Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोलिदेखि उपत्यकामा रात्रीबस

Published on 4:04:00 PM //


रातको समयमा सार्वजनिक सवारी साधन नपाएर हैरानी बेहोरिरहनुभएको छ ? छ भने अब धन्दा नमान्नुस् । भोलि (शुक्रबार) देखि तपाईंले राति ११ बजेसम्म सहजै सार्वजनिक सवारी साधन चढ्न पाउनुहुनेछ । साँझ ८ बजेदेखि नै सार्वजनिक सवारी साधन पाउन कठिन काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाको सक्रियतामा शुक्रबारदेखि रात्रीकालीन बस सेवा सञ्चालन हुन लागेको हो । महानगरपालिकाले नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म रात्रीबस सञ्चालन गर्ने भएको हो । ‘राति अबेरसम्म काम गरेर घर फर्कनेहरुको समस्यालाई मध्यनजर गरेर हामीले रात्रीबस सञ्चालन गर्न लागेका हौं,’ काठमाडौं महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभाग प्रमुख साधुराम भट्टराईले भने, ‘रात्रीबस सञ्चालनपछि नगरवासीले राहत पाउने अपेक्षा गरेका छौं ।’
यस्तो छ भोली देखी चल्ने रात्री बसको रुट ।
ग्राफिक्स: न्युज अफ नेपाल  

नगरवासीलाई यातायात सेवा दिन महानगरपालिकाले रत्नपार्कलाई केन्द्रबिन्दु बनाएर तत्काल २६ सिटका १४ ओटा रात्रीबस सञ्चालन गर्ने भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ बाग्मती अञ्चल संयोजक धर्म रिजालका अनुसार रत्नपार्क–कलंकी, रत्नपार्क–कोटेश्वर, रत्नपार्क–लगनखेल–सातदोबाटो, रत्नपार्क–महाराजगन्ज–गंगालाल अस्पताल र रत्नपार्क–चाबहिल–जोरपाटी रुटमा दुई–दुई ओटा रात्रीबस सञ्चालन गरिने भएको छ । यसैगरी, कोटेश्वरदेखि दायाँ–बायाँ र कलंकीदेखि दायाँ–बायाँमा दुई–दुई ओटा गरी चारओटा बसले चक्रपथ परिक्रमा गर्ने भएका छन् । रात्रीकालीन बस सेवा भए पनि भाडा भने दिउँसैकै सरह हुनेछ ।

‘कात्तिकसम्मका लागि दिउँसोकै भाडा लाग्ने व्यवस्था मिलाएका छौं, ‘त्यसपछि भने दुवैपक्षबीचको छलफलबाट भाडा बढाउन सकिने व्यवस्था मिलाइएको छ,’ भट्टराईले भने । महानगरपालिकाले पहिलो ६ महिनासम्मको बस सञ्चालन खर्चबापत बस व्यवसायी सञ्चालकलाई ४५ लाख रुपैयाँ दिने भएको छ । रातको समय भएकाले यात्रुको चाप कम हुने भएकाले व्यवसायीलाई सो रकम उपलब्ध गराइएको भट्टराईले बताए ।

‘त्यसपछि यातायात व्यवसायी आफैंले व्यवस्था मिलाउनुपर्नेछ,’ गत १७ असारको सम्झौताबारे भट्टराईले भने । बस सञ्चालकहरूले भने आफूहरू घाटामा जान सक्ने भन्दै सरकारले रात्रीकालीन व्यवसायको समय बढाउनुपर्ने, सुरक्षाको प्रत्याभूति गर्नुपर्ने र सडक बत्तीको भरपर्दाे व्यवस्था मिलाउनुपर्नेलगायत विषय उठाएका छन् । रात्रीकालीन सबै बसमा हतियारधारी दुईजना प्रहरी जवानसमेत राखिनेछ । रातका बेला हुन सक्ने लुटपाटलाई मध्यनजर राख्दै प्रहरी राखिने व्यवस्था गरिएको हो ।

बसको रुटको सुरक्षा संवेदनशीलताका आधारमा सादा पोसाकमा थप सुरक्षाकर्मी पनि खटाइनेछ । बसबाट उत्रेपछि भने यात्रु आफंैले आफ्नो सुरक्षा व्यवस्था मिलाउनुपर्नेछ । ‘बसबाट उत्रेपछिको सुरक्षा कसरी गर्ने भन्ने विषयमा हामीबीच पनि बहस चलिरहेको छ,’ भट्टराईले भने, ‘तर हामीले प्रत्येक व्यक्तिलाई घर–घर पुग्दासम्मको सुरक्षाको जिम्मा लिन सक्ने अवस्था छैन ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग