Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सीता एयरको विमान दुर्घटना, ७ नेपाली, ७ बेलायती र ५ चिनियाँको मृत्यु

Published on 11:10:00 AM //

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
दुर्घटना भएको विमान चरासँग ठोक्किएको पुष्टि (दुर्घटनाको भिडियो सहित)

सुशील भट्टराई
काठमाडौं, असोज १२- लुक्ला जाँदै गरेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बिहान ६:१७ बजे लुक्लाका लागि उडेको विमान एक मिनेटमै दुर्घटना भएको  विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए।   मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गरे पनि विमानभित्र लागेको आगोका कारण सबै १६ यात्रु र चालक दलका तीन सदस्यको मृत्यु भएको छ। जलेर शव क्षत विक्षत भएकाले चिन्न सकिने अवस्थामा छैनन्।
मनोहरा खोला नजिकै सीता एयरको विमानमा लागेको आगो। तस्बिरः विनिता दाहाल
विमान क्याप्टेन विजय तण्डुकारले चलाएका थिए। त्यसमा ताकेस थापा सह चालक र एयर होस्टेज रोजा शाक्य रहेकी थिइन्। विमानमा १२ जना विदेशी र चालक दलका तीन र ४ नेपाली यात्रुसहित ७ जना नेपाली रहेका थिए। मृत्यु हुनेमा ७ बेलायती छन् भने ५ चिनियाँ नागरिक परेका छन्। मृत्यु हुने विदेशीहरुको नाम अझै खुल्न सकेको छैन। यसअघि विमानमा इटालियन नागरिक परेको भनिए पनि कोही पनि इटालियन नपरेको सीता एयरले पुष्टि गरेको छ।

मृत्यु हुने अन्य नेपालीहरुमा एलएन शेर्पा, श्रीमती एनके तामाङ, डी. राई र कुमार मर्स्याङ्दी मगर रहेको सीता एयरले जनाएको छ। नेपाली सेनामा कार्यरत मगर टिकट नलिइ सोझै विमानमा चढेका थिए। डी. राईले सात जना बेलायतीलाई लिएर हिँडेकोले उनी पथप्रदर्शक हुनसक्छन्। विमानमा लोडसिट भार बाहेक १ सय २० केजी वजन रहेको स्रोतले बताएको छ।

विमानस्थल नजिकै रनवेबाट पाँच सय मिटर मात्र टाढाको दूरीमा दुर्घटना भएकोले केही समयमै दमकल, सेना र प्रहरी घटनास्थलमा खटिएका थिए। तर पनि विमानमा लागेको आगो निभाउन सेना र प्रहरीलाइ ४० मिनेट लागेको थियो। विमानको पुच्छर बाहेक सबै भाग जलेर नष्ट भएको अवस्थामा छ।

चार वर्षको अनुभव थियो क्याप्टेनसँग
क्याप्टेन तण्डुकारले विमान उडाउन थालेको चार वर्ष भएको थियो। क्याप्टेनका रुपमा उनले विमान उडाउन थालेको भने तीन वर्ष मात्रै भएको थियो। यसअघि उनी को-पाइलटका रुपमा विमान उडाउँथे।  क्याप्टेन तण्डुकार चाबहिल निवासी, सहचालक थापा धापाखेल निवासी र एयरहोस्टेज शाक्य बनेपा निवासी भएको सीता एयरका कपिल शर्माले बताए।

सीता एयरको एसटीए-६०१ ९एन-एचए कल साइन रहेको विमान डोर्नियर २२८ हो। नेपाली आकाशमा यसअघि भएको विमान दुर्घटना पनि यही सिरिजको विमान थियो। अग्नि एयरको यस्तै विमान जेठ १ गते जोमसोम विमानस्थल नजिकै दुर्घटना हुँदा ६ जना बाँच्न सफल भएका थिए।  डोर्निएर विमान नेपालमा दुर्घटना भएको यो छैटौँ पटक हो।

गत वर्ष पनि असोज ८ गते  त्रिभुवन विमानस्थलबाट ७.२ किलोमिटर हवाई दुरीमा रहेको ललितपुरको लामाटार र विशंखुनारायण गाविस सीमामा बुद्ध एयरको बीचक्राफ्ट विमान दुर्घटना हुँदा चालक दलका तीनसहित १९ जनाको मृत्यु भएको थियो।

सीताको दोस्रो दुर्घटना
एउटा डोर्नियर विमानबाट नौ वर्षअघि सेवा सुरु गरेको सीता एयरको इतिहासमा यो दोस्रो विमान दुर्घटना हो। उडान सुरु गरेको पहिलो वर्ष मै सीताको विमान लुक्लामा दुर्घटना भएको थियो। अवतरण गर्दा 'नोज गियर कोल्याप्स' भएपछि भएको यो दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्य सकुशल थिए। आठ वर्षअघि असोज १५ गते भएको सो दुर्घटनाका कारण धावनमार्ग अवरुद्ध भएपछि लुक्ला विमानस्थल दुई दिनसम्म बन्द गर्नुपरेको थियो। सीतासँग दुई वटा डोर्नियर विमान रहेकोमा आजको दुर्घटनामा एउटा विमान नष्ट भएपछि अब एउटा डोर्नियर बाँकी छ।
नागरिक न्युज डट कमबाट      

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग