Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालबालिकाको अश्लील सामाग्री तयार पार्ने १९० पक्राउ

Published on 9:37:00 AM //


न्युयोर्क, जेष्ठ २८ - अमेरिकी सुरक्षा अधिकारीले उत्तरी अमेरिका, युरोप र एसियामा कारबाही गरेर बालबालिकाको अश्लील सामग्री तयार गर्ने (चाइल्ड पोर्नोग्राफी) गिरोहका १ सय ९० जनालाई पक्राउ गरेको छ । यो गिरोहबाट १८ पीडितलाई मुक्त गराइएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । अमेरिकाले अन्य मुलुकको सुरक्षा निकायको सहयोगले निरन्तर यस्तो कारबाही गर्दै आएको छ ।

'अपरेसन ओरियन' को नामले एक महिनासम्म चलेको अनुसन्धानमा अश्लील सामग्री तयार पार्ने, वितरण गर्ने र उपलब्ध गराउने सबै समूहलाई लक्ष्य गरिएको थियो । यो कारबाहीमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको अश्लील सामग्री निर्माणमा संलग्न अपराधीहरूको समूह उदांगिएका छन् ।

अमेरिका बाहेक स्पेन, अर्जेन्टिना, बेलायत र फिलिपिन्समा पनि कारबाही गरिएको छ । अधिकांश घटनामा अनलाइन च्याटिङ मार्फत बालबालिका यस्ता गिरोहको जालझेलमा फसेको अनुसन्धानमा देखिएको छ । 'इन्टरनेटको प्रयोग बालबालिकाको शोषणका लागि गर्न सक्ने सोच राख्नेका लागि यो ठूलो चेतावनी हो,' अध्यागमन एवं सीमाशुल्क विभागका प्रमुख जान मार्टेनले भने, 'हामीले उनीहरूमाथि निरन्तर निगरानी राखिरहेका छौं, उनीहरूलाई खोजेर निकाल्छौं र कारबाही गर्छौं ।'

पक्राउ परेका व्यक्तिमा लुजियानामा बालबालिकाको हेरचाहका लागि राखिएको एक ३५ वषर्ीय व्यक्ति पनि छन् । उनीमाथि ७ वर्षको बालकको पोर्नोग्राफी तयार गरिरहेको आशंका गरिएको छ । कम्प्युटर र अन्य मिडिया उपकरणमा संग्रहित बालबालिकाको १ हजार २ सय तस्बिर र १ सय ९ भिडियो सहित मिसिगनमा एक २८ वर्षे पुरुष पक्राउ परेका छन् ।

लास एन्जेल्समा ८ जनालाई पक्राउ गरिएको छ । यीमध्ये एक जनाको सामाजिक सञ्जाल फेसबुकमा १२ वर्षे बालिकासँग भेटघाट भएको थियो । उनीविरुद्ध ती बालिकालाई अश्लील गतिविधिका लागि प्रेरित गरेको आरोप छ । सुरक्षा अधिकारीको समूहले फेसबुकमा बालिका भएर ती पुरुषसँग कुरा गर्दा अपराध प्रमाणित भएको थियो । अमेरिका बाहिर भएको पक्राउको विस्तृत विवरण आइसकेको छैन ।

यो कारबाहीमा स्विडेन, सर्भिया र नेदरल्यान्डस् पनि सहभागी भएको अमेरिका न्याय मन्त्रालयले जनाएको छ । अमेरिकाले सन् २०११ को ४ अगस्टमा विश्वभरि फैलिएको बालबालिकाको यौनसामग्री बनाउने यस्तै एक नेटवर्कलाई उदांगो पारेर ७२ जना विरुद्ध आरोप तय गरेको थियो । उसले अपरेसन 'डेलेगो' को नामबाट २० महिनासम्म अभियान चलाएको थियो ।
एजेन्सिको सहयोगमा

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग