Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी प्रमुखमा कुवेरसिंह राना मगर नियुक्त

Published on 8:02:00 PM //


२८ भदौ, काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना मगर नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।
रानालाई महानिरिक्षक बनाउन प्रधानमन्त्री भट्टराईले निकै कसरत गर्नुपर्‍यो । गच्छदारले आफुले भनेको नभए गठवन्धन टुटाउने चेतावनी दिएपनि प्रधानमन्त्रीले ‘कि रानाको प्रस्ताव लिएर आउनु कि आफ्नै राजीनामा लिएर आउनु’ भनेपछि गच्छदार रानालाई प्रस्ताव गर्न बाध्य भएको स्रोतको दावी छ । गच्छदारलाई मनाउन मन्त्रिपरिषद् वैठकअघि एमाओवादी अध्यक्ष प्रचण्ड पनि सिंहदरवार पुग्नुभएको थियो । प्रचण्ड- बाबुराम र गच्छदारबीचको छलफलपछि रानालाई आईजीपी बनाउने सहमति भएको बताइएको छ ।

को हुन राना ?
प्रहरी संगठनमा इमान्दार, सोझो र ब्यबसायिक छवि बनाएका रानालाई प्रधानमन्त्री भट्टराईले साथ दिएपछि महानिरिक्षक बन्न सफल हुनुभएको हो । प्रहरीमा रहँदा अधिकांश समय प्रशासनिक क्षेत्रमा काम गरेका राना आर्थिक अभियोगमा नमुछिएका अफिसरमा पर्नुहुन्छ । एक बरिष्ठ प्रहरी अधिकारीका अनुसार आफु पनि नखाने र अरुलाई खानबाट रोक्न पनि नसक्ने रानाको बिशेषता हो ।
माथिल्लो निकायको आदेश मान्ने र सहज ढंगले काम गर्ने उहाँको बिशेषता हो । तर, संगठनभित्र ‘नाक अनुसारको ब्यबहार’ गरेको आरोप पनि रानामाथि लाग्ने गरेको छ । पछिल्लो समयमा मानवअधिकार उल्लंघनको आरोप लागेपनि भर्खरै सर्वोच्चले सो अभियोगमा सफाई दिएको छ ।
मानविकी संकायमा स्नातक गरेका रानाले प्रहरी अधिकृत विशेष तालिम, अपराध अनुसन्धान, प्रशिक्षक प्रशिक्षण, भीभीआईपी सुरक्षा कमाण्ड तालिम लगायतका तालिमको अनुभव छ । उहाँले अमेरिका, वेलायत, भारत लगायतका १८ मुलुकबाट अनुभाव वटुलेका राना सार्क सेवा, प्रसिद्ध सेवा, गोर्खा दक्षिणबाहु, युएन पदक लगायतका ११ बटा प्रतिष्ठित पदकबाट विभुषित हुनु भएको छ । विकट जिल्लाहरुमा उत्कृष्ट कार्य गरेकोमा रानाले दुर्गम सेवा पदक समेत पाउनु भएको छ ।
स्वच्छ छवि बनाएका रानाले गृहमन्त्री बिजयकुमार गच्छदारको आदेशअनुसार काम गर्छन कि अडान लिएर ब्यबसायिकता जोगाउने रविन्द्रप्रताप शाहको पद पछ्याउँछन त्यसले उनको कार्यकालको सफलता निर्धारण हुने छ । केही समयभित्रै डीआईजीहरुको बढुवा र सरुवामै रानाको काम गर्ने शैली देखिने छ ।
वर्तमान प्रहरी प्रमुख रविन्द्रप्रताप शाहले भोलिबाट अबकास पाउँदै हुनुहुन्छ । शाहको बिहीबार नै विदाई गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग