Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकता हुन्छ भने अध्यक्ष छाड्छुः प्रचण्ड

Published on 8:26:00 PM //


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन्छ भने आफू अध्यक्ष छाड्न समेत तयार रहेको बताउनु भएको छ ।

पार्टी कार्यालय पेसिरसडाँडामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष मोहन बैद्य किरणसँग भएको भेटमा एकताका लागि आफू बाधक भए अध्यक्ष पद छाड्न समेत तयार रहेको प्रस्ताव गरेको सुनाउनु भयो । प्रचण्डको भनाई उदृत गर्दै पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइखबरसँग भन्नुभयो-’पार्टी एकताका लागि म नै बाधक हो भने छलफल गरौं, म विना नै एकता हुन्छ भने पद छाड्न तयार छु ।’ नयाँ पार्टी गठनको तयारीमा जुटेको बैद्य पक्षले वर्तमान नेतृत्व असफल भएको भन्दै पार्टी एकताका लागि अध्यक्षको राजीनामालाई सर्त बनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पहिचानसहितको संघीयताका विरोधीहरुले नै संविधानसभा विघटन गराएको बताउनु भयो । ‘संघीयता विरोधीहरुले पहिले नै संघीयतासहितको संविधान बन्न नदिने र संविधानसभा विघटन गर्ने षड्यन्त्र गरेका रहेछन्’ प्रचण्डले भन्नुभयो-’यसलाई हामीले बुझ्न सकेनौं ।’

संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले पार्टी एकताका लागि बैद्य पक्षलाई आहृवान गरेको छ भने असार १५ देखि १७ गतेसम्म विस्तारित बैठक बोलाएको छ । विस्तारित बैठक अघि बैद्य पक्षसँग सहमतिको प्रयास गर्ने र एउटै भेलाका लागि पहल गर्ने पोलिटव्युरो सदस्य गजुरेलले जानकारी दिनुभयो ।

संस्थापन पक्षले असार १ गते देशभर सभा गर्ने निर्णय गरेको छ भने मंसिर ७ गते संविधानसभा निर्वाचनको अर्को चुनाव गर्ने प्रधानमन्त्रीको घोषणाको स्वागत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग