तम्घास–रेसुङ्गा नियमित जिप सञ्चालन हुने
Published on
9:09:00 PM //
विष्णु पौडेल
गुल्मी जिल्लाकै गौरवको रुपमा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा तम्घासबाट आउँदो आइतवार देखि दैनिक जिप सेवा संचालन हुने भएको छ । विहिवार जिल्ला विकास समितिको आयोजनामा जिविसमा भएको सर्वपक्षिय बैठकबाट गुल्मी यातायात व्यवसायी संघको सहयोगमा दैनिक जिप सेवा संचालन हुने भएको हो ।

त्यस्तै बैठकले रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलाई रेसुंगामा निर्माण भएका भौतिक संरचनाहरुको सुरक्षा र भ्रमणका लागि जाने पर्यटकहरुको सेवाका लागि एक जना व्यक्ति नियुक्त गर्नेगरी व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । बैठकले दैनिक जिप सेवा संचालनका लागि प्रचारप्रसार गर्ने गरी जिल्लाका चारवटै रेडियोहरुलाई निशुल्क प्रचार प्रसार गर्न आग्रह गर्ने, सबै होटलहरुमा जिप छुट्ने स्थान, समय उल्लेख हुनेगरी बोर्ड राख्न आग्रह गर्ने र रेसुंगा क्षेत्रमा कटेज प्रकृतिका घरहरु निर्माणको कार्यलाई आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।
स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार, जिल्ला इन्जिनियर लालु गिरी, जिविसका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, एकिकृत नेकपा माओवादीका सह–इन्चार्ज निमकान्त डाँगी, नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, जनमोर्चाका अध्यक्ष जिवन राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति भरतबहादुर चन्द, नेकपा मालेकी निर्मला पोखरेल, गुल्मी यातायात व्यवसायी संघका सचिव हिमाल कुँवर, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डे, रेसुंगा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेल, सचिव कुञ्जरमणी गौतम, होटल व्यवसायी मञ्चका अध्यक्ष युवराज भण्डारी, रेसुंगा सामुदायीक प्रहरी सेवा समाजका अध्यक्ष हरीकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।