनमा थेग्नै नसक्ने गरी नेपाली उत्पादनको माग बढेपछि उनले अन्य राज्यहरुमा पनि डिलर खोलेका छन् । अहिले झण्डै ६० वटाभन्दा बढी नेपाली सामान फोर कर्नर बजारमार्फत् केसीले बिक्री गर्ने गरेका छन् । जिम्बु, टिम्मुर, तील, सिलाम, चाकुदेखि रत्नपार्कको तितौरा समेत अस्ट्रेलियामा सहजै पाइने केसीको भनाइ छ । नेपालको गुल्मी चिदिपानी स्थायी घर भएका केसीको अहिले नेपाली उत्पादनको अस्ट्रेलियामा प्रवर्द्धन तथा बिक्री वितरण नै मुख्य पेशा भएको छ ।

सिड्नीमा केही वर्ष अघिदेखि विजयश्री ग्रोसरी सञ्चालन गर्दैआएका पुरु श्रेष्ठले नेपालबाट सामान ल्याएर बिक्री गर्न सुरु गरेका हुन् । श्रेष्ठको नेपालको असनमा बाबुबाजेको पुख्र्यौली किराना पसल छ । सिड्नीको किराना पसललाई पनि श्रेष्ठले नेपालको जस्तै गेडागुडी, दाल, चामल, नुन, तेल, मसला र दालमोठ तथा चाउचाउजस्ता उत्पादनले भरेका छन् । साथै उनले मुला, मेथीको अचार स्थानीय तहमै उत्पादन गरेर बेच्छन् । अस्ट्रेलियन राँगाको मासुको नेपाली स्वादमा तयार पारेको सुकुटी निकै लोकपि्रय छ । पसलका अतिरिक्त अनलाइन र होम डेलीभरी पनि हुनेगरेको श्रेष्ठ बताउँछन् ।

यस्तै, चौरासी व्यञ्जन अर्थात् ८४ कुजिनले पनि अहिले नेपाली अर्गेनिक उत्पादनलाई अस्ट्रेलियामा प्रवर्द्धन गरिरहेको छ । अर्गेनिक प्रविधिमा उत्पादन भएका गेडागुडी, मसलाहरु र चिउरा तथा गुन्द्रुक र मस्यौरा अस्ट्रेलियामा निर्यात हुने केही उत्पादनहरु हुन् । खाद्यान्नबाहेक नेपालमा उत्पादन  भएका साबुन दन्तमञ्जन, तेल, घिऊ, सञ्चो, पूजाका सामग्री, श्रृङ्गारका सामग्रीहरुसमेत यहाँको बजारमा उपलब्ध छ ।

छ महिनाअघि मेलबर्नमा स्थापना भएको हिमालयन एक्सपोर्ट इम्पोर्टले नेपालबाट विभिन्न ब्राण्डका बियरलाई अस्ट्रेलियामा आयात गरिरहेको छ । नेपाल आइस र मुस्ताङ ब्राण्डका बियर अहिले यहाँको बजारमा उपलब्ध छन् । आयातकर्ता चन्द्र योञ्जनका अनुसार, माग अत्याधिक भए पनि त्यसको एक चौथाई मात्र पनि पूरा गर्न सकिएको छैन । मेलबर्न तथा सिड्नीका बोटलसप र नेपाली रेष्टुरेन्टमा यस्ता बियरहरुको माग बढी हुनेगरेको छ । साथै निजी तथा व्यवसायिक पार्टीहरुमा पनि नेपाली बियरको माग बढ्दो छ । मदिरामाथि लगाइएको अतिरिक्त भन्सारका कारण स्थानीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेको छैन । तर पनि नेपाली बियरको स्वादलाई नेपाली तथा अन्य समुदायले मनपराएको योञ्जनको भनाइ छ ।

लोकप्रिय नेपाली चाउचाउ
चाउचाउ उत्पादनमा नेपाल दक्षिण एसियामा नै अगाडि छ । दर्जनौँ ब्राण्डका चाउचाउ नेपालमा उत्पादन हुन्छन् । नेपालमा उत्पादन हुने वाइवाइ, मायोज अनि रारा ब्राण्डका चाउचाउ अस्ट्रेलियामा सहजै पाउनुका साथै नेपालमा झैँ लोकपि्रय पनि छन् । अल्छि लागेको समयमा खाजा र खानाको विकल्प यहाँ पनि यिनै नुडल्स नै हुने गर्छन् । नेपालमा १५ रुपैयाँमा पाउने चाउचाउलाई यहाँ प्रतिपोका ६० सेन्टसम्म पर्ने गर्छ । यहाँ पनि अहिले पढ्न जाँदा वा काममा जाँदा वा घुम्न जाँदा प्रायःको झोलामा चाउचाउ हुने गर्छ ।  फोर कर्नर बजारका श्याम केसीका अनुसार, एक कन्टेनरमा १२ सय कार्टुन चाउचाउ अट्छ । यस्तो कन्टेनर प्रत्येक २ महिनामा एउटा सिड्नीमा झर्ने गरेको छ । नेपालीबाहेक भारतीय, पाकिस्तानी र बंगाली समुदायमा पनि चाउचाउ छिटो अनि मिठो खाजाको रुपमा लोकपि्रय छ ।
हस्तकलाको माग ठूलो
सन् २००० मा सिड्नीमा ओलम्पिक खेल हुँदा मण्डला टे्रडर्सका सुरेन्द्र मानन्धरले हजारौं डलरको क्रेजी ह्याट बेचेका थिए । फुटबल र क्रिकेटजस्ता धेरै दर्शक हुने खेलमा समर्थकले खेलाडीलाई प्रोत्साहन गर्न नेपालमा बनेको यस्तो टोपी लागएर रंगशालामा उपस्थित हुने चलन थियो । तर पछि चिनियाँ कमसल टोपीको प्रवेशपछि क्रेजी ह्याटको बजार नै समाप्त भयो । अहिले मानन्धरले तयारी पोशाक र पस्मिनाका अतिरिक्त काठ तथा धातुका मूर्तिहरु र चाँदीका गहनाहरु अस्ट्रेलियामा बिक्री वितरण गरिरहेका छन् ।
 नेपालबाट अस्ट्रेलिया आयात गरिएका सामानहरु प्याकिङ तथा प्याकेजिङ गर्न सिड्नीको म्यारिकभिलमा वायर हाउस र अक्सफोर्ड स्टि्रटमा पसल समेत मानन्धरले खोलेका छन् । अस्ट्रेलियाबाट मण्डला ट्रेडर्सले न्युजिल्याड र सिंगापुरमा समेत नेपाली उत्पादन वितरण गर्ने गरेको छ । यसका लागि मानन्धरले नेपालमा टेक्सटाइल तथा गार्मेन्ट उद्योग समेत खोलेका थिए । तर माओवादी द्वन्द्वका समयमा अन्य उद्योगझैँ गार्मेन्ट पनि बन्द भएको थियो । अब फेरि लगानीलाई एकीकृत गरेर नेपाली उत्पादनलाई अस्ट्रेलियामा प्रवर्द्धन गर्ने योजनामा छन,' मानन्धर ।

सिड्नी, मेलबर्न र बि्रसबेनजस्ता शहरहरुमा शनिबार र आइतबार लाग्ने हाट बजारमा बिजु शाक्य नेपाली हस्तकला समानहरुको स्टल राख्छन् । आवश्यकता अनुसार, नेपाली गार्मेन्ट, चाँदीका गहना, पस्मिना र हातले बुनेको गलैँचा ग्राहकको रुचिमा पर्ने गरेको शाक्यको भनाइ छ । यस्तै काठले बनेको मुकुण्डो, झ्याल, ढोका, फोटोप|mेम तथा गणेशका मूर्तिहरु ग्राहकको रोजाइमा धेरै पर्ने गर्छन् । नेपालको ठमेलमा जन्मिएका शाक्यले अस्ट्रेलिया आएपछि नै यो व्यवसायलाई निरन्तरता दिँदै आएका हुन् । विदेशीबाहेक नेपालबाट उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु तथा नवप्रवेशी नेपालीहरु पनि यी हस्तकलाका सामानको ग्राहक हुन् । अन्य समुदायबाट समेत सोधपुछ आउने गरेकोले भविष्यमा नेपाली उत्पादनको बजार अझै बन्न सक्नेमा शाक्य ढुक्क छन् ।

अस्ट्रेलियाले नेपाली कृषि उत्पादन आयात गर्न भन्सार छुट दिएको छ । तर नेपाली उत्पादन अन्तर्राष्ट्रिय मान्यता अनुसार प्याकिङ तथा लेबलिङ नहुँदा क्वारेन्टाइनबाट अनावश्यक झमेला आयातकर्ताहरुले बेहोर्नु परेको छ । फोर कर्नर बजारका श्याम केसीको अनुभवमा मुख्य गरी नेपाली मसलाहरु तथा जडिबुटीलाई क्वारेन्टाइन पास गर्न निकै लामो प्रयोगशाला परीक्षण पास हुनु पर्छ । नेपालको गुन्द्रुकलाई गाँजा भनेर आशंका गर्ने, लसुन अदुवाको धुलोलाई लागू औषधी भनेर प्रयोगशाला पठाउने गरेको केसी बताउँछन् ।

बढ्दै छ निकासी
नेपाली गलैंचा, पस्मिना, मूर्ति, चाँदीका भाँडाकुँडा लगायतका हस्तकलाका सामान विश्वव्यापि रुपमा लोकपि्रय छन् । नेपालबाट विश्वका ८० भन्दा बढी देशमा वाषिर्क रु. ७ अर्बभन्दा बढीको ४२ प्रकारका हस्तकलाका सामान निर्यात हुन्छन् । रु. ३ अर्ब ५० करोडको आन्तरिक बजार रहेको नेपाली चाउचाउ अन्तराष्ट्रिय ब्राण्ड बनिसकेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ भारत हुँदै युरोप र अस्ट्रेलियासम्म पुगेको छ । रु. ६ अर्बको आन्तरिक बजार रहेको जुसको उत्पादक डाबर नेपालले करिब रु. २ अर्बको निर्यात गरिरहेको छ । औषधीमा पनि स्वदेशी उत्पादनको हिस्सा ४२ प्रतिशत छ । नेपालबाट अर्द्ध-प्रशोधित कच्चा पदार्थ र तयारी वस्तुको रुपमा १६२ प्रकारका जडीबुटी विभिन्न देशमा निकासी भइरहेका छन् । यसमा राम्रोसँग ब्राण्डिङ हुन भने बाँकी नै छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी अर्धवाषिर्क तथ्याङ्कमा रु. ३५ अर्ब ९१ करोड ६६ लाखको कुल वस्तु निर्यात भएको छ भने गत आव २०६७/६८ मा रु. ६४ अर्ब ५६ करोड ४ लाखको कुल वस्तु निर्यात भएको थियो । तर, निर्यातभन्दा आयात बढी मात्रामा हुने भएकाले नेपालको कुल व्यापार घाटा २०६६/६७ को तुलनामा ५.८ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ३० अर्ब ३४ करोड ८ लाख पुगेको थियो । नेपालले विश्वबजारमा खपत हुने जडीबुटी, मिनरल वाटर, हस्तकला, गार्मेण्टजस्ता मौलिक ब्राण्डहरु उत्पादन गर्ने र उचित प्रवर्द्धनमा ध्यान दिने हो भने यो व्यापार घाटा कम हुने अर्थविद् बताउँछन् ।

विश्व सामु सगरमाथा र बुद्धको देश भनेर परिचित नेपाललाई अब यहाँको उत्पादनले पनि चिनाउन थालेका छन् । आशा गरौं आगामी दिनमा नेपालले सेवा र उत्पादनका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरेर विश्व बजारमा मौलिक ब्राण्ड स्थापित गर्न सकोस् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग