Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँ बर्षको वामेली साँझमा सत्य, स्वरुप र श्रीकृष्णले जापान तताउने

Published on 9:01:00 PM //


टोकियो
गुल्मी जिल्लाको वामी क्षेत्रबाट जापान आई बिभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीमा संलग्न नेपालीहरुको सँस्था वामी सेवा समिति जापानको आयोजनामा आउँदो नयाँ बर्ष २०१३ मा नेपालका चर्चित कलाकारहरुको बिशेष साँगीतिक आकर्षणयुक्त कार्यक्रम "वामेली शुभकामना साँझ" हुने भएको छ ।
सो क्षेत्रको शिक्षा, स्वास्थ्य र यातायातलगायतका विविध क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको उक्त सँस्थाले यसपटक भने रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माणमा सहयोग गर्ने उद्देश्यले नयाँ बर्षमा नेपालकै उत्कृष्ट कलाकारहरुको प्रस्तुती रहने साँगीतिक कार्यक्रम गर्न लागेको अध्यक्ष सुरेश केसीले बताउनुभएको छ ।
उक्त कार्यक्रमका लागि नेपालबाट चर्चाका शिखरमा रहेका लोकप्रिय कलाकारहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य र श्रीकृष्णबम मल्ल जापान आउने भएका छन् ।
आमन्त्रित अतिथि कलाकारहरुको साथमा जापानका स्थापित संगीतकर्मीहरु रामकृष्णबम मल्ल, युवराज आचार्य, अमर गुरुङ, ऋषि पौडेललगायतका कलाकारहरुले सहयोग गर्ने भएका छन् ।
नेपाली साँगीतिक क्षेत्रका सशक्त हस्ती मानिने गायकद्वय सत्य र स्वरुप भजनशिरोमणि भक्तराज आचार्यका छोराहरु हुन । कर्णप्रिय स्वरमा मर्मस्पर्शी गीतहरु गाएर आफ्नो अलग्गै साँगीतिक छबि बनाएका गायकद्वयले आफ्नो लोकप्रियतालाई पनि संगैसंगै उच्च बनाउँदै लगेका छन । उनीहरुका दर्जनौ गीतहरु हिट भएर बजार तताएका छन् भने देशबिदेशमा पनि उनीहरुका गीत चर्चाको शिखर चुम्न सफल छन, त्यसैले त उनीहरुलाई साँगीतिक कार्यक्रमहरुका लागि देशबिदेशबाट आउने निमन्त्रणामा जान भ्याई-नभ्याई छ । पिताको जीवनकथामा आधारित आचार्य चलचित्रमा आफ्नै पिताको भूमिकामा अभिनय गरेर सत्यराजले त नायकको परिचयसमेत बनाईसकेका छन् ।

यसैगरी अर्का लोक तथा आधुनिक गायक एवं संगीतकार श्रीकृष्णबम मल्ल अहिले चल्तीका एक डिमाण्डेड कलाकार हुन् । देशभित्रका सानाठूला महोत्सवदेखि बिदेशमा हुने कार्यक्रमहरुमा पनि उनी रोजाईमा पर्ने भएकोले ब्यस्त कलाकार मानिन्छन् । लोक तथा दोहोरी र आधुनिक गायक मात्र नभएर उनी एक सिद्धहस्त एवं स्थापित संगीतकार पनि हुन् । यसरी खारिएका र सर्बाधिक मन पराईएका कलाकारत्रयलाई जापान आमन्त्रित गरेर वामी सेवा समितिले यो पालीको जापानको नयाँ बर्ष स्मरणीय बनाउने दावी मात्र गरेको छैन उक्त दाबीलाई पुरा गरेर देखाउन अहिलेदेखि नै तैयारीलाई तिब्र पार्दै लगिएको बताएको छ ।
नयाँ बर्ष २०१३ को शुभकामनासहित आफ्नो पाँचौ स्थापना दिवसको उपलक्षमा जनवरी १ का दिन इकेगामी खाइकानमा हुने "वामेली शुभकामना साँझ"मा साँगीतिक प्रस्तुतीहरुका साथै सँस्थाको अधिवेशनसमेत सम्पन्न गरिने भएको छ भने सोही अवसरमा सँस्थाको मुखपत्रको पनि विमोचन गरिने कार्यक्रम रहेको सो संस्थाका वरिष्ठ सल्लाहकार रोशन केसीले बताउनुभयो ।
समुन्द्रपारी डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग