Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार जना गुमाएको परिवारले राहत पाएन

Published on 3:54:00 PM //

घनश्याम गौतम
गुल्मी, श्रावण २४ - पहिरोले घर बगाउँदा परिवारका ४ सदस्य गुमाएका ठूलोलुम्पेक २, ढुंगाचाल्नेका घनश्याम विकको परिवारले सोमबारसम्म राहत पाउन सकेको छैन । राहत उपलब्ध नहुँदा पीडित परिवार समस्यामा परेको छ ।

यो पनि पढौँ । 

सदरमुकामबाट १४ कोस पूर्व रहेको घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरी टोलीबाहेक अन्य कुनै पनि निकायबाट राहतका लागि सोमबारसम्म कोही पुगेको छैन । बर्षाका कारण अधिकांश सडक पहिरो र खोलाका कारण बन्द भएकाले पीडितले राहत पाउन नसकेका हुन् । विपन्न परिवारका घनश्याम छिमेकीको घरमा किरिया बसेका छन् । खेती गरेर ३ महिना खान नपुग्ने जग्गा भएका विक परिवारका मृतक चार जनाको गाउँलेले चन्दा संकलन गरेर दाहसंस्कार गरेको र किरिया खर्चका लागि समेत स्थानीयले नै सहयोग गरेको स्थानीय नेत्र रानाले बताए ।

शुक्रबार बिहान १२ मिटर माथिबाट आएको पहिरोले विकको दुईतले कच्ची घर बगाएको थियो । पहिरोले घनश्यामकी ३९ बर्षिया श्रीमती भवी, १३ बर्षिय छोरा उमेश, ११ र ६ बर्षिया छोरी मुना र विपनालाई बगाउँदा घटनास्थलमै मृत्यु भएको थियो । घरसँगै बगेका ४२ वर्षीय घनश्याम र १० वषर्ीय छोरा केशरलाई गाउँलेले तत्काल जीवितै उद्धार गरेका थिए ।

ठूलोलुम्पेकमा बर्षाका कारण चार दिनदेखि विद्युत् सेवासमेत अवरुद्ध छ । यसले सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले मृतकको मुचुल्कामात्र आइपुगेको तर सम्पत्ति क्षतिपूर्तिको विवरण सोमबारसम्म पनि नआइपुगेकाले राहतमा ढिलाइ भएको बताए । 'गाविसमार्फत १ लाख ८० हजार उपलब्ध गराउने तयारी भइरहेको छ,' नेपालले भने, 'प्रतिमृतक ४० हजारका दरले १ लाख ६० हजार र घर क्षतिको प्रतिघर २० हजार राहत दिँदै छौं ।'

गाविस सचिव टेकराज श्रेष्ठले शनिबारदेखि नै मृतक परिवारको क्षतिपूर्तिका लागि कागजात मिलाउने काममा लागे पनि सञ्चार विच्छेद र सडकमा यातायात चल्न नसकेकाले ढिलाइ भएको बताए । 'बुधबारसम्ममा राहत लिएर गाउँ जाँदैछु,' श्रेष्ठले भने, 'पहिरोले घर सबै लगेको र गाविसमा समेत राख्ने स्थान नभएकाले तत्कालका लागि छिमेकीको घरमा किरियामा राखिएको छ ।' केही दिनमै अन्यत्र व्यवस्था गरिने उनले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग