Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा मस्जिदको खानाले छाक टार्दै ६७ नेपाली

Published on 7:56:00 PM //


होम कार्की
दोहा (कतार), श्रावण ३२ - पर्साका राघव अन्सारी रोजा फुक्ने समयअघि नै मजिस्द पुगिसकेका हुन्छन् । मुस्लिम समुदायको पवित्र महिना चलिरहेकाले यहाँ हरेक दिन ६ बजेतिर रोजा फुक्छ । रोजा फुक्नासाथ मजिस्दमा धनी व्यक्तिहरूले खाना खुवाउने गर्छन् । त्यही खाना खान अन्सारी साथीभाई लिएर मजिस्द पुग्छन् । त्यहाँ भोक मेट्न पाएपछि भोलिको चिन्ता गर्दै क्याम्पमा र्फकन्छन् ।

आफू बेखर्ची भएपछि भोक मेट्न मस्जिद जान थालेको उनले बताए । 'यस्तो नियति भोग्नुपरेको एक महिना भयो,' अन्सारी भन्छन्, 'सकेजति यहाँ खान्छु । नसकेको पोको बनाएर क्याम्पमा लिएर जान्छु ।' उनीसहित ६७ नेपाली कामदार पैसा नभएपछि मस्जिदको खानाका भरमा छन् ।

'तलब नपाएको चार महिना भयो । हिसाबकिताब गर्दा त चार हजार रियाल पाउनुपर्ने देखिन्छ,' अन्सारीले भने ।

अलपत्र अवस्थामा रहेका ६७ नेपाली कामदार दोहाबाट झन्डै ३५ किलोमिटर टाढा होमसलाल अली उसेल मार्केट नजिक छन् । 'क्याम्पमा पकाएर खान सकिएको छैन । नजिकैको पसलबाट उधारोमा सामान ल्याउने गरेका थियौं । पैसा तिर्न बाँकी रहेकाले त्यो पनि बन्द भयो,' अर्घाखाँचीका दीपककुमार बीसीले भने, 'बेलुका मस्जिदमा खान्छौं । बिहान भोकै बस्छौं ।'

उनीहरू 'बज्र कतार' कम्पनीबाट सप्लाईमा काम गर्थे । भवन निर्माणमा काम गर्ने ती कामदारले तलब र खाना, पैसा पनि नदिएपछि अगस्ट ३ बाट काम छाडेका छन् । उनीहरू अधिकांश दलालमार्फत व्यक्तिगत श्रमस्वीकृतिमा कतार आइपुगेका हुन् । पीडितहरूले ६ सयदेखि ९ सय रियालसम्म तलब पाउने गर्थे ।

मुदिरले काम गर्न दुई बस केटाहरू लिएर धम्की दिए पनि नेपालीहरू अब काम नगरी स्वदेश फिर्ता हुने अडानमा छन् । पीडितहरूले आबुहमरस्थित नेपाली दूतावासमा गएर तलब दिलाएर स्वदेश पठाइदिन अनुरोध गरेका छन् । दूतावासका उपनियोग प्रमुख ऋषिराम घिमिरेसमक्ष कम्पनीका मुदिरले डेढ महिनाभित्र सबैलाई स्वदेश पठाइसक्ने प्रतिबद्धता जनाएका छन् ।

मुदिरले दुई महिनाको समय मागेको भए पनि दूतावासले डेढ महिनाको मात्रै समय दिएको हो । 'हामी अझै त्यति लामो समयसम्म पर्खन सक्ने अवस्थामा छैनौं,' पीडित लालबहादुर राउतले भने, 'अब रमजान पनि सकिन लागेकाले कसरी छाक टार्न सकिन्छ ?'
कान्तिपुरबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग